News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले न्युजिल्यान्डसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रियमा ७ विकेटले जित निकालेको छ।
- इशान किशनले ३२ बलमा ७६ रन र सूर्यकुमार यादवले ३७ बलमा अविजित ८२ रन बनाए।
- भारतले १५.२ ओभरमा २०९ रनको लक्ष्य पूरा गर्दै टी–२० अन्तर्राष्ट्रियमा संयुक्त रूपमा सबैभन्दा सफल रन चेज दर्ता गर्यो।
१० माघ, काठमाडौं । इशान किशन र सूर्यकुमार यादवले विस्फोटक ब्याटिङ गरेपछि भारतले न्युजिल्यान्डसँगको टी-२०आई शृंखलामा लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार रायपुरमा सम्पन्न दोस्रो टी–२० अन्तर्राष्ट्रियमा भारतले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै शृंखलामा २–० को बलियो अग्रता बनाएको हो।
भारतले २०९ रनको लक्ष्य मात्र १५.२ ओभरमा पूरा गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्ना लागि संयुक्त रूपमा सबैभन्दा सफल रन चेज पनि दर्ता गर्यो।
सुरुवात खराब रहेपनि भारतका लागि किशन र सूर्यकुमारले शानदार साझेदारी बनाए । ६ रनमै २ विकेट गुमाएको अवस्थाबाट सूर्यकुमारले ३७ बलमा अविजित ८२ रन बनाए भने किशनले ३२ बलमा ७६ रन बनाए ।
किशन आउट भएपछि पनि सूर्यकुमारले रनरेट घट्न दिएनन्। शिवम दुबेले १८ बलमा अविजित ३६ रन बनाएर जितलाई सहज बनाए।
न्युजिल्यान्डका लागि म्याट हेनरी, जेकब डफी र इश सोधीले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो। न्युजिल्यान्डको सुरुवात आक्रामक रह्यो, शीर्षक्रमका अधिकांश ब्याटरले आक्रामक ब्याटिङ गरेपनि पनि ठूला इनिङ्स भने खेल्न सकेनन्।
कप्तान मिचेल सान्टनरले अविजित ४७ रन र रचिन रविन्द्रले ४४ रन बनाए। टिम सेफर्टले २४, डेभोन कनवेले १९ तथा जकारी फोल्क्सले अविजित १५ रन बनाए । अन्तिम ओभरहरूमा सान्टनर र फोल्क्सको क्यामियोले न्युजिल्याण्डलाई २०० पार गरायो।
भारतका लागि कुलदीप यादवले २ विकेट लिए भने हार्दिक पान्ड्या, हर्षित राना, शिवम दुबे र वरण चक्रवर्तीले १-१ विकेट लिए ।
जितसँगै भारतले ५ खेलको शृंखलामा २-० को अग्रता बनाएको छ ।
प्रतिक्रिया 4