News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाका महान् क्रिकेटर सर डोनाल्ड ब्राडम्यानको सन् १९४७–४८ को 'ब्यागी ग्रिन' क्याप ३ लाख अमेरिकी डलरभन्दा बढीमा लिलामीमा बिक्री भएको छ।
- ब्राडम्यानले उक्त क्याप भारतको स्वतन्त्र राष्ट्रका रूपमा पहिलो अन्तर्राष्ट्रिय शृंखला खेल्दा लगाएका थिए र उनले यो क्याप रंगा सोहोनीलाई उपहार दिएका थिए।
- यो क्यापलाई 'क्रिकेटको पवित्र धरोहर' भनिन्छ र ब्राडम्यानका यस्ता क्यापमध्ये हालसम्म केवल ११ वटा मात्र चिनिएका छन्।
१३ माघ, काठमाडौं । अस्ट्रेलियाका महान् क्रिकेटर सर डोनाल्ड ब्राडम्यानले लगाउने गरेको ‘ब्यागी ग्रिन’ क्याप ३ लाख अमेरिकी डलरभन्दा बढीमा बिक्री भएको छ ।
अस्ट्रेलियाको गोल्ड कोस्टमा भएको लिलामीमा क्रिकेट इतिहाससँग जोडिएको उक्त ऐतिहासिक क्याप ४ लाख ६० हजार अस्ट्रेलियन डलर (करिब ३ लाख २० हजार डलर) मा बिक्री भएको हो ।
यो क्याप ब्राडम्यानले सन् १९४७–४८ मा भारतविरुद्ध अन्तर्राष्ट्रिय शृंखला खेल्दा लगाएका थिए। उनको अन्तिम घरेलु शृंखलापछि यो क्याप भारतका ओपनिङ बलर रंगा सोहोनीलाई उपहार दिएका थिए। सोहोनीको परिवारले करिब ७५ वर्षसम्म यसलाई सुरक्षित राख्दै आएको थियो र पहिलो पटक सार्वजनिक रूपमा लिलामीमा ल्याइएको हो।
अस्ट्रेलियाको टेस्ट टिमबाट खेल्ने खेलाडीलाई डेब्यूमा दिइने क्यापलाई ‘ब्यागी ग्रीन’ भनिन्छ । टेस्ट खेल्ने अस्ट्रेलियाका हरेक खेलाडीले उक्त क्याप पाउँछन् ।
उक्त क्यापलाई ‘क्रिकेटको पवित्र धरोहर’ का रूपमा पनि वर्णन गरिएको छ । क्यापभित्र ‘डीजी ब्राडम्यान’ र ‘एसडब्लु सोहोनी’ नाम अंकित छन् भने अस्ट्रेलिया क्रेस्टमुनि ‘१९४७–४८’ लेखिएको छ। ब्राडम्यानका त्यस्ता क्यापमध्ये हालसम्म केवल ११ वटा मात्र चिनिएका छन्।
यसअघि ब्राडम्यानको सन् १९२८ को पहिलो क्याप सन् २०२० मा ४ लाख ५० हजार अस्ट्रेलियन डलरमा बिक्री भएको थियो भने शेन वार्नको ब्यागी ग्रीनले २०२० मा अस्ट्रेलियन रेडक्रस बुशफायर राहतका लागि १० लाख ७ हजार ५ सय अस्ट्रेलियन डलर जुटाएर रेकर्ड बनाएको थियो।
प्रतिक्रिया 4