२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले शान्तिप्रिय जनताको मन भाँड्ने कृत्य आफूबाट नहुने टिप्पणी गरेको छ । शनिबार कांग्रेस प्रवक्ता देवराज चालिसेले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
‘नेपाली कांंग्रेस आमजनता, मतदातामाझ सभ्य, सु–संस्कृत र सन्तुलित शैलीलाई केन्द्रमा राख्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चरम प्रियतावादबाट वशिभूत भएर शान्तिप्रिय जनताको मन भाँड्ने कृत्य हामीबाट किञ्चित कल्पित र सम्भव छैन ।’
आमसञ्चार, विद्युतीय र डिजिटल सञ्चारका कुनै पनि प्लेटफर्ममा आफ्नो उपस्थिति तर्क, विवेक र सम्मानबाट निर्दिष्ट रहने कांग्रेसले दाबी गरेको छ ।
यस्तै निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति कांग्रेसले सधैँ उच्च सम्मान गर्ने विज्ञप्तिमा उल्लेख छ । ‘तर यसको कार्यान्वयनमा कतिपय दल र तिनका समर्थकहरूबाट भइरहेका खुला उलंघनका घटनालाई हामीले सप्रमाण ध्यानाकर्षण गराएका छौँ । र, यसबारे हामीले आन्तरिक रूपमै समेत अध्ययन विश्लेषण गरिरहेका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन आचारसंहिता निसर्त र अविछिन्न पालना गर्न कांग्रेसको पूरै परिवार प्रतिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ । जसबारे अभिमुखिकरण भइसकेको पनि कांग्रेसले जनाएको छ । ‘हामी आफ्नो व्यवहार र कार्यशैलीबाट उदाहरण बन्न चाहन्छौँ,’ प्रवक्ता चालिसेले विज्ञप्तिमार्फत भनेका छन्, ‘निर्वाचन अघि-पछि सधैँ यही समाजमा जीवन निर्वाह गर्नुपर्ने हामीमाझ कुनै पनि किसिमका अशोभनीय, अराजक र अवाञ्छित व्यवहार देखाउने छुट कसैलाई दिएका छैनौँ ।’
प्रतिक्रिया 4