१५ माघ, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृहका उपकरणमा प्राविधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत् सुविधाबाट वञ्जित भएका हुन् ।
लुलाङ आधारभूत विद्यालयका शिक्षक दर्पण रोकाले विद्युत अभावमा रातका समयमा उज्यालो बनाउन, घरायसी काम, विद्यार्थीहरुलाई पठनपाठन र वडा कार्यालयको सेवा प्रवाहमा समस्या भएको गुनासो गरे ।
मोबाइल चार्ज गर्न नपाएर सञ्चार सेवा प्रभावित बनेको छ । साविक लुलाङ गाविसमा तीन सय ७० घरपरिवारले परियोजनाको विद्युत उपभोग गर्दै आएका छन् । गत जेठ महिनामा लुलाङमा केन्द्रिय प्रशारण लाइनको विद्युत् सुविधा पुगेको थियो । लघुजलविद्युतको विद्युत् भएकाले स्थानीयबासीहरुले घरमा मिटरबक्स जडान र वायरिङ गर्न बेवास्ता गरेका थिए ।
केन्द्रिय लाइनको विद्युत् पुगिसकेकाले लघुजलविद्युत् परियोजना मर्मत गर्न सरकारको आर्थिक कार्यबिधीले नदिने भएकाले नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर मिटरबक्स जडान गरि विद्युत् विस्तारमा पहल गरिएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।
दरखोला लघुजलविद्युत परियोजनामा पटक–पटक समस्या आउन आउने भएकाले विद्युतको दिर्घकालीन समस्या समाधानका लागि केन्द्रीय प्रशारण लाइनको विद्युत् जोड्न प्राथमिकता दिएको उपाध्यक्ष पुनले बताए ।
गत जेठमै केन्द्रीय लाइन पुगेपनि खोरिया स्थित नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन बाहेकको काममा प्रयोग भएको थिएन् ।
प्रतिक्रिया 4