राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (DNPWC) र प्रदेश वन निर्देशनालय लुम्बिनी प्रदेशको पछिल्लो तथ्याङ्क अनुसार २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भए पश्चात ६ जनाको मानव–वन्यजन्तु द्वन्द्वबाट मृत्यु भएकोमा चालु आर्थिक वर्षको हालसम्ममा बाँकेमा ४ जनाको मृत्यु भएको छ । अझ बर्दियामा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ । यी तथ्याङ्कले मानव वन्यजन्तुको समस्याको विकराल अवस्था देखाउँछ । मानव–वन्यजन्तु द्वन्द्व प्रभावित जिल्लाका बासिन्दाहरूमा निकुञ्ज र वन्यजन्तुप्रति आक्रोश यति चुलिएको छ कि उनीहरू वन्यजन्तु पाल्ने कार्यालय नै खारेज गर्नुपर्ने र हानिकारक प्रजातिको सफाया गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।
यो जनआक्रोशको प्रतिध्वनि देशको उच्च राजनीतिक नेतृत्वसम्म पुगेको देखिन्छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ पुस महिनामा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘कोप–२९ सम्मेलनको समीक्षा कार्यक्रम’ मा बोल्दै ‘मान्छे खुवाएर बाघ पाल्न सकिँदैन’ भनी दिनुभएको अभिव्यक्तिले पनि यस समस्याको गहिराइ र राज्यको बाध्यतालाई उजागर गरेको छ । देशको कार्यकारी प्रमुखबाटै आएको यो भनाइले एकातिर संरक्षणको विश्वव्यापी मान्यता र अर्कोतिर नागरिकको सुरक्षाबीचको द्वन्द्वलाई पेचिलो रूपमा सतहमा ल्याइदिएको छ ।
तसर्थ, यस आलेखले भावनामा मात्र नबगी समस्याको भित्री पाटो, बहस र नालिबेली खोतल्ने प्रयत्न गरेको छ ।
नेपालको वर्तमान अवस्था
नेपालमा अहिले चितुवा, बाघ, हात्ती लगायतका विभिन्न वन्यजन्तुहरु समस्याग्रस्त रहेको देखिन्छ । नेपालको स्थिति हेर्दा सरदर एक वर्षमा ३० मानिसको मृत्यु भएको देखिन्छ भने राहतमा १५ करोड जति खर्च भएको छ । पूर्वी नेपालको झापा र मोरङ तथा पर्सामा हात्ती मुख्य समस्याग्रत वन्यजन्तुको रुपमा देखिएको छ भने बाँके–बर्दिया कम्प्लेक्समा चितुवा, बाघको समस्या बढी देखिएको छ । किन कुनै वन्यजन्तु समस्याग्रस्त हुन्छ त ? यसको प्रष्ट जवाफ नभए तापनि केही अध्ययन र विज्ञको रायलाई हेर्ने हो भने निकुञ्ज/संरक्षण क्षेत्र शिकार प्रजातिको र आहाराको अभाव तथा पानीको कमीले गर्दा वन क्षेत्र बाहिर आउने तथा हाल तराईमा देखिएको चितुवाको समस्याको हकमा चाहिँ संरक्षित क्षेत्रभित्र बाघको ंसंख्या बढेकाले चितुवा बाहिर आएका हुन् कि भन्ने अनुमान गर्ने गरिएको छ ।
अझ, बाघको हकमा आफ्नो इलाका हुने र आफ्नो इलाकामा अर्को बाघ आउँदा लडाइँ हुने र हार्ने बाघले उक्त क्षेत्र छोडेर अर्को ठाउँमा जाने भएकाले भित्रका क्षेत्रमा अरु बाघ नै भएकाले बाहिरी क्षेत्रमा जाँदा बढी द्वन्द्व भएको पो हो कि भन्ने पनि छ तर यसमा वृहत अनुसन्धान र विष्लेषण चाहिँ गर्नुपर्ने देखिन्छ ।
वन्यजन्तुले मानिसलाई आक्रमण गर्ने कुरालाई दुई दृष्टिकोणले हेर्नु पर्ने हुन्छ– आकस्मिक र इरादायुक्त । आकस्मिक भनेको वन्यजन्तु र मानव बिचको अकस्मात भेट भएको अवस्थामा सबै जीबमा भएको लडाइँ वा भाग्ने प्रणाली अन्तर्गत धेरैजसो भाग्ने गरेकोमा कथम कदाचित रुपमा मानवलाई आक्रमण गर्छ र यसको निराकरणको लागि मानव व्यवहारको सुधारबाट मात्र सुरक्षित हुन सकिन्छ । अर्कोतर्फ इरादायुक्त आक्रमण भनेको वन्यजन्तु मानिसको घर परिसरमा आएर वा ढुकेर नै मानवलाई आक्रमण गर्ने हो । यसबाट सुरक्षित हुन वन्यजन्तु केन्द्रित हस्तक्षेप गर्नुपर्ने हुन्छ ।
किन मानव वन्यजन्तु द्वन्द्व हुन्छ ?
अब लागौँ किन मानव वन्यजन्तु द्वन्द्व हुन्छ ? एउटा कुरामा के स्पष्ट हुनुपर्छ भने पृथ्वी सबैको साझा घर हो । अझ, आधुनिक मानव (होमोसेपियन्स) देखापरेको ३ लाख वर्ष जति हुँदै गर्दा हात्ती ५ करोड वर्ष पहिले र बाघ–भालु २०/३० लाख वर्ष पहिले यस पृथ्वीमा आएका हुन् । अर्को ध्रुव सत्य के हो भने जसरी हरेक आमाले आफ्ना हरेक सन्तानलाई समान व्यवहार गर्छिन् त्यसरी नै धरती माताले उनका हरेक सन्तानलाई बराबरी व्यवहार गर्छिन् अर्थात् धरतीमा मानव र वन्यजन्तुले खान पाउने, बाँच्न पाउने हक समान छ ।
आदिमकालमा मानव र वन्यजन्तु दुवै जंगलमा बस्थे । बाघ, सिंह तथा भालुजस्ता जनावरले मानिसलाई आफ्नो आहाराको रुपमा लिन्थे । आजभन्दा करिब १२ हजार वर्ष पहिले मानिस कृषि उब्जाउने तथा जनावरहरुलाई घरपालुवा बनाउन थाल्यो । मानवले विस्तारै आफूलाई सर्वज्ञानी करार गर्यो र संसारमा भएका सबै चिज एकातर्फ निमिट्यान्न पार्न उद्यत भयो भने अर्कोतर्फ जंगलबाट बस्तीमा बसाइँ सार्यो ।
ठ्याक्कै यहीँनेर समस्याको जड सुरु भएको थियो । हामी प्रकृतिको नियम मान्न छाड्यौ अनि सहअस्तित्व स्वीकार नगरी मानवलाई विशिष्टिकृत प्राणी भन्न थाल्यौँ । यसलाई मानव केन्द्रित दृष्टिकोण भनियो । कालान्तरमा एउटा मौन सहमति के भएको देखिन्छ भने वन वन्यजन्तुको र बस्ती मानवको ।
विस्तारै मानवले सो मौन सहमति पनि तोडी जब वनमा पनि हस्तक्षेप गर्न थाल्यो अनि समस्याले विकराल रुप लियो । वनमा भएका वन्यजन्तुका आहार पनि सबै मानिसले खाइदिने वा हुर्कन मिल्ने वातावरण नबनाइदिने तथा प्रकृतिको सन्तुलन बिगारी उनीहरुको बासस्थान क्षतविक्षत बनाई धरतीमाताको नियमबाट पनि बिचलित हुने भएपछि वन्यजन्तु पनि आहाराको खोजीमा वन बाहिर आउन थाले ।
वास्तविकता
इतिहास बुझेपछि वर्तमानतर्फ जाँदा अहिलेको घटना कस्ता प्रकृतिका छन् भन्नेतर्फ पनि जानुपर्ने हुन्छ । बर्दियामा दुई जना साथीहरुले चितुवा देख्छन् । एउटाले ढुङ्गाले चितुवालाई हान्छ । अर्कोले सेल्फी खिच्छ । सोही क्रममा एकजनालाई चितुवाले आक्रमण गर्छ ।
अर्कोमा घटनामा सासु–बुहारी र नाती सँगै बसेर तोरी गोड्दै गरिरहेकोमा बुहारी र नाती घर फर्किंदा बुढी सासु मेलो सकाउन रातिसम्मै बस्दा उनीमाथि आक्रमण हुन्छ ।
यसैगरी बाँके निकुञ्जको क्षेत्र अन्तर्गतको एक घटनामा श्रीमतीलाई गाउँमा बाघ आएको बारेको निकुञ्जको सूचना मोबाइलबाट सम्प्रेषण गरी सुरक्षित हुन सुझाउँछन् । आफूचाहिँ जंगलको बाटो एक्लै घर जान खोज्छन् । बाघको आक्रमणमा पर्छन् र ज्यान गुमाउँछन् ।
यी तीनवटै उदाहरण मानव व्यवहारसँग सम्बन्धित छ । मानिसको व्यवहारमा परिवर्तन आएमा यी समस्या समाधान हुन सक्छन् । आफू सुरक्षित हुने, जोखिम क्षेत्रमा एक्लै नहिँड्ने, प्रभावित क्षेत्रमा घर बाहिर बच्चाहरुलाई एक्लै नछाड्ने र समूहमा हिँड्ने गर्यौँ भने आहाराको लागि नभएर आकस्मिक रुपमा हुने मानव वन्यजन्तुका द्वन्द्वका घटनामा ७०/८० प्रतिशत कमी आउने विज्ञहरुको मत देखिन्छ ।
जनावरलाई यसो नगर भनि बुझाउन नसकिने भएकाले चेतनशील मानिसले नबुझी सुखै छैन । जब हावाको वेगलाई नियन्त्रण गर्न नसक्दा हामी आफ्नो गन्तव्यमा पुग्नको लागि हाम्रो डुङ्गाको पाल फेर्छौं त्यसरी नै हाम्रो व्यवहार नसुधारी धर छैन ।
अर्को तर्फ, आहाराको खोजीको क्रमको अन्तिम विकल्पको रुपमा मानिसलाई र उसको पशुधनलाई आहाराको रुपमा देख्ने वन्यजन्तुको व्यवस्थापनको लागि वन क्षेत्र भित्र बासस्थान, पर्याप्त आहाराको व्यवस्था र पानीको उचित व्यवस्थापन गर्नु आजको टड्कारो आवश्यकता हो । यसरी समग्रमा वन क्षेत्र भित्र बासस्थान व्यवस्थापन र बाहिर आएको खण्डमा जनसंख्या व्यवस्थापनमा लाग्नु पर्ने देखिन्छ ।
समस्याको समाधान मानव–वन्यजन्तु सहअस्तिव
मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणमा दीर्घकालीन रुपमा उपचारात्मकबाट निरोधात्मकतर्फको यात्रामा जानुपर्ने छ तर हालका लागि दुवै विधि अपनाउने रणनीतिमा वन मन्त्रालय र सम्बद्ध निकायहरु रहेका छन् । १६ प्रजातिका वन्यजन्तुबाट भएको मानव तथा पशु धन र वालीबाट भएको क्षतिको राहतको व्यवस्था र मृत्युको हकमा १० लाखसम्म राहत प्रदान गर्ने प्रावधान छ । राहत पाउने अवधि घटाउनका लागि सम्बन्धित डिभिजन वन कार्यालयबाटै राहतको व्यवस्था हुनु पर्ने देखिन्छ ।
अर्कोतर्फ झुठो दाबीले गर्दा असली पीडितलाई पनि कतिपय अवस्थामा बाली तथा पशुधनको क्षतिको हकमा राहत उपलब्ध गराउन जटिलता भएकाले पनि बिमा विधिमा जानुपर्ने देखिन्छ ।
त्यसैगरी वन विकास कोषको रकम समस्याग्रस्त स्थानका मानिसको जग्गा खरिद गरी बस्ती स्थानान्तरण वा पुनर्बासका लागि खर्च गर्न सकिने देखिन्छ । हरेक प्रदेशमा आत्मनिर्भर पर्यटनमुखी उद्धार केन्द्र स्थापना गर्नु आजको आवश्यकता हो । यी केन्द्रमा समस्याग्रत वन्यजन्तुको व्यवस्थापन र यसको परिपुरकको रुपमा विभिन्न पालिकाहरुमा मापदण्ड बमोजिमका नियमित अनुगमनमा आधारित प्राणी उद्यानहरुको स्थापनमा पनि आजको अनिवार्यता हो ।
वन मन्त्रालयका कर्मचारी प्राविधिक हुन्छन् । उनीहरु विज्ञान प्रविधिका आधारशीलामा रही कार्यहरु गर्दछन् । तर आजका दिनमा स्थानीय, राजनैतिक नेतृत्व र केही मिडियाकर्मी सहितबाट यो समस्यालाई गिजोलिएको देखिन्छ । देशको कार्यकारी प्रमुखले मानिस खुवाएर बाघ पाल्न सकिन्न भनि भड्काउ मन्तव्य दिने, पालिका प्रमुखले वन कर्मचारीको बाघ भन्दिने अनि मन्त्रालयहरुबाट वन्यजन्तुको प्रभावित क्षेत्रमा वातावरणीय परीक्षण नगरी विकासको नाममा उनीहरुको बासस्थान क्षतविक्षत गरिदिने र मानव वन्यजन्तु द्वन्द्वको नियन्त्रणका लागि आवश्यक बजेटको बिनियोजन नगरिदिँदा समस्या बल्झेको छ ।
चितुवा वा वन्यजन्तु देखिन्छ भनी पुरा वनको झाडी हटाउँदा उसको लुक्ने ठाउँ र आश्रयस्थलमा समेत क्षति गरी समस्या बल्झाउने र एक निकायले अर्को निकायलाई दोष दिने गर्दा समन्वय र सहकार्य गर्नुपर्ने ठाउँमा मानव–मानव द्वन्द्व बढ्ने निश्चित प्राय छ ।
वन कर्मचारी मानव वन्यजन्तुको द्वन्द्व नियन्त्रणका बाधक होइनन् साधक हुन् । अनि सामाजिक तथा राजनैतिक सहयोग भएमा यसको समाधान नै नहुने विषय चाहिँ पक्कै होइन ।
वन कर्मचारीहरुलाई दबाबमा नभई सहयोगका साथ र जनप्रतिनिधिहरुले र मिडियाकर्मीबाट मानव आचरण परिवर्तनले दुई तिहाइ भन्दा बढीले घटना न्यूनीकरण गर्न सकिने तथ्यलाई बृहत रुपले प्रचार प्रसार गर्ने र मानव केन्द्रित सोच त्यागी प्रकृति–केन्द्रित बनाउनु अपरिहार्य छ ।
राहत निर्देशिका संशोधन गरी डिभिजन वन कार्यालयबाट सोझै राहत वितरण गर्न सकिने अवस्था आएमा आलो घाउमा दिइएको राहतले केही मल्हमको कार्य गर्ने छ । हत्या, छनोट गरी मारिने प्रकृया, बन्ध्याकरण प्राकृतिक विकल्पहरु नभएकाले हामीले सह–अस्तित्व र सद्भावपूर्ण जीवनको बाटो रोज्नुपर्छ । मानव वन्यजन्तु द्वन्द्वका घटना उन्मूलन नै गर्न नसके तापनि कर्मचारीको सिप विकास र पर्याप्त श्रोत उपलब्ध गराई प्रविधिमैत्री निरोधात्मक तथा उपचारात्मक उपायको अवलम्बन गर्ने तथा प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै मोडालिटीमा बाँदर हेर्ने मानिस खटाइ यसको न्यूनीकरण र अनुकुलनतर्फ लाग्नु आजको टड्कारो आवश्यकता हो ।
(लेखक न्यौपाने र सुवेदी वरिष्ठ वन अधिकृत हुन् ।)
प्रतिक्रिया 4