News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा नवौं राष्ट्रिय र्याफ्टिङ तथा १४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप सुरु भएको छ।
- कायाक स्लालोम रन-१ मा विजय माझीले १२४.५१ स्कोरसहित पहिलो स्थान हासिल गर्नुभएको छ।
- र्याफ्टिङ स्प्रिन्टमा नेपाल र्याफ्ट एण्ड कायक क्लबले ८०.४२ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान पाएको छ।
१८ माघ, काठमाडौं । चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा आइतबारदेखि नवौं राष्ट्रिय र्याफ्टिङ तथा १४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन सम्पन्न कायाक स्लालोम रन-१ मा विजय माझीले निर्धारित दूरी १२४.५१ स्कोरका साथ पूरा गर्दै शीर्ष स्थान हासिल गरेका छन् । उनलाई पछ्याउँदै इयान (१२६.३८) दोस्रो, आशिष रानामगर (१२६.९२) तेस्रो, रन्जन कडेल (१३२.८५) चौथो र रविन्द्र चेपाङ (१३७.६४) पाँचौँ स्थानमा रहेका छन् ।
त्यसैगरी, र्याफ्टिङ विधातर्फको ‘र्याफ्ट स्प्रिन्ट’ मा नेपाल र्याफ्ट एण्ड कायक क्लब (फिस्लिङ ए) ले ८०.४२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै पहिलो स्थान प्राप्त गरेको छ ।
यो विधामा नेपाल कायक क्लब ८२.३६ सेकेन्डका साथ दोस्रो र भोटेकोशी एडभेन्चर क्लब (सी) ८२.७६ सेकेन्डका साथ तेस्रो स्थानमा रहे । प्याडल नेपाल (बी) र र्याफ्टिङ एडभेन्चर नेपालले क्रमशः चौथो र पाँचौँ स्थान हासिल गरेका छन् ।
त्यसअघि प्रतियोगिताको औपचारिक उद्घघाटन नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले गर्नुभएको थियो । बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा आयोजित उक्त च्याम्पियनसिपलाई आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि पहिलो चरणको खेलाडी छनोटका रूपमा लिइएको आयोजकले जनाएको छ ।
क्यानोइङ स्लालोम विधामा उत्कृष्ट ५ भित्र पर्न सफल खेलाडीहरूलाई जापानमा हुने एसियाली खेलकुदको पहिलो चरणको प्रशिक्षण र छनोट प्रक्रियामा समावेश गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पहिलो दिनको प्रतिस्पर्धामा ५१ जना खेलाडीहरूले प्रदर्शन गरेका थिए । प्रतियोगिता आगामी मंगलबारसम्म चल्नेछ ।
दुवै विधातर्फका उत्कृष्ट टोली र खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् ।आयोजकका अनुसार क्यानोइङतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् भने र्याफ्टिङ प्रथम हुने टिमले ६५ हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया 4