+
+
Shares

यी कविको २०० वर्षदेखि हराइरहेको ऐतिहासिक चित्र अन्तत: यसरी भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्कटल्याण्डका कवि रोबर्ट बर्न्सको हराएको चित्र २०० वर्षपछि लण्डनको अक्सन हाउसमा भेटिएको छ।

स्कटल्याण्डका विश्वप्रसिद्ध कवि तथा गीतकार रोबर्ट बर्न्सको मृत्यु सन् १७९६ मा भयो । त्यसबेला उनी मात्र ३७ वर्षका थिए । तर, उनी आफ्नो छोटो जीवनकालमै स्कटल्याण्डभर प्रसिद्ध थिए । मृत्युपछि उनको प्रसिद्धि झनै बढ्यो ।

उनलाई उनका धेरै पाठकहरूले देख्न पाएका थिएनन् । अझ उनको मृत्युपछि उनी कस्ता देखिन्थे भन्ने जिज्ञासा व्यापक रूपमा बढ्यो । देखाउनलाई उनको एउटा मात्र आधिकारिक तस्विर अस्तित्वमा थियो । जसलाई अलेक्जेन्डर नास्मिथ नाम गरेका चित्रकारले सानो अण्डाकारमा पोर्ट्रेट बनाएका थिए ।

तर, दशकौंदेखि विज्ञहरूबीच स्कटल्याण्डका अर्का महान् चित्रकार हेनरी रेबर्नले पनि बर्न्सको एउटा चित्र बनाएका थिए भन्ने मान्यता राख्थे । त्यसलाई प्रमाणित गर्ने केही आधिकारिक पत्रहरू समेत थियो ।

त्यसो हुनाले त्यही हराएको कलाकृतिको खोजीमा स्कटल्याण्डले दुई शताब्दी बितायो । उक्त खोज यतिसम्म रोचक भयो कि १०० वर्षअघि उक्त चित्र पत्ता लगाउन एक पटक ‘प्रेतात्मा बोलाउने सत्र’ समेत आयोजना गरिएको थियो । त्यसबारे ‘शर्लक होम्स’का लेखक आर्थर कोनान डोयलले लेखेका छन् ।

अन्तत: २०० वर्ष लामो खोजपछि हालै मात्र उक्त रहस्य सुल्झिएको छ । यसका साथै स्कटल्याण्डको महान् कविको हराएको यो चित्र नेसनल ग्यालरी अफ स्कटल्याण्डमा प्रदर्शनीमा राखिएको छ ।

कसरी भेटियो?

यो खोजका मुख्य पात्र हुन्, ६५ वर्षीय विलियम जाक्स । उनीसँग बर्न्स र स्कटिश इतिहाससँग सम्बन्धित करिब ४० हजार वस्तुहरूको सङ्ग्रह छ । गत मार्चमा एउटा साथीले उनलाई लण्डनको एउटा सामान्य अक्सन हाउसमा रोबर्ट बर्न्सको एउटा तस्विर बिक्रीमा रहेको सूचना दिए ।

जाक्सले तुरुन्तै रेबर्नका विज्ञ डन्कन थम्पसलाई सुनाए । त्यसपछि उनीहरूले आफ्नो मोबाइलमा उक्त चित्रलाई एचडी गुणस्तर ध्यानपूर्वक हेरे । अचम्मको कुरा त के थियो भने अक्सन हाउसले चित्रको मोल मात्र ४०० देखि ७०० डलर राखेका थिए ।

जाक्स र थम्पसनलाई थाहा भयो, त्यो दुलर्भ चित्र हो । अनि त्यसै चित्रलाई स्कटल्याण्डले २०० वर्षदेखि खोजिरहेको थियो ।

त्यसपछि लिलामीमा जाक्सले १ लाख १३ हजार डलर (करिब १ करोड ५० लाख रुपैयाँ) तिरेर उक्त चित्र आफ्नो बनाए । त्यसपछि अहिले स्कटल्याण्डका विश्वप्रसिद्ध कवि तथा गीतकार रोबर्ट बर्न्स हराइरहेको चित्र प्रदर्शनीमा राखिएको हो ।

उक्त चित्र नक्कली पनि हुन सक्थ्यो । तर प्राविधिक जाँचका क्रममा चित्र वास्तविक नै भएको निस्कियो । विज्ञहरूका अनुसार रेबर्नले आफ्ना पेन्टिङमा एक प्रकारको विशेष क्यानभास र रातो रङको धुलो प्रयोग गर्थे । त्यसले रेबर्नका चित्रहरूलाई अलग गर्थ्यो ।

जाक्सका अनुसार यो चित्र बर्न्सको मृत्यु भएको ६ वर्षपछि उनका भाइले प्रकाशन गर्न लागेको दाइका रचनाहरूको नयाँ संस्करणका लागि बनाइएको थियो । जाक्ससँग भएको एउटा ऐतिहासिक पत्रले समेत त्यो कुरा पुष्टि गर्छ । जसमा हेनरी रेबर्नलाई चित्र बनाउन जिम्मा दिइएको छ ।

त्यस्तै विम्बल्डन अक्सन हाउसका निर्देशक फेलिक्स टर्नरका अनुसार लण्डनको ह्याम्पटन कोर्ट क्षेत्रमा अवस्थित एउटा घर खाली गर्ने क्रममा उक्त चित्र भेटिएको थियो ।

उनलाई उक्त चित्र महत्वपूर्ण छ भन्ने लागेको त थियो । तर हराइरहेको ऐतिहासिक रेबर्न पोर्ट्रेट त्यही नै हो भन्ने पत्तो थिएन । तर, थाहा पाउँदासम्म ढिला भइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?