+
+
Shares

२० मुद्दा लागेका कुख्यात चोर मुन्ना फकिर : च्याङ्ग्रा बोकेको ट्रक नै लुट्थे

भदौ २४ मा कारागारबाट फरार भएर फेरि शृंखलावद्ध चोरी

चोरी तथा ठगीको दुनियाँमा प्रहरी प्रशासनकै टाउको दुखाइ बनेका मुन्ना भनिने मोहम्मद फकिरलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ माघ १८ गते १४:०१

१८ माघ, पोखरा । नक्कली व्यापारी बनेर बैंक चेक फुत्काउने र ठगी गर्ने । व्यापारीको भेषमा च्याङ्ग्रा लोड गरिएको ट्रक नै लुट्ने । गाउँगाउँसम्म पुगेर किसानका खसी–बोकासमेत फुत्काएर लैजाने । विभिन्न आवरणमा ठगी तथा चोरी गरेर पैसा जम्मा गर्ने र रासलिलामा रमाउने ।

प्रहरीले कसरी अनुसन्धान गर्छ भन्ने पत्ता लगाएर आँखा छल्ने र चोरी तथा ठगीधन्दा मच्चाउने अनौठो हर्कतले प्रहरीको समेत टाउको दुखाइ बनेको थियो । यस्ता नामुद चोर, जसको १९ वटा त मुद्दा मात्रै छन्, जसले कारागारबाट भागेर पनि फेरि यस्तै धन्दा चलाएर प्रहरीलाई आजित पारेका थिए ।

चोरी तथा ठगीको दुनियाँमा प्रहरी प्रशासनकै टाउको दुखाइ बनेका ती कुख्यात पात्र हुन्, मुन्ना भन्ने मोहम्मद फकिर । प्रत्येक पटक मोबाइल र सिम नै फेर्दै अनेक आवरणमा चोरी र ठगी गर्ने कुख्यात मुन्ना फकिरलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।

२०८१ सालको दशैंमा १०३ वटा च्यांग्रा बोकेको ट्रक नै लुटेर पछि पक्राउ परेका मुन्ना जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट फरार भएर फेरि ४ वटा चोरी गरेको फेला परेको छ । मुन्नाविरुद्ध त्योभन्दा अगाडि नै १४ वटा चोरी, बैंकिङ कसुर, स्वास्थ्य–सुरक्षाविरुद्धको कसुरमा मुद्दा दायर भएको थियो ।

जेनजी आन्दोलन लगत्तै मुन्नाले फेरि दशैंको छेकोमा अर्कैको नामको चेक दिएर भेडा–च्यांग्रा र खसी–बोका हात पारेर फरार भएका थिए । उनले कारागारबाट फरार भएपछि पनि ४ वटा चोरी तथा ठगीका घटना घटाएको पाइएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए । कारागारबाट भागेको समेत अब उनी विरुद्ध १९ वटा मुद्दा पुग्ने कार्कीले बताए ।

च्यांग्रा, भेडा–बाख्रादेखि सवारी साधनसमेत चोर्ने र विभिन्न ठाउँमा ठगी गरी जिल्ला अदालत कास्कीबाट दोषी ठहर भएर कारागार चलान भएका मुन्ना फरार थिए । नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले भरतपुरबाट मुन्नालाई प्रक्राउ गरी पोखरा ल्याएको छ ।

गाडी खरिद गर्ने भन्दै भरतपुरमा पनि नक्कली व्यापारी बनेर अर्को ठगी गर्न लागिरहेको अवस्थामा १५ गते मुन्नालाई पक्राउ गरी पोखरा ल्याएर अनुसन्धान अगाडि बढाइएको छ । जेनजी आन्दोलनका क्रममा फरार मुन्नाविरुद्ध चोरी तथा ठगी आरोपमा जाहेरी परेको थियो । प्रहरीले सुरुदेखि नै उनको खोजी गर्न थालेको भए पनि ५ महिनापछि मात्रै सफल भएको हो ।

‘भरतपुरमा पनि उनले गाडी किन्ने भन्दै अर्को ठगी गर्ने क्रममा रहेछ । जेनजी आन्दोलनका क्रममा फरार भएसँगै उनको व्यापक खोजी भइरहेको थियो । तर भेष बदलेर हिँड्ने र ठाउँ बदल्दै चोरी गर्दै हिँड्ने क्रममा भरतपुरमा रहेको सूचनाका आधारमा प्रहरीको संयुक्त टोली खटिएर पक्राउ गर्न सफल भयौं,’ कार्कीले भने, ‘उनले जेनजी आन्दोलनपछि नक्कली व्यापारी बनेर फेरि ठूलो संख्यामा भेडा–च्यांग्रा र खसी–बोका उछिट्याएका थिए ।’

जेनजी आन्दोलनका क्रममा फरार फकिरले अझै ९ महिना १२ दिन कैद भुक्तान गर्न बाँकी रहेकाले उनलाई कारगार पठाइएको सूचना अधिकारी तथा कास्की प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । २०८१ दशैंलगत्तै कास्की अदालतले उनलाई कारागार चलान गर्न आदेश दिएको कास्की प्रहरीले जनाएको छ ।

मुन्नाको मुख्य उद्देश्य नै विभिन्न आवरणमा चोरी तथा ठगी गर्ने र रासलिला गर्ने देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । चोरी तथा ठगीबाट प्राप्त हुने ठूलो रकम उनले देशका विभिन्न ठाउँका देहव्यापारमा संलग्न र व्यापारी बनेर युवतीलाई प्रलोभनमा फसाएर रासलिलामा सक्ने गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले जनाएका छन् ।

भदौ २४ गते फरार भएपछि पोखराका विभिन्न ठाउँमा अवैध रूपमा यौनधन्दा चल्ने रेस्टुरेन्टहरू पुगेको पाइएको र त्यही रेस्टुरेन्टमाथि निगरानी राखेर पछ्याउँदै जाँदा उनको थप विवरण र लुकेर बसेको ठाउँ फेला पार्नसमेत सहयोगी बनेको प्रहरी स्रोतको भनाइ छ ।

५० वर्षीय मुन्ना रुपन्देही शुद्दोधन गाउँपालिका–४ घर भई पोखरा–७ मासबारमा बस्दै आएका थिए ।

ठगी, आपराधिक, विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा २०८१ असोज ६ गते पक्राउ परी कारागार चलान गरिएको थियो । भदौ २४ गते फरार मुन्ना फेरि दशैंमा पोखरा याम्दीमा पुगेर अर्को ठगी गरेका थिए । मुस्ताङका ताक्ला गुरुङले दशैंका लागि बिक्री गर्न तयार पारिएको १०३ वटा च्यांग्रा ट्रकसहित नै चोरेर भागेका थिए । उनलाई प्रहरीले चितवनबाट पक्राउ गरी मुद्दा चलाएको थियो ।

४२ लाख रुपैयाँ मूल्य छिनेर मुन्नाले ताक्लालाई चेक उपलब्ध गराएका थिए । जोमसोममै साट्ने भनिएको चेक पोखरामै साट्ने नत्र रकम पनि त्यही उपलब्ध गराउने योजनासहित उनीहरू पोखराको याम्दी आइपुगेका थिए । याम्दीमा च्यांग्राको व्यवस्थापन गरेर हिसाब मिलान गर्ने बताएपछि ताक्ला राति सुत्न गए, त्यही राति ग१ख ५१७४ नम्बरको ट्रकसहित मुन्ना फरार भएका थिए । पोखरा र पृथ्वी राजमार्गका विभिन्न मासु पसमा च्यांग्रा बिक्री गर्दै चितवन पुगेका मुन्नालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि उनी कारागार चलान भएका थिए ।

जेनजी आन्दोलनका क्रममा फरार भएका मुन्नाले यो दशैंमा पनि त्यही शैलीमा भेडाच्यांग्रा उछिट्याएका हुन् । हिमाली जिल्लाबाट दशैंका लागि पोखरामा भेडाच्यांग्रा बिक्री गर्न ल्याएका जयलाल रोकायालाई अर्कैको नामको चेक दिएर असोज २३ गते ३२ वटा च्यांग्रा भ्यानमै हालेर उनी फरार भएको प्रहरीको भनाइ छ ।

२०८२ असोज २३ गते खेमबहादुर शेरचन नाम गरेका व्यक्तिलाई १ लाख ८४ हजार रुपैयाँ चेक दिएर उनी ३२ वटा च्यांग्रा लिएर हिँडेका थिए । कात्तिक ५, ८ र ११ गते पोखरा–२० भलाम बस्ने अशोक गुरुङ र नन्दबहादुर गुरुङ समेतबाट ४ लाख ५० हजार रुपैयाँको ३३ वटा खसीबोका पनि उनले उसैगरी लगेका थिए ।

कात्तिक १९ गते मुन्नाको ठगी अर्को थलो पर्वतको पैंयु बनेको थियो । त्यहाँ हिमलाल सापकोटासमेत गरी ११ जना व्यक्तिबाट आशिष गुरुङ र मुन्ना मिलेर ४ लाख ९० हजारको पैसा नै नभएको चेक दिएर २२ वटा खसीबोका ठगी गरेका थिए ।

यही पुस १३ गते बन्दीपुरको याम्पाफाँटका किसानबाट डेढ लाख रुपैयाँको आफ्नै र उमेश परिवारको नामको चेक दिएर १३ वटा खसी लिएर हिँडेका थिए । पोखरामा गाडी चोरी गरेको र चितवनमा समेत ठगी गर्ने क्रममा पक्राउ परेका मुन्नाविरुद्ध अझै धेरै जाहेरीसमेत आउन सक्ने प्रहरीले जनाएको छ ।

यसअघि नै मुन्नाविरुद्ध २०७१ सालदेखि १४ वटा चोरी तथा ठगीका मुद्दा चलेको पाइएको छ । २०७१ मै मुन्नाविरुद्ध रुपन्देही बुटवलमा ३ वटा मुद्दा चलेको रेकर्डमा देखिएको प्रहरीले जनाएको छ ।

‘उनीविरुद्ध यसअघि चलेका मुद्दाको रेकर्डमा १४ वटा देखिएको छ भने जेनजी आन्दोलनका क्रममा फरार भएपछि ६ वटा मुद्दा लाग्ने देखिन्छ भनेर जाहेरी अझै आउने क्रम छ । उनको चोरी तथा ठगी धन्दाको संख्या अझै बढ्न सक्ने देखिन्छ,’ कास्की प्रहरी प्रमुख एसपी कार्कीले अनलाइनखबरसँग भने, ‘मुन्ना यति चलाख देखिएको छ कि उसले प्रहरीले कसरी अनुसन्धान गर्छ भन्नेसमेत ख्याल गरेर चोर्ने र ठगी गर्ने गथ्र्यो ।’

मुन्नाले प्रत्येक पटक १ हजारको मोबाइल र सिम फेर्ने, अनि चोरीलगत्तै अर्को फेरि हाल्ने देखिएको छ । २०७७ सालमा मुन्नाविरुद्ध कास्कीमा २ वटा बैंकिङ कसुरमा मुद्दा चलेको थियो ।

२०७८ सालमा पनि ठगी र बैंकिङ कसुरकै मुद्दा चलेको देखिएको छ भने २०८० मा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्दा चलेको पाइएको छ । २०८० मै उनविरुद्ध अर्को बैंकिङ कसुरको मुद्दासमेत चलेको प्रहरीको भनाइ छ । २०८१ मा मात्र फकिरविरुद्ध ४ वटा ठगी मुद्दा चलेको थियो ।

‘उनीविरुद्ध मुद्दा चलेको ठाउँमा के फैसला भएको थियो, उनलाई अन्य ठाउँमा कैद सजाय थियो कि थिएन, कति जरिबाना तोकिएको थियो भन्ने विवरणसमेत संकलन गरेर थप अनुसन्धान अगाडि बढाउँदै छौं,’ एसपी कार्कीले भने, ‘फकिरको ठगी धन्दाले आतंक नै सिर्जना गरेको थियो ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?