२० माघ, काठमाडौं । दक्षिण कोरियाली मुलका अमेरिकी नागरिक योङ्हा लीलाई अध्यागमन विभागले चार दिनअघि शनिबार काठमाडौंबाट पक्राउ गर्यो ।
उनै ली तेस्रो दिनमै अध्यागमनको हिरासतबाट मुक्त भए । अध्यागमन कानुनमात्रै होइन, प्रारम्भिक अनुसन्धानमै ठगीसम्बन्धी कसुर आकर्षित हुने देखिएका उनी अहिले अध्यागमनको हिरासतबाट बाहिरै छन् ।
यस विषयमा भने अध्यागमनले उनको स्वास्थ्यलाई कारण देखाएको छ । ‘उहाँ क्यान्सरको रोगी हुनुहुँदो रहेछ । त्यही भएर वकिलको जिम्मा लगाएर तारेखमा छाडेका छौं,’ अध्यागमन अधिकारीहरू भन्छन् ।
लीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम लिँदै रकम उठाउने गरेको समेत देखिएको छ । यो विषयमा उनीमाथि ठगीसम्बन्धी कसुरमा प्रहरीबाट अनुसन्धान हुने देखिन्छ ।
लीले अन्तराष्ट्रियस्तरमा ‘फण्ड’ उठाउने उद्देश्यले कलेजका वेबसाइटहरूमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम, तस्बिर राख्दै ‘आवर डाइनामिक टिम’ भनेर उल्लेख गरेका थिए ।
जहाँ केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनाद चौधरीलगायत १३ जनाको नाम राखेका थिए । उनी पक्राउ परेसँगै अहिले यो वेबसाइट ‘निकलेज इडीयू एनपी’ खुल्दैन ।
यसका साथै लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपालीहरूको नाम समेत राखेको भेटिएको थियो ।
मिसन धर्म प्रचार
लीको नेपाल प्रवेशको उदेश्य नै धर्म प्रचार रहेको देखिएको छ । उनले नेपालमा चर्च प्लान्टिङ र मिसनरी क्रियाकलाप गर्ने गरेको अध्यागमनको एक अनुसन्धान अधिकृत बताउँछन् ।
सन् २०१४ नोभेम्बर १८ को डिपार्चर रेकर्डमा उनको नाम देखिए पनि उनी सन् २०११ देखि नै नेपालमा धर्म प्रचारमा संलग्न रहेको देखिएको अध्यागमन स्रोत बताउँछ ।
उनको पृष्ठभूमि पर्वातरोहण र व्यापार भए पनि अहिले भने क्रिश्चियन मिसनरीसँग आबद्ध रहेको देखिएको छ । सन् २००८ मा न्यूयोर्कमा ‘यस इन हिम चर्च’ स्थापना गरी ‘द प्लान्टर’ नामक संस्थामार्फत अमेरिकामा विभिन्न चर्चहरू प्लान्ट गरेका लीले आफ्नो अभियानलाई सन् २०११ देखि केन्द्रीत गरी चर्चहरू प्लान्ट सुरु गरेको अध्यागमनका एक अधिकारीले अनलाइनखबरलाई बताए ।
उनले ‘द प्लान्टर नेपाल’ नामक संस्था पूरानो बानेश्वरमा खडा गरेको समेत देखिन्छ ।
उनै ली विकिपावर्सेशनल चर्च अन्तर्गतको ग्लोबल अलाइन्स अफ वर्ल्ड प्रेस्बिटेरियन चर्च संस्था अन्तर्गत सन् २०२१ मा नेपालको नयाँ प्रेस्बिटेरियन परिषद्को अध्यक्षको बनेको समेत देखिएको छ । २२ मार्च २०२१ मा चितवनमा भएको भेलाबाट उनी अध्यक्ष चुनिएका थिए ।
‘द प्लान्टर’ नामक संस्थाले सन् २०११ मा काठमाडौंमा पहिलो ‘कोरियन भासा विद्यालय’ खोल्ने घोषणा समेत गरेको थियो । यसको मुख्य उदेश्य नै क्रिश्चियन धर्म प्रचार रहेको थियो ।
केही दिनअघि मात्रै अध्यागमन विभागले एक अमेरिकनलाई क्रिश्चियन धर्म प्रचारको आरोपमा पक्राउ गरेको थियो ।
सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्यालभरी सर्भिस सेन्टर प्रालि स्थापना गरेका ती अमेरिकनले कम्पनीको ठेगाना भने ललितपुर–१८ सैंबु उल्लेख गरेका थिए । उनै अमेरिकनले गोदावरी नगरपालिकामा घर नै भाडामा लिएर क्रिश्चियन धर्मसम्बन्धी गतिविधि सञ्चालन गरेको पाइएको थियो ।
ती अमेरिकनले अवैध रूपमा चलाएको बाल गृहमा १२ जना बालबालिकालाई आश्रय दिइएको थियो । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई भने क्रिश्चियन धर्मसम्बन्धी गतिविधिमा लगाएको खुलेको विभागका एक अधिकारी बताउँछन् ।
अध्ययन र व्यावसायिक भिसा लिएर बसेका उनले पक्राउ परेपछि प्रशासनलाई ‘हेट स्पिच’ नै दिएको विभागका अधिकारीहरू बताउँछन् ।
नेपाल प्रहरीको विशेष ब्यूरोमा लामो समय बसेर अवकाश पाएका पूर्वएआईजी टेकप्रसाद राई आफ्नो प्रभुत्व जमाउन धर्मको प्रचार–प्रसारका घटनाहरू बढ्दै गएको बताउँछन् ।
‘जसरी काँचो माटोलाई जस्तो आकार दियो त्यस्तै बनाउन सकिन्छ नि । त्यसैगरी अशिक्षित मान्छेको दिमागमा जे भर्न सकियो उसले त्यही सत्य सम्झन्छन् । त्यही शैलीमा अहिले अशिक्षित र गरिबीहरू केन्द्रित धर्म प्रचार हुने गरेका छन् । यसको मुख्य उदेश्य नै अन्तत: आफ्नो प्रभुत्व जमाउनु हो,’ राई भन्छन् ।
अवैध कलेज
सुरुमा पर्यटक भिसामा नेपाल आएका ली सन् २०१४ को जुलाई ३ देखि सन् २०१५ को जुन १ सम्म विजनेस भिसामा नेपालमा बसेका थिए । आर्थिक वर्ष २०७१/७२ मा लीले १०० जनालाई कोरियन, २०० जनालाई अंग्रेजी, १०० जनालाई जापानी, १०० जनालाई चिनियाँ भासा सिकाउने भन्दै कमसडि नेपाल प्रालि नामक कम्पनी दर्ता गरेर बिजनेश भिसा लिएको देखिन्छ ।
तर यो पछि पनि उनी पटक पटक पर्यटक भिसामा नेपाल आएका थिए । अहिले पक्राउ पर्दा पनि उनी पर्यटक भिसाकै रुपमा नेपाल बसेका थिए । अनि अवैध रुपमा कलेज स्थापना गरेर प्रतिष्ठित व्यक्तिको नाम, तस्बिर राख्दै फण्ड उठाउने भन्दा गरेको देखिएको अध्यागमनका निर्देशक रामचन्द्र तिवारीले बताए ।
लीले ललितपुरको सानेपामा नेपालकै पहिलो एमओयु ग्यारेन्टेड क्रिश्चियन कलेज भन्दै नेपाल इन्टरनेशनल कलेजको नाममा प्रचारप्रसार गर्दै रकम उठाउने काम गरेको देखिएको छ ।
यो कलेज उनले त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रहेको बताउने गरेका छन् । तर यो आधिकारिकता भने पुष्टि भएको छैन । जबकि एउटै कलेजलाई दुई विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हुने प्रावधान समेत छैन ।
उनी पक्राउ परेसँगै यो कलेजको वेबसाइट एनआईकलेज.ईडीयू.एनपी खुल्दैन । जहाँ उनले स्नातक विद्यार्थीहरूको सूचीमा केपी शर्मा ओली, शेरबहादुर देउवा, गगन थापा, शेखर कोइराला, झलनाथ खालको समेत नाम राखेका थिए ।
प्रतिक्रिया 4