२० माघ, काठमाडौं । नेकपा एमालेका नेता नवराज सिलवालले हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्नेगरी सरकार अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल कानुन समाजले मंगलबार विज्ञहरूसँग प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा आयोजना गरेको छलफलमा उनले मौसम लगायतको कारण हिमाली क्षेत्रमा निर्वाचन सार्नुपर्ने बताएका हुन् ।
नेता सिलवालले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारको तयारीले अब मुलुक निर्वाचनमा प्रवेश गरिसकेको निष्कर्षमा पुग्न सकिने बताए ।
हिमाली क्षेत्रमा भौगोलिक चुनौतीबाहेक अब अन्य सुरक्षा चुनौतीका कारण निर्वाचन रोकिने अवस्था नरहेको उनले बताए । संसद् पुन:स्थापनाको लागि सर्वोच्च अदालतमा पेश भएको मुद्दाको सुनुवाइ नभएको भने असन्तुष्टी जनाए ।
‘निर्वाचन चाँही हुने भयो, मलाइ के लाग्छ भने हिमाली क्षेत्रमा चाँही दोस्रो चरणमा निर्वाचन हुने ढंगले सरकार जानुपर्छ भन्ने परिस्थिति निर्माण हुनसक्छ । त्यो बाहेक अरु खालका सुरक्षा चुनौतीहरूले निर्वाचन रोकिने अवस्था छैन,’ सिलवालले भने ।
अदालतले मुद्दा आइसकेपछि त्यसलाई ‘एस अर नो’ के हो भन्ने विषयमा स्पष्ट रुपमा समयमा नै फैसला गर्न आवश्यक रहेको उनले बताए । सिलवालले बंगलादेशमा सन् २०२४ को अगस्तमा भएको हिंसा र त्यसपछि बनेको अन्तरिम सरकारले दुई वर्षसम्म पनि निर्वाचन गर्न नसकेको उल्लेख गरे ।
‘निर्वाचनको लागि हामी धेरै अगाडी बढिसकेका छौं । राजनीतिक दलहरू, निर्वाचन आयोग, सुरक्षा निकाय, सरकारको जुन खालको तयारी छ, यसले मुलुक निर्वाचनमा गएको भन्ने निष्कर्ष निकाल्न सकिन्छ । सर्वोच्च अदालतमा पेश भएको मुद्दामा अदालतले बोल्दिनुपर्थ्यो । कोर्ट अफ ल ले चाहीँ ईस्यू आईसकेपछि त्यसलाई एस अर नो के हो भन्ने विषयमा चाहीँ बोदिदिएको भए हाम्रो न्यायलयको महत्व र गरिमा बढ्ने थियो,’ उनले भने ।
उनले निर्वाचनपछि आउने परिणाम भने मिश्रित हुने हुँदा जेनजी आन्दोलनमा उठेका मुद्दाहरू सम्बोधन गर्न नसकिने बताए ।
प्रतिक्रिया 4