१४ माघ, काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागु गरेको १० दिनमै १५ जना व्यक्ति र संस्थासँग स्पष्टीकरण मागेको छ । आयोगले माघ ४ गतेदेखि आचारसंहिता लागु गरेको थियो । त्यसयता मंगलवारसम्म १० दिन बितेको छ । यो अवधिमा १५ वटा स्पष्टीकरण पत्र काटिएको आयोगले जनाएको छ ।
आयोगको स्पष्टीकरण बेहोर्ने अधिकांश चर्चित व्यक्ति परेका छन् । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), देखि नेकपा एमालेका सचिव महेश बस्नेतदेखि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) सम्म छन् ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका नेता शक्ति बस्नेत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, जनसेवा पार्टीबाट रुपन्देही–२ मा उम्मेदवार रहेका कमल भुसाल (निकोलस), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट काठमाडौं–४ मा उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतसँग पनि आयोगले स्पष्टीकरण सोधेको छ ।
कलाई के आरोप ?
रास्वपा वरिष्ठ नेता बालेनमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भड्काउ अभिव्यक्ति दिएको आरोप छ । ओली र बालेन दुवै अहिले झापा क्षेत्र नम्बर ५ मा प्रतिस्पर्धी छन् । बालेनलाई रास्वपाले आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दा, एमालेले ओलीलाई अघि सारेको छ ।
पछिल्लो समय प्रधानमन्त्रीका उम्मेदवारबिच ‘पब्लिक डिबेट’ गर्नुपर्ने विषय सामाजिक सञ्जालमा बहसमा छ । यही क्रममा आइतबार एमाले अध्यक्ष ओलीले फेसबुकमार्फत आफू पब्लिक डिबेटका लागि तयार रहेको अभिव्यक्ति दिएका थिए ।
ओलीको सोही पोस्टको कमेन्टमा गएर बालेनले सो प्रस्ताव ठाडै अस्वीकार गरिदिए । बालेनले प्रस्ताव अस्वीकार मात्रै गरेनन्, कमेन्ट गर्दा ‘हत्यारा’ र ‘आतंकवादी’ जस्ता शब्द पनि प्रयोग गरे ।
‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ । हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो,’ बालेनले लेखेका थिए, ‘तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो ! आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ।’
‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ,’ बालेनले अगाडि लेखेका थिए ।
बालेनको यही अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । जसलाई लिएर आयोगले उनीसँग स्पष्टीकरण मागेको छ ।
यस्तै एमाले सचिव बस्नेतमाथि बालेनविरुद्ध अभिव्यक्ति दिँदा मैथिली भाषाको एक शब्द (छौरा)लाई अनर्गल व्याख्या गरेर समुदायमाथि चोट पुर्याएको आरोप छ ।
जनकपुरमा आयोजित रास्वपाको सभामा बालेनले मैथिली भाषामा सम्बोधन गर्दै ‘मधेशका छौरा प्रधानमन्त्री बन्नेवाला है’ भनेर अभिव्यक्ति दिएका थिए । ‘छौरा’ शब्दलाई एमाले नेता बस्नेतले ‘छाउरा’ अर्थ लगाएर व्यंग्य गरेका थिए । जसविरुद्ध आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधिएको हो । पछि बस्नेतले त्यो अभिव्यक्तिबारे सार्वजनिक रूपमा माफी पनि मागिसकेका छन् ।
उता नेकपाबाट जाजरकोटमा प्रत्यक्षतर्फको उम्मेदवार रहेका नेता शक्ति बस्नेतले मनोनयन दर्ताका क्रममा बाजा बजाउने व्यक्तिहरूलाई पैसा बाँडेको भिडिओ ‘भाइरल’ भएको थियो । त्यसविरुद्ध उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
उता कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले झापा–५ मा एमाले अध्यक्ष ओलीको मनोनयन दर्तामा जाँदा सरकारी गाडी प्रयोग गरेको आरोपमा आयोगमा उजुरी परेको थियो । यही कारण मुख्यमन्त्री कार्कीले आयोगबाट आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टीकरण खेपेका छन् ।
सुनसरी–१ मा श्रम संस्कृति पार्टीबाट उम्मेदवार रहेका हर्क साम्पाङमाथि निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको र टी–सर्ट प्रयोग गरेको आरोप लागेको छ । सोही आरोपसहितको उजुरी परेपछि आयोगले साम्पाङसँग पनि स्पष्टीकरण मागेको हो ।
निकोलस भुसालमाथि जेन–जी आन्दोलनका बेला रगतले लतपतिएको जुत्ताको तस्बिर प्रयोग गरेर भोट मागेको आरोपमा आयोगमा उजुरी परेको थियो । उक्त जुत्ता उनले चुनाव चिह्न जसरी नै प्रयोग गरिरहेको उजुरीमा उल्लेख रहेको आयोगले जनाएको छ ।
यस्तै रास्वपाबाट बाँके–३ मा उम्मेदवार रहेका खगेन्द्र सुनारले एक अन्तर्वार्तामा गाईको मासुबारे विवादित अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भइरहेको छ । सोही विवादित अभिव्यक्तिबारे उम्मेदवार सुनारसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधिसकेको छ । उनी आफैंले त्यो अभिव्यक्तिको खण्डन गरेका छन् ।
यस्तै काठमाडौं–४ मा राप्रपा उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले लैंगिक तथा अल्पसंख्यक समुदायविरुद्ध घृणास्पद टिप्पणी गरेको आरोपमा आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
दुई जनाले बुझाए स्पष्टीकरण
आयोगले हालसम्म स्पष्टीकरण सोधेका मध्ये दुई जनाले मात्रै जवाफ दिएका छन् । जसमा नेकपाबाट जाजरकोटमा उम्मेदवार रहेका शक्ति बस्नेत र रास्वपाबाट दोलखामा उम्मेदवार रहेका जगदीश खरेल रहेको आयोगका सह–प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन् ।
स्पष्टीकरण नदिनेलाई फेरि पत्राचार गर्ने काम पनि भइरहेको उनले बताइन् । ‘आयोगबाट स्पष्टीकरण सोध्दा बढीमा तीन दिनको समय दिएका छौँ, निर्धारित समयमै जवाफ नआए फेरि पत्राचार गरिरहेका छौँ,’ उनले भनिन् ।
स्पष्टीकरण सोधे पनि हालसम्म आयोगले कसैलाई आचार संहिता उल्लंघनमा कारबाही भने गरिसकेको छैन । ‘स्पष्टीकरण सोध्दा चित्तबुझ्दो जवाफ आए थप अगाडि बढिँदैन । नभए मात्रै थप कारबाही के गर्ने भन्ने विषयमा अगाडि बढ्छ,’ सह–प्रवक्ता श्रीसले भनिन् ।
आयोगले आचारसंहिता उल्लंघनको विषय उजुरीमार्फत लिने र आफैं पनि ‘स्क्रिनिङ’ गरेर लिने गरेको उनले सुनाइन् । त्यसका लागि आयोगले छुट्टै एक टिम पनि बनाएको उनले जानकारी दिइन् ।
प्रतिक्रिया 4