२० माघ, काठमाडौं । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने भएको छ । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरणको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ ।
पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले कल्याणकारी समाजका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णयअनुसार सोमबार शहीद परिवारलाई वितरण गर्ने रकमसहितको कार्यक्रम खाका अर्थ मन्त्रालयमा प्राप्त भएको बुझाएको मन्त्रालय उच्च स्रोतले बतायो ।
‘पहिला प्रचलित कानुन अनुसार उपलब्ध गराउने निर्णय क्याबिनेटले गरेको थियो । तर जीवन निर्वाह भत्ता कर्मचारीले तलब पाएजसरी पाउनुपर्ने माग जेनजीहरुको थियो । त्यसपछि फेरि मन्त्रिपरिषद बैठकले अनुदान रकम दिने भनेर निर्णय ग¥यो । अहिले रकमसहित त्यही कार्यक्रमको खाका सोमबार अर्थमा पेस भएको हो,’ स्रोतले भन्यो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो । तीमध्ये ४२ जनालाई सरकारले शहीद घोषणा गरेको छ ।
शहीद घोषणा गरिएकाका परिवारलाई सरकारले १० वर्षसम्म मासिक २१ हजार आठ सय रुपैयाँको दरले वितरण गर्ने तयारी गरेको छ । प्रत्येक वर्ष चाडबाड भत्तासहित १३ महिनाको सुविधा जेनजी शहीद परिवारले पाउने छन् । ‘४२ जना शहीद परिवारलाई मासिक २१ हजार आठ सय रुपैयाँ १३ महिनासम्म उपलब्ध गराउँदा ११ करोड ९० लाख २८ हजार रुपैयाँको हिसाब आयो,’ मन्त्रालय स्रोतले भन्यो ।
प्रतिक्रिया 4