News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने तेस्रो विश्वविद्यालय खेलकुद माघ २२ र २३ गते सञ्चालन हुनेछ।
- प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, भलिबल र बास्केटबलका १९ स्वर्ण, १९ रजत र २७ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।
- नौ विश्वविद्यालयका २७९ खेलाडी, ४५ प्रशिक्षक र ९ टोली नेता गरी कुल ३३३ जनाको सहभागिता रहनेछ।
२० माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने तेस्रो विश्वविद्यालय खेलकुदको सम्पूर्ण तयारी पूरा भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् आयोजक, काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनल प्रालि सह–आयोजक रहेको प्रतियोगिता २०८२ माघ २२ र २३ गते काठमाडौं विश्वविद्यालयको प्राङ्गण, धुलिखेलमा सञ्चालन हुनेछ।
प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, भलिबल र बास्केटबलका प्रतिस्पर्धा हुनेछन्। एथलेटिक्सतर्फ छात्र तथा छात्राको १०० मिटर, २०० मिटर, ४०० मिटर दौड र लङ जम्प समावेश छन्। ब्याडमिन्टन र टेबलटेनिसमा सिङ्गल तथा डबल्स, बास्केटबलमा ३×३ र भलिबलमा छात्रतर्फ मात्र प्रतिस्पर्धा गराइनेछ।
प्रतियोगितामा जम्मा १९ स्वर्ण, १९ रजत र २७ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। समग्र उत्कृष्ट प्रदर्शन गर्ने विश्वविद्यालयलाई रनिङ शिल्ड प्रदान गरिनेछ भने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विश्वविद्यालयलाई ट्रफी प्रदान गरिनेछ। साथै प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक इभेन्ट्समा व्यक्तिगत तथा समूहगततर्फ प्रथम हुने खेलाडीलाई जनही ३ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ।
प्रत्येक विश्वविद्यालयबाट एथलेटिक्स छात्र ३ र छात्रा ३, ब्याडमिन्टन छात्र २ र छात्रा २, टेबलटेनिस छात्र २ र छात्रा २, बास्केटबल छात्र ४ र छात्रा ४ तथा भलिबल छात्र ९ गरी कुल ३१ खेलाडी सहभागी हुनेछन्।
प्रत्येक टोलीमा पाँच खेलका लागि पाँच प्रशिक्षक र एक टोली नेता रहनेछन्। नौ विश्वविद्यालयका २७९ खेलाडी, ४५ प्रशिक्षक र ९ टोली नेता गरी कुल ३३३ जनाको सहभागिता रहनेछ।
प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालय सहभागी हुनेछन्।
खेल सञ्चालन माघ २२ गते बिहान ८ बजेदेखि सुरु हुनेछ। उद्घाटन माघ २२ गते काठमाडौं विश्वविद्यालयको प्राङ्गण धुलिखेलमा हुनेछ भने समापन माघ २३ गते अपराह्न ४ बजे सोही स्थानमा हुनेछ।
प्रतियोगिता आयोजनाका लागि खेलाडीहरूको आवासको व्यवस्था भइसकेको छ। उद्घाटन समारोह तथा खेल स्थलको पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। सहभागी हुने सबै टोली सुनिश्चित भइसकेका छन् र प्रतियोगितासम्बन्धी सम्पूर्ण तयारी सम्पन्न भएको राखेपले जानकारी दिएको छ।
विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थीभित्र रहेको खेल प्रतिभाको पहिचान, विकास र खेलाडीलाई हौसला तथा प्रेरणा प्रदान गर्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगिता निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गर्ने राखेपको नीतिअनुसार यसपटक नेपालय इन्टरनेसनल प्रालि र काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरिएको छ भने केआईईसी एजुकेसन कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको छ।
धुलिखेलमा धेरै राम्रो खेल पूर्वाधार रहेको र आगामी दिनमा अन्य राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता पनि गर्न सकिने सम्भावना रहेको आयोजक राखेपले जनाएको छ ।
प्रतिक्रिया 4