+
+
Shares

सल्यानी मतदाताका साना अपेक्षा

सल्यानका मतदाताले यस पटकको निर्वाचनमा ठूलो योजनाभन्दा पनि आधारभूत सेवा, स्वास्थ्य, शिक्षा, सडक, विद्युत र सञ्चार जस्ता आवश्यकताहरू प्राथमिकतामा राखेका छन्।

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८२ माघ १४ गते ७:२०
सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानमा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा १४ जना उम्मेदवार चुनावी प्रचारप्रसारमा व्यस्त छन्।
  • मतदाताले आधारभूत सेवा र जवाफदेहिता खोजिरहेका छन्, ठूला नारा र आश्वासनभन्दा कार्यसम्पादनमा जोड दिएका छन्।
  • सल्यानका मतदाताले स्वास्थ्य, शिक्षा, सडक, विद्युत र सञ्चार जस्ता आवश्यकताहरू प्राथमिकतामा राखेका छन्।

१४ माघ, सल्यान । एक मात्र क्षेत्र रहेको सल्यानमा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको छ । यसपटक सल्यानबाट दुई स्वतन्त्रसहित १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

उम्मेदवारहरू चुनावी प्रचारप्रसारको तयारीमा व्यस्त छन् । तर मतदाताले ठूला नारा र आकर्षक आश्वासनभन्दा आधारभूत सेवा र जवाफदेहिता खोजिरहेका छन्।

मतदाताका अपेक्षा ठूला छैनन्, तर दशकौँदेखि उठाइएका सामान्य मागसमेत सम्बोधन हुन नसकेको उनीहरूको गुनासो छ।

बनगाड कुपिण्डे नगरपालिका–९, जयतपानीका ६६ वर्षीय हुकुमबहादुर विष्टले २०५४ सालदेखि संघीय निर्वाचनमा नियमित रूपमा मतदान गर्दै आएका छन् । तर लामो समय लोकतान्त्रिक प्रक्रियामा सहभागी हुँदा पनि आफ्नो मतको सम्मान नपाएको उनको भनाइ छ । चुनावका बेला घर–घर पुगेर आश्वासन दिने नेताहरू जितेपछि जनताबाट टाढा हुने गरेको उनले गुनासो गरे।

विष्ट भन्छन्, ‘मैले २०५४ साल यताका सबै निर्वाचनमा मतदान गर्दै आएको छु । तर अहिलेसम्म आफ्नो मतको कदर भएको महसुस भएको छैन । नेताहरू हरेक चुनावमा घरघर आउँछन्, आश्वासन बाँड्छन् । जितेर गएपछि फर्केर हेर्दैनन् । हामीलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरिन्छ।’

उनका अनुसार जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि उपचार खर्चभन्दा बढी भाडा लाग्ने अवस्था रहेको उनी बताउँछन्। उनका माग रोजगारी वा ठूला योजना होइनन्, कम्तीमा आधारभूत स्वास्थ्य सेवा जिल्लामै उपलब्ध होस् भन्ने मात्रै हो।

‘जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा छैन । सामान्य उपचारका लागि पनि जिल्ला बाहिर जानुपर्छ, उपचार खर्चभन्दा बढी भाडामै सकिन्छ । हाम्रा माग ठूला छैनन्, हामीलाई रोजिरोटी जुटाइदेऊ भनेक छैनौं । आधारभूत स्वास्थ्य सेवा भए पुग्छ,’ उनले भने ।

सिद्ध कुमाख गाउँपालिका–३, फलाँटकी केशरी बुढाथोकी आफूहरू आधारभूत आवश्यकताबाट वञ्चित हुँदै आएको गुनासो गर्छिन् । सदरमुकाम नजिकैको बस्ती भए पनि हालसम्म इन्टरनेटको सहज पहुँच नपुगेको उनको भनाइ छ ।

उनका अनुसार चुनावी एजेन्डामा समृद्धि र विकासका कुरा उठे पनि निर्वाचित प्रतिनिधिको चासो नहुँदा समस्या जस्ताको तस्तै छ । देशभर गुणस्तरीय इन्टरनेट विस्तारको चर्चा भइरहँदा आफ्नै बस्तीमा सामान्य टेलिफोन सम्पर्कसमेत कठिन बनेको उनले बताइन् ।

उनी भन्छिन्, ‘सदरमुकाम नजिकैको गाउँ भए पनि मोबाइलले राम्रोसँग टावर टिप्दैन। फोन गर्न र इन्टरनेट चलाउन भिर, डाँडा चहार्नु पर्छ। समस्या कसैले सुन्दैन, नेताहरू समृद्धिका नारा लगाउँछन्, तर हामीलाई आधारभूत आवश्यकता पूरा गर्नै कठिन छ।’

बनगाडकै भोलाप्रसाद कवरको अपेक्षा पनि ठूला छैनन् । हरेक निर्वाचनमा ‘समृद्ध सल्यान’को नारा दोहोरिए पनि त्यसको प्रत्यक्ष असर जनजीवनमा नदेखिएको उनी बताउँछन् । बाटाघाटा सुधार र खस्कँदो शैक्षिक अवस्थालाई माथि उठाउने काम भए अरू ठूलो अपेक्षा नरहेको उनको भनाइ छ।

उनी भन्छन्, ‘हरेक चुनावमा ‘जिल्ला समृद्ध बनाउँछौँ’ भन्ने नारा लगाइन्छ, तर अहिलेसम्म त्यो भाषणमै सीमित छ। हाम्रा अपेक्षा ठूला छैनन्, बाटाघाटा राम्रो बनाइदिए, खस्कँदो शैक्षिक अवस्थालाई सुधार गरिदिए पुग्छ। धेरै कुरा चाहिएको छैन, काम देखियोस् भन्ने मात्रै हो।’

छत्रेश्वरी गाउँपालिका–६, राणा गाउँका ६० वर्षीय हिरासिंह अधिकारीको पनि उस्तै दु:खेसो छ । लामो समयदेखि कृषि पेसामा आबद्ध उनी राज्य र प्रतिनिधिबाट ठूलो सहयोग होइन, निष्पक्षता र न्यूनतम साथ खोजिरहेका छन्। तर बजेट र अनुदान वितरण कार्यकर्तामुखी हुँदा वास्तविक किसान सधैं पछाडि परेको उनको गुनासो छ।

अधिकारीका अनुसार उनले दुई वर्ष अगाडिसम्म दुई रोपनी क्षेत्रफलमा माछापालन गर्दै आएका थिए । तर सरकारी सहयोग नपाउँदा र एक्लै सम्भव नहुँदा त्यो पेसा छोड्नुपरेको अवस्था आयो।

उनी भन्छन्, ‘हामी किसानका अपेक्षा ठूला छैनन्, कम्तीमा किसानका साना समस्या सुन्ने प्रतिनिधि भए पुग्छ। दुई वर्ष अगाडिसम्म दुई रोपनीमा माछापालन गर्थें, एक्लै सम्भव भएन, सरकारले पनि हेरेन। अनुदान पार्टी निकटका गैर किसानले पाउँछन्, हामी जस्ता वास्तविक किसान सधैं मारमा पर्छौं।’

चुनाव नजिकिँदा समस्या टिप्न आउने नेताहरू जितेपछि फर्केर नहेर्ने प्रवृत्ति अझै कायम रहेको उनी बताउँछन्। ‘चुनावअघि डायरी बोकेर समस्या टिप्न आउँछन्, जितेपछि फर्केर नहेर्ने चलन छ,’ उनले भने ।

सल्यानका मतदाताले यस पटकको निर्वाचनमा ठूलो योजनाभन्दा पनि आधारभूत सेवा, स्वास्थ्य, शिक्षा, सडक, विद्युत र सञ्चार जस्ता आवश्यकताहरू प्राथमिकतामा राखेका छन्।

उम्मेदवारहरूको चुनावी भाषण र आश्वासनभन्दा बढी कार्यसम्पादन र जवाफदेहिता देख्नुपर्ने अपेक्षा मतदाताले व्यक्त गरेका छन्। अहिले सल्यानमा चुनावी सरगर्मी बढ्दा पनि मतदाताको विश्वास जित्न उम्मेदवारहरूले सुरुका दिनका नारा भन्दा बढी, ठोस काम र निरन्तरता देखाउनुपर्ने चुनौती देखिएको छ।

लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?