१५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको विषयमा आत्मसमर्पण नहुने बताएका छन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि भएको छलफलका क्रममा ओलीले यस्तो बताएका हुन् ।
पार्टीका प्रचारप्रसार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा लगायतको रक्षाका लागि आफ्नो पार्टी प्रतिरोध, प्रतिवाद र प्रतिरक्षामा उत्रने ओलीले बताएका हुन् ।
‘राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताउनुभयो । साथै, अध्यक्ष ओलीले कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुने कुरामा जोड दिनुभयो,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै, उनले आफ्नो पार्टीले हाल भइरहेका राज्यका संयन्त्रहरूका गतिविधि र काम कारबाहीका विषयमा नजिकबाट नियालिरहेको जानकारी पनि गराए ।
‘सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको अध्यक्ष ओलीले बताउनुभयो,’ शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पार्टीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकास मार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्रको तयारी गरिरहेको पनि उनले बताए ।
‘नेकपा (एमाले)ले व्यावहारिक र पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको छ,’ शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4