News Summary
Generated by OK AI. Editorially reviewed.- लेखकले शंकर लामिछानेलाई लेखिएको चिठीमार्फत नेपाली साहित्य र जीवनका गहिरा अनुभूतिहरू व्यक्त गरेका छन्।
तगारोभित्र कसैले फुत्त एउटा खामबन्दी चिठी फाल्यो । आकाशमा हेरें एउटा सेतो परेवा भुर्रर उड्दै गरेको देखें ।
म चाहिँ सिल्भिया प्ल्याथको ‘मिरर’ पढ्दै थिएँ !
भुँइबाट खाम उठाएँ । हात काप्न थाले । अघिल्लो पुस्ताको नेपाली सिंगो साहित्यलाई नै एउटा सुन्दर कलात्मक डिजाइन दिएका एकजना निबन्ध डिजाइनरको नाममा लेखिएको चिठी थियो त्यो निबन्ध शिल्पी शंकर लामिछानेको नाममा ।
पढ्न थालें …
प्रिय शंकर, जब म विचारशून्य हुन्छु । ‘एब्स्ट्राक्ट चिन्तन: प्याज’ पढ्न थाल्छु । म जान्दिनँ, तिम्रो लेखनबाट किन यसरी प्रभावित भएँ । तिमी ‘स्यामुअल हन्टिङटन’ र ‘कार्ल पोल्यानी’ भन्दा पनि धेरै माथि छौ । हेर न शंकर, जीवन स्व:रफ्तारमा हिँडिरहेको छ । तर, तिमी छैनौं आज । जिउनुको अर्थवोध कत्ति छैन ममा ! जीवनका मेरा स्थूलपदचापहरू कुनै एउटा एडिक्सनको ‘बाउन्डरी’भित्र निर्ममतापूर्वक कैद गराइए भने म यो भन्न पनि सक्छु कि– म कुनै एडिक्टर होइन ! ‘एडिक्टर’ । तर अफ्सोच ! सोच्नेहरू जे सोचून् । मेरो नै सोच सोचिदेऊ पनि म भन्दिनँ । जो म यहाँ भनिरहेछु (एउटा पृथक एडिक्सन !) जसको बिम्ब म जबरजस्ती अक्षरका ‘पेरिकार्डियम’हरू भित्र कोचारिरहेछु।
डिप्रेस्ड गराउला वा शुष्कताहरू निम्ताउला ! कोही बोलोस् मृत्यु निचोरेर ‘साहित्य’ एडिक्टर हुनै सक्दैन भनेर । त्यो बेला प्रत्यक्ष मेरो एडिक्सनका प्रुफहरू पोखिदिनेछु । सडक ! एडिक्टर हुन सक्तैन । पहाड ! गगनचुम्बी घरहरू ! के कोही– एडिक्टर हुनै नसक्ने (?)
००
र, यो विस्मृतिको गर्भमा (न)लेखिएको एउटा चिठीको सम्झना ।
बिक्रमाब्द २०५८ को अन्त्यतिरको एउटा सम्झना हो । स्थान: प्रयोगशाला । दृष्य : धुमिल । एक्सन् : म फ्रग डाइसेक्सन (ब्रेन एक्सपोज) गरेर अध्ययन गरिरहेको हुन्छु । त्यो बेला सायद म फ्रगको एडिक्ट भने अवश्य गरिरहेको हुन्छु कि (?) ‘रेडियो एक्टिभिटिज्म्’ अनुरुप कुनै फोसिलको अन्वेषण गरिरहँदा के त्यो बेला त्यसको एडिक्सन हुँदैन र ! शंकर लामिछाने जीवनको ‘टाइट्रेसन’मा भोगाइ भन्ने एउटा तत्वको सोलुसनलाई डेसिकेटरमा राखेर (जसलाई डेसिनर्मल सोलुसन सपोज गरियोस् !) फिनेलोफ्याथलिनका थोपाहरू मिसायौं भने, निकाल्न सक्छौ र सहज रूपमा— ‘न्यूट्रल पोइन्ट !’
‘स्ट्रेन्थ । अनि, ‘जीवनको नर्मालिटी । असलमा, निबन्ध लेख्न बसेकै होइन म ! भर्खर ल्याबबाट प्रस्तिथ छु— ‘टाइट्रेसन’ सकाएर ! तर, होइन जीवनको । सिर्फ जीवनको ‘टाइट्रेसन’ ! सोडियम कार्बोनेट सोलुसनको ! किन–किन यतिबेला यो जीवनको ‘टाइट्रेसन’ गर्न मन लागिरहेछ ! तर, सम्भव होला–कसरी (?) थिअरीटिकल्ली (?) या, प्राक्टिकल्ली (?) प्रिय शंकर, यतिखेर प्रोफेसर एम.एन. झा को खुम्चिएको अनुहार ! काँचका बिकरहरू ! डेसिकेटर ! र, मलाई अफसोस् लागिरहेछ । कारण, उहाँले मलाई जीवन — टाइट्रेसनको पद्धति सिकाउनु भएन !
त्यहाँबाट आफूलाई निकालेपछि चर्चको बाटोहुँदै, वासस्थानसम्म पुर्याएँ स्वयम्लाई । घिसारेरै भएपनि !
अँ, चर्च ! कति दिन पो भयो होला र कुन्नि । अस्ति त हो एउटा क्रिश्चियन साथीको ‘म्यारिज सेरेमनी’मा उसको निम्ताको कदर गर्दै पुगेको थिएँ त्यहाँ ! एउटा फरक स्टाइल जो मेरा सम्झनाहरूमा यद्यपि बसिरहेछन् ! भनें नि माथि मैले- ‘एउटा क्रिस्चियन साथी’ । किन भन्नु पर्ने है त्यसो (?) हिन्दू भनेको भए पनि त हुने, वा मुस्लिम भनेको भए वा बौद्धिस्ट नै भनेको भए वा …। के यी माथि भनेका चीज पनि वर्गीय हुन्छ र ? कि निर्माण गरेका हुन् ईश्वरले ? वा, येशु, बुद्ध, मोहम्मद … कसले (?)
मान्छेले बनाएका कुनै पनि चीज मान्दिनँ म । अकारण या कारणसहित जेसुकै होस् । म मान्छेको एटम नै होइन । ईश्वर पनि होइन, म । अमान्छे पनि होइन । एउटा फोटो सेल वा बायो सेल हुँ, त्यो पनि यस पृथ्वीले स्वामित्व लिन नसक्ने । र होइन कुनै ग्रहको पनि । एस्टिरोइड्स, कमेट्स, कसैको पनि ! सूर्यको पनि होइन ! शिर्फ ! एउटा अयोनिज साहित्यको । (जो जन्मिएकै छैन, जन्माइएकै छैन !) र, जन्माइने पनि छैन, कहीं–कतै । यसो भनौं अझ ! शिर्फ, मेरो इमेज एउटा भ्रान्तिवत् तत्व हो । यसैबाट म चालित छु । यहाँका अक्षरहरू, शब्दहरू मेरो एडिक्ट गरिरहेछन्– स्वयम् साहित्य नै मेरो इमेजको एडिक्ट गरिरहेछ ! लेख्दै छु- लेख्दा–लेख्दै के भयो यो, थाहा छैन । निबन्ध नै भयो, या जस्तै जस्तै भयो । असलमा, हुनुपर्ने त अर्को चिज हो (जुन स्वयम्लाई नै थाहा छैन !) ।
साहित्य- म यो शब्द नै बुझ्दिनँ !
जान्दिनँ ! र, लेख्दिनँ पनि !
खासमा, साहित्य अपसोच हो । आज जीवनको अन्तिम विन्दुमा आएर– म महसुस गर्दैछु । त्यो अपसोचको पनि अपसोच ! जीवनको स्वयंको एउटा ‘अटिप्मिस्टिक’ तत्व हो र यो पनि हो, एउटा ‘थिअरी’ भोगाइहरूको । संसारमा, यदि त्यस्तो कमसल केही वस्तु छ भने यही एउटा साहित्य हो । म साहित्यको होइन, ऊ मेरो होइन । एकजना सहपाठीले उतिबेलै भनेकी थिइन्- ‘साहित्य लेख्नेहरू पागल हुन्छन् ।’
उनले भनेका कैयन् शब्दहरू मध्ये मलाई यो अंश ‘पागल’ औधी मन पर्यो ! र, मन लागिरहेछ– दोहोर्याऊँ, तेहेर्याऊँ …। त्यसो त, उनले लेख्नेहरू पागल भेटिन् या लेखाइमा अराजक तत्व ? त्यो टाउको दुखाइको विषय भएन ! किन (?) समयको अर्को इतर घुम्तिमा ऊ मेरो निकटतम् वस्तु हो । जसको बीच कुनै स्पेस नै छैन । मानौं एकै तत्वका दुई रेस्पेक्टिभ इलेक्ट्रोनहरू हौं हामी !
उसले पागल भनी साहित्य लेख्नेलाई । म, असाहित्य लेखरै पनि पागल । आखिर यो सम्भव छ होला ? र, सत्य यो हो म कुनै अमूर्त चित्र (शब्दको– अक्षरको) यो कापीको क्यानभासमा पोतिरहेछैन, निष्प्राण तत्वको छातीउपर । र, पनि कुनै आवश्यकता छैन मलाई साहित्यिक ‘बी कम्प्लेक्स’को । न छ कुनै साहित्यिक–रिह्याविलिटेसन सेन्टरको । यद्यपि, एउटा यो छ, आवश्यकता —‘विशिष्टतम् र विशुद्ध नेपाली साहित्य !’
त्यो विदेशी साहित्य– जसलाई तपाईंले सिमाना कटाउनुहुन्छ (नेपाल भित्राउनुहुन्छ !) त्यसको स्वरुप, प्रारुप, अरुप —
भौतिक !
शारिरिक !
मानसिक !
(……!)
(कुनै पनि होस् !)
सम्पूर्ण रूपहरूलाई नेपाली बनोट दिनु तपाईंको कर्तव्य हुनेछ, एउटा आयामिक प्रयास हुनेछ ! एउटा कुरा, ती ल्याइएकाहरू कुनै पनि हालत फिर्ता नजाउन्, नेपाली वाङ्मयलाई तिलाञ्जली दिएर- बुद्धले भौतिकताको दिएजस्तै ! प्रसंग जस्ता उठाए पनि असलमा, म लेखिटोपल्छु- लेख्दिनँ ! शंकरले भनेजस्तै । असलमा पत्रको रुप र सारमा म एउटा निबन्ध डिजाइन त गरिरहेछु जसको लत लागेको छ मलाई । एकै शब्दमा भन्नु पर्दा– ‘एडिक्ट’ ! यही गरिरहेछु म ! आखिर त्यही गलत बोलें । यथार्थमा, साहित्य नै मेरो ‘एडिक्ट’ गरिरहेछ शंकर, जीवनको हरेक कोणबाट ।
आज शंकरलाई कतिले नसम्झेर पनि सम्झिए । कतिले सम्झिएर पनि सम्झिएनन् । आखिर किन सम्झिनु र उनलाई ?
नसम्झिँदा नसम्झिँदै पनि सम्झिएँ एकपटक।
आखिरी पटक !
अलबिदा !
प्रतिक्रिया 4