१८ माघ, सिरहा । पूर्व-पश्चिम राजमार्गदेखि करिब तीन किलोमिटर उत्तरतर्फ यात्रा गर्दा पुगिन्छ सिरहाको बेतौना सदाय बस्ती । यो बस्तीका बासिन्दाको दिन डर, हतार र मौनतासँगै सुरु हुन्छ ।
सूर्य नउक्लिँदै ५२ वर्षीया गंगाबती सदाय ढोकाबाट बाहिर निस्कन्छिन् । हातमा लोटा (अम्खोरा) छ । आँखामा वरिपरि नाप्ने बानी, कसैले देख्ला कि भन्ने चिन्ता । झिसमिसे अँध्यारोमै खेततिर हिँड्ने बाध्यता । यो उनको दिनको पहिलो यात्रा हो – खुला स्थानमा शौचका लागि ।
गंगाबती एक्ली होइनन् । गोलबजार नगरपालिका–१२ अन्तर्गतको बेतौना सदाय बस्तीमा करिब ६० घरधुरी छन् । ती घरभित्र करिब ३०० नागरिक बसोबास गर्छन् । तर सबै घरको साझा अभाव छ– शौचालय । घर छन्, मानिस छन्, मतदाता छन् तर लाज लुकाउने ठाउँ छैन ।
यो बस्ती ऐलानी जग्गामा बसेको छ । जग्गाको लालपुर्जा छैन । यही कारण सरकारी योजना आउँदा बस्ती सूचीकृत हुँदैन । सरकारी सुविधा पनि पाउँदैनन् । स्थानीय ईश्वरबती सदाय भन्छिन्, ‘जग्गा छैन भनेर सरकार शौचालय दिँदैन । पैसा नभएर आफैं बनाउन सक्दैनौं ।’
यहाँका अधिकांश परिवार दैनिक ज्यालामजदुरीमा निर्भर छन् । कसैले इँटा बोक्छ, कसैले अरुको जग्गामा पसिना बगाउँछ । आजको कमाइ आजलाई ठिक्क । भोलिको लागि बचत हुँदैन । शौचालय बनाउने खर्चबारे सोच्न पनि नसक्ने उनीहरु बताउँछन् ।
तर चुनाव नजिकिँदा भने यो बस्ती अचानक महत्वपूर्ण बन्छ । उम्मेदवारहरू आउँछन् । हात जोड्छन् । भाषण गर्छन् । शौचालय, खानेपानी, सडक सबै कुरा बाचामा सजाइन्छ । स्थानीय मनमनै आशा पाल्छन्– सायद यो पटक त हाम्रो माग पूरा होला ।

चुनाव सकिन्छ । औंलाको मसी मेटिन्छ । अनि उम्मेदवारहरुले बेतौनाका वेदना फेरि बिर्सिन्छन् ।
साँझ पर्न थालेपछि बस्ती फेरि असहज हुन्छ । महिलाहरू पालो कुरेर खेततिर जान्छन् । अँध्यारो, सर्पको डर, पुरुषको नजर, बालबालिकाको रोग सबै जोखिम बोकेर ।
संविधानले नागरिकलाई स्वच्छता र स्वास्थ्यको मौलिक अधिकार दिएको छ । तर बेतौनाका करिब ३०० नागरिकका लागि त्यो अधिकार कागजमै सीमित छ ।
‘हामीले धेरै कुरा मागेका छैनौं’ ईश्वरबती भन्छिन्, ‘बस ढोका थुन्न मिल्ने एउटा सानो कोठा भए पुग्थ्यो ।’
निर्वाचन फेरि नजिकिँदै छ । उम्मेदवारहरू गाउँ पसेका छन् । उनीहरूले फेरि मत मागेका छन् । तर बेतौना सदाय बस्तीका घरहरूमा एउटा प्रश्न अझै अनुत्तरित छ– हामी मतदाता हौं भनेर त चिन्छन्, तर नागरिक हौं भनेर कहिले चिन्छन् ?
प्रतिक्रिया 4