१३ माघ,बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको दोस्रो बैठक दुई महिनापछि आज बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीअनुसार प्रदेश सभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले सभामा जानकारी गराउने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए ।
प्रदेश सभाका सदस्यहरु कृष्णा केसी, कन्हैया बानिया,धनबहादुर मास्की राना र धर्मबहादुर चौधरीले प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेदवार बन्न राजीनामा दिएका छन् ।
आजको वैठकमा प्रदेश सभा सदस्यले समसामयिक विषयमा विशेष सम्बोधन गर्ने, जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने र मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गर्ने र सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । सातौं अधिवेशनको पहिलो बैठक मंसिर ८ गते बसेको थियो ।
प्रतिक्रिया 4