+
+
Shares
ब्लग :

लखन थापाका पनातिको सैनिक गाथा

नागाल्याण्डको युद्धमा बहादुरीका साथ लडेको हुनाले हेमदलले ’नागालैण्ड युद्ध मेडल’ प्राप्त गरेका थिए। यसैगरी उनले बेलायत र फ्रान्सलाई जर्मनी विरुद्ध युद्धमा सहयोग गरेबापत बेलायत/फ्रान्स युद्ध मेडल पनि प्राप्त गरेका थिए।

पवित्र थापा पवित्र थापा
२०८२ माघ १६ गते १७:०४
नायक हेमदल थापा र उनकी श्रीमती तिलकुमारी थापा ।

मेरो जन्म सैनिक परिवारमा भएको हो। मैले सानैदेखि मेरी आमा शुभकुमारी थापा (प्रथम शहीद लखनका पाँचौं पुस्ताका सन्तति) बाट हाम्रा पुर्खा नेपालका प्रथम शहीद लखन थापा मगर र उनका पनाति तथा मेरा बाजे हेमदल थापा मगरको वीरताबारे सुनेकी थिएँ।

मेरो बाजे पहिलो विश्वयुद्धमा प्रत्यक्ष रूपमा सहभागी हुनुभएको थियो। उहाँ म सानो छँदा नै बित्नुभएको थियो। मैले आमाबाट हाम्रा पुर्खाहरूको वीरगाथा पटक–पटक सुनेकी थिएँ।

धेरै सैनिकले वीरगति प्राप्त गरेका थिए भने कतिपय सैनिकले वीरता प्रदर्शन गरी बाँच्न सफल भएका थिए। त्यसरी प्रथम विश्वयुद्धमा सहभागी भई त्यतिबेला बाँच्न सफल भएका नेपालीमध्ये मेरा बाजे हेमदलको सैनिक वीरगाथा प्रस्तुत गर्ने कोसिस गरेकी छु।

प्रथम शहीद लखन थापा मगरका पनाति हेमदलको जन्म तेह्रथुम जिल्लाको फेदापको कोबेक भन्ने गाउँमा भएको थियो। पुर्ख्यौली थलो गोरखा भए तापनि उनका जिजुबाजे लखन थापा मगरलाई नेपाली गोर्खाली सेनामा कार्यरत भएताका राणा शासनको निरङ्कुशता विरुद्ध जनविद्रोह गर्दा गोरखाको बुङ्कोटमा राणाहरूले वि.सं. १९३३ मा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो। राणा सरकारले वंशज नै नाश गरिदिने त्रासले लखनका पनाति (हेमदलका बाजे) भागेर तेह्रथुमको फेदापको कोबेक भन्ने गाउँमा एउटा लिम्बु परिवारकहाँ शरण लिन पुगे।

लखनले नेपाली सेनामा कार्यरत रहँदा एउटी लिम्बुनी कुमारीको उद्धार गरी उनको जन्मथलो तत्कालीन लिम्बुवान अन्तर्गतको तेह्रथुममा पुर्‍याइदिएका थिए। यसैकारण लखनको हत्यापछि उनका छोरा सुरक्षाको खोजीमा सम्पूर्ण परिवार सहित भागेर तेह्रथुमको कोबेकमा बसाइँ सरी गुमनाम जीवनयापन गर्न बाध्य भएका थिए।

लखनका पनाति हेमदलका नौ जना भाइबहिनीको जन्म भए तापनि जेठो सन्तान हेमदल र उनकी बहिनी कान्छी बहिनी बाहेक अरूको सानैमा मृत्यु भएको थियो। कान्छी बहिनीको जन्म हुनासाथ आमाको मृत्यु भएको थियो। बाबुले अर्को विवाह गरेपछि कान्छीआमाले हेमदलप्रति राम्रो व्यवहार गरेनन्।

लेखक पवित्र थापा

१५ वर्षको उमेरमै घरबाट भागेर अन्यत्र जाने सोच मात्र के गरेका थिए, गाउँमा नै गल्ला (सिपाही भर्ना गर्ने टोली) आइपुग्यो। त्यसताका नेपालबाट लक्का जवान भर्ना गर्न गाउँ–गाउँमै गल्ला आउने गर्थ्यो। अन्य साथीहरूसँग उनी पनि सिपाहीमा भर्ना भए। त्यतिबेला गाउँ–गाउँमा गल्ला खटिएका हुन्थे। भर्ना भएका सबै लक्का जवानहरूलाई दार्जीलिङको जलपहाड ब्यारेकमा पुर्‍याइन्थ्यो। उनीहरूलाई केही महिना तालिम दिएर बर्मा (म्यानमार) को टाउजी शहर (त्यस वेलाको मिलिटेरी हेड क्वार्टर) लगेर बर्माको गोर्खा रेजिमेन्टमा समावेश गराइन्थ्यो। यसरी हेमदलको सैनिक जीवन शुरु भएको थियो।

सन् १९१४ मा प्रथम विश्वयुद्ध छेडियो। बर्मामा अङ्ग्रेजहरूको शासन थियो। युद्ध चर्कंदै जाँदा बेलायत र फ्रान्सलाई जर्मनी विरुद्ध युद्धमा सघाउन हेमदल रहेको बर्मा रेजिमेन्टलाई पाँच गोर्खा (फाइभ जीआर) पल्टनमा समावेश गरी फ्रान्स पुर्‍याइयो। जर्मनी विरुद्ध साहसीका साथ युद्ध गर्दैगर्दा करिब तीन महिना बितिसकेपछि युद्धको क्रममा बमको विस्फोटमा परेर हेमदल घाइते भए। प्राथमिक उपचारपछि उनलाई बेलायतको सैनिक अस्पतालमा पठाइयो।

युद्धमा होमिएको बेला हेमदल केवल १९ वर्षका थिए। घाउ त्यति गहिरो नभएकोले उनी चाँडै नै स्वस्थ भए। उनको बटालियन अझै फ्रान्सको युद्धमा नै रहेकोले उनलाई त्यही अस्पतालमा घाइते र डाक्टरहरूलाई सघाउन खटाइयो। बेलायतको सैनिक अस्पतालमा उनले करिब ६ महिना बिताएका थिए। उनले त्यहाँ रहँदा स्वास्थ्यकर्मी तथा उपचार सम्बन्धी धेरै ज्ञान प्राप्त गरे। कम्पाउन्डर (स्वास्थ्य सहायक) तालीम प्राप्त गरे। कालान्तरमा अवकाशपछि पनि आफू बसोबास गरेको ठाउँमा आफ्नो सीप र ज्ञानको प्रयोगले वैद्यको रूपमा परिचित भए।

लखनका पनाति हेमदलका नौ जना भाइबहिनीको जन्म भए तापनि जेठो सन्तान हेमदल र उनकी बहिनी कान्छी बहिनी बाहेक अरूको सानैमा मृत्यु भएको थियो। कान्छी बहिनीको जन्म हुनासाथ आमाको मृत्यु भएको थियो। बाबुले अर्को विवाह गरेपछि कान्छीआमाले हेमदलप्रति राम्रो व्यवहार गरेनन्।

युद्धको समाप्तिपछि उनलाई बर्मा रेजिमेन्टमा फिर्ता पठाइयो। बर्मा फर्कने क्रममा टर्कीको घेराउमा परेका गोर्खा सैनिकहरूको उद्धार गरी सँगै लिएर जानुपर्ने भएकोले स्वेज नहरमा उनले ३ महिना बिताउनु परेको थियो। पहिलो विश्वयुद्धताका टर्की देश निष्पक्ष बसेको थियो। तर अङ्ग्रेजको छलकपटले गर्दा युद्धमा होमिनु परेको थियो। गोर्खा फौज रहेको अङ्ग्रेजी जङ्गी पानीजहाजमा टर्कीको झन्डा राखेर जर्मनी विरुद्ध युद्ध गर्न भूमध्य सागरको बाटो हुँदै जानेक्रममा स्वेज नहरको पूर्वी भागमा टर्कीको फौजले पानीजहाजलाई चारैतिरबाट घेराउमा पारी अघि बढ्न रोकेको थियो।

महिनौंसम्म घेराउमा परेको पानीजहाजमा रहेको खाद्यान्न सकिएको हुँदा त्यहाँ रहेका सैनिकहरू कति दिनसम्म भोकभोकै बस्न बाध्य भएका थिए। स्थिति यतिसम्म गम्भीर भएको थियो रे कि कतिपय सैनिकहरूले भोक खप्न नसकी बाँच्नको लागि आफूले लगाएको छालाको बुट चपाउन बाध्य भएका थिए रे।

टर्कीको घेराउबाट छुटेपछि बाँकी जिउँदा सैनिकहरूलाई बर्मा फर्कने फौजमा सामेल गराइएको थियो। कति दिनसम्म खाना खान नपाएका सैनिकहरू खाना देखेपछि एकैपल्ट धेरै खाना खाने हुँदा एकाएक मृत्यु भएपछि अड्कल गरेर खाना खुवाउने व्यवस्था गरिएको थियो। ती सैनिकहरूमध्ये केही मात्र बर्मा फर्कन सफल भएका थिए रे। उनीहरू स्वेज नहरबाट अरब सागर हुँदै भारतको मद्रास बन्दरगाहमा बिसौनी पछि रंगुन (बर्माको राजधानी, अर्थात् म्यानमारको याङगुन) पुगेका थिए। केही दिनको आराम पछि उनीहरूको बटालियनलाई टाउजी शहरमै लगियो। करिब एक वर्षको अन्तरालमा बल्ल बर्मा फर्किएको थियो।

युद्धबाट फर्केपछि हेमदलको नायक पदमा बढुवा भएको थियो। उनले आराम गर्नलाई तीन महिनाको छुट्टी पनि पाएका थिए। सैनिक जीवनको यात्रापछि उनी पहिलो पटक आफ्नो जन्मथलो तेह्रथुम गएको बेलामा आफ्नो गाउँ नजिकैको दाहाल गाउँकी लुङ्गेली थरकी मगर्नीसँग विवाह बन्धनमा बाँधिएर श्रीमती सहित बर्मा फर्केका थिए। सैनिक जीवन यथावत् नै चलिरहेको अवस्थामा एउटा यस्तो घटना भयो जुन नायक हेमदल थापाको जीवनमा कहिल्यै निको नहुने घाउ बनेर जीवनभर रहिरह्यो।

त्यतिबेलाको घटनाक्रम यस्तो थियो– टाउजी मिलिटरी हेडक्वार्टर भएको हुनाले त्यहींबाट अन्य ब्यारेकहरूमा खजाना (तलब) पठाउने गरिन्थ्यो। त्यतिबेला नोटको चलन थिएन। सिक्काको रूपमा सैनिकहरूले तलब पाउने गर्थे। हेडक्वार्टरदेखि अन्य ब्यारेकमा खजाना लैजाँदा हात्ती या गोरुगाडामा राखेर लैजाने गरिन्थ्यो। यातायातको राम्रो सुविधा थिएन भने वनजङ्गलको बाटो भएर जानुपर्थ्यो। एकपटक टाउजीबाट लैमु श्याम देश (अहिलेको थाइल्यान्ड) को सिमानामा पर्ने बोर्डरमा मिलिटरीको खजाना पुर्‍याउने टोलीमा नायक हेमदल थापा पनि सम्मिलित थिए। यसरी खजाना एक ठाउँदेखि अर्को ठाउँसम्म लैजाने काममा २० माइल जतिको दूरीमा पडाउ पर्ने गर्थ्यो, अर्थात् बास बस्नुपर्थ्यो। प्रत्येक पडाउमा डाक बंगलाको व्यवस्था हुन्थ्यो। त्यसताकाको समय अनुसार गन्तव्यमा पुग्नुअघि तीन पडाउ (तीन पटकसम्म बास बस्नुपर्थ्यो) पर्थ्यो।

घना जङ्गलको बाटो हुँदै पहिलो पडाउ पार गरेपछि दोस्रो पडाउ खाना खाएपछि हेमदल सुत्न गए, बाँकी सिपाहीहरू तास खेल्न बसे। तास खेल्दै जाँदा एक जना सिपाहीले नराम्रोसँग हारेको झोंकमा आफूले भिरेको राइफल जथाभावी चलाउन थाले। गोली लाग्ला भनेर अन्य सिपाही साथीहरू भागाभाग गर्दै जङ्गलतिर लुक्न पुगे। अन्धाधुन्ध यसरी राइफल चलाउँदा उनलाई कसैले रोक्न सकेनछ। गोलीको आवाज सुनेपछि हेमदलको एक्कासी निद्रा खुल्यो। उनले हेर्दा एउटा सिपाहीले अन्धाधुन्ध बन्दुक पड्काइरहेको देखे। उनी विस्तारै पछाडिबाट गई त्यो सिपाहीलाई समाते तर सिपाही भने बेपरवाह पछाडिबाट हेमदलको खुट्टामा लात्तीले हानेर फुत्कन खोजेका थिए।

नायक हेमदल थापाले बहादुरीपूर्वक सेनाका साथीहरूको जीवनरक्षा गरे पनि हवल्दारमा बढुवा हुने अवसर पाएनन्।

उक्त सिपाहीले हानेको बुटले हेमदलको खुट्टा रगताम्मे भइसकेको थियो तर पनि उनले ती सिपाहीलाई फुत्कन दिएनन्। बुटको अघि र पछि घोडा खुर जस्तो फलामले ढाकेको हुन्थ्यो। चोट लागेर खपी नसक्ने पीडा भए तापनि हेमदलले उक्त सिपाहीलाई बेस्सरी कसेर समाती राखे। घाइते हेमदलको मल्हमपट्टी गरेर सबै सिपाही खजाना सहित हेडक्वार्टर नै फिर्ता भए।

गोली चलाउने सिपाहीलाई बहादुरीका साथ नियन्त्रणमा लिएको घटनाको खबर माथिल्लो तहका अफिसरहरूकहाँ पुगेछ। बढुवाको रूपमा पुरस्कार दिनलाई अङ्ग्रेज कमान्डिङ अफिसरको अध्यक्षतामा अफिसरहरूको मिटिङ बोलाइएछ। त्यहाँ उपस्थित सबै अफिसरहरूले बढुवाको निम्ति सहमति जनाएतापनि उनकै पल्टनको गोर्खा सुबेदार मेजरले भने हेमदल अशिक्षित छ, माथिको पद सम्हाल्न सक्तैन भनी अस्वीकार गरेछन्, अन्य अफिसरहरू अक्क न बक्क भएछन्।

त्यसताका एउटा गोर्खा पल्टन गोर्खा सुबेदार मेजर अन्तर्गत हुन्थ्यो र नियमानुसार उनको अनुमति या सहमति विना बढुवा वा सजाय गर्न पाइँदैनथ्यो। त्यसैले अङ्ग्रेज कमाण्डिङ अफिसर पनि रातो अनुहार पार्दै बाहिर निस्केछन्। मिटिङ हलबाहिर हेमदलका साथीहरू शुभ खबर सुन्न आतुर थिए। अङ्ग्रेज अफिसरको अनुहार देख्ने बित्तिकै नतिजा राम्रो नभएको लख काटेर एउटाले सलाम ठोक्दै केही त हुन पर्‍यो सर भनी सोध्ने आँट गरेछन्। त्यसपछि उक्त अंग्रेज अफिसर “तिमीहरूको गोर्खा अफिसरले मानेन” भन्दै बाहिर निस्केछन्।

यसरी नायक हेमदल थापाले बहादुरीपूर्वक सेनाका साथीहरूको जीवनरक्षा गरे पनि हवल्दारमा बढुवा हुने अवसर पाएनन्।

सैनिक जीवनबाट अवकाश हुनुअघि हेमदल अर्को एउटा युद्धमा पनि होमिनु परेको थियो, त्यो थियो नागालैण्डको युद्ध। नागाहरू गुरिल्ला युद्ध लडिरहेका थिए। हेमदल कार्यरत रहेको पल्टन उनीहरूलाई नियन्त्रण गर्न खटिएको थियो। युद्धको क्रममा नागाको तीरले उनको पाँसुला छेडिएर घाइते भएका थिए। अस्पतालमा गरिएको उपचारमा चित्त नबुझेकोले उनले आफ्नो उपचार बेलायतको मिलिटरी अस्पतालमा सिकेको सीपबाट आफैंले गरेका थिए।

नागाल्याण्डको युद्धमा बहादुरीका साथ लडेको हुनाले हेमदलले ’नागालैण्ड युद्ध मेडल’ प्राप्त गरेका थिए। यसैगरी उनले बेलायत र फ्रान्सलाई जर्मनी विरुद्ध युद्धमा सहयोग गरेबापत बेलायत/फ्रान्स युद्ध मेडल पनि प्राप्त गरेका थिए।

उनी सन् १९२९ मा सैनिक जीवनबाट अवकाश प्राप्त गरी टाउजी शहर बाहिर घुमती भन्ने ठाउँमा जग्गा किनी पशुपालन तथा खेतीपाती (बेलायत र फ्रान्सका कृषकहरूले गर्ने आधुनिक प्रविधि अपनाएर) गरेर सन् १९४२ को दोस्रो महायुद्धको समयसम्म स–परिवार बर्मामा रहे भने कालान्तरमा दार्जीलिङमा आएर स्थायी बसोबास गरे।

(लेखक त्रिवि आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) को पूर्वकर्मचारी तथा प्रथम शहीद लखन थापा मगरको छैटौं पुस्ताका सन्तति हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?