१९ माघ, काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रिय सभाको सम्बोधनलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन् ।
उनीहरूले प्रधानमन्त्रीको सम्बोधनमा कुनै ठोस कुराकानी नआएको बताए । प्रधानमन्त्रीले आफ्नो कार्यकालको संकटपूर्ण अवस्था, निर्वाचन व्यवस्थापनका विषयमा जानकारी गराएको सांसदहरूको भनाइ छ ।
राष्ट्रिय सभा सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्रीले जेनजीको दबाबमा परेको र अन्य मन्त्रीहरू पनि त्यसै दबाबमा रहेको उल्लेख गरेको बताइन् ।
‘उहाँले आफू जेनजीको दबाबमा आएको, अरु मन्त्री पनि जेनजीको दबाबमा आएको र अहिले चुनाव लड्न स्वतन्त्र रुपले गएको भन्नुभयो,’ उनले भनिन्, ‘भ्रष्टाचार नियन्त्रण, निर्वाचनको कुरामा राम्रोसँग कुरा गरेका छौं भन्नु भयो । नयाँ ठोस कुरा आएन ।’
सांसद विष्णुकुमारी सापकोटाले प्रधानमन्त्रीले संकटकालीन अवस्थामा आएको र आफ्ना पीडाहरू व्यक्त गरेको महशुस भएको बताइन् ।
‘प्रधानमन्त्रीजीले आफू संकटकालीन अवस्थामा आउनु भयो । उहाँले आफ्ना पीडाहरू व्यक्त गरेको जस्तो मैले महशुस गरेँ । उहाँको अब छोटो समय भएकाले उहाँ एउटा निर्वाचन गराउने मन्त्री मण्डल थियो, उहाँ एक प्रकारले सफल हुनुभएको छ,’ उनले भनिन् ।
सांसद विष्णुदेवी पुडासैनीले प्रधानमन्त्रीको सम्बोधनले ऊर्जा प्रदान गरेको तर मन्त्रीहरूको बहिर्गमनलाई सहज लिनु गम्भीर भएको बताइन् ।
‘हामीलाई एक किसिमले उर्जा नै प्रदान भयो । मन्त्रीहरू जानुभएको कुरालाई सहज रुपमा लिनुभयो । हामीलाई असहज जस्तो लाग्यो । निर्वाचन गराउन आएका मन्त्रीहरू फटाफट जाँदा असर त परेको छ । त्यो खास केही होइन भन्नुभयो,’ उनले भनिन् ।
यी प्रतिक्रियाहरूले प्रधानमन्त्रीको छोटो कार्यकाल, निर्वाचन व्यवस्थापन र आन्तरिक दबाबका विषयहरूमा राष्ट्रिय सभा सदस्यहरूको मिश्रित धारणा झल्काउँछ ।
भेटमा नयाँ ठोस निर्णय वा घोषणा नआए पनि सांसदहरूले प्रधानमन्त्रीको निर्वाचन गराउने प्रयासलाई सकारात्मक रूपमा लिएका देखिन्छ ।
प्रतिक्रिया 4