+
+
Shares

रुसी सेनामा गएका गोरखाका कुमाल दुई वर्षदेखि युक्रेनको जेलमा

युक्रेनसँग युद्धरत रुसले विदेशी नागरिकलाई धमाधम सेनामा भर्ना गरिरहेको समयमा गोरखाका मदन पनि रुसी सेनामा भर्ती भएका थिए ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ माघ २० गते २१:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा बोर्लाङका मदन कुमाल रुसको सेनामा भर्ती भएर युक्रेनको जेलमा दुई वर्षदेखि छन्।
  • मदनको परिवारले तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर उद्धारको प्रयास गरिसकेको छ।
  • सरकारले कूटनीतिक पहल गरिरहेको छ तर राजनीतिक तहमा छलफल नभएर उद्धार सम्भव छैन।

२० माघ, काठमाडौं । गोरखा बोर्लाङका मदन कुमालको जीवनले कहिल्यै नसोचेको मोड लियो ।

१० वर्षसम्म नेपाली सेनामा सेवा गरेका उनी एकाएक जागिर छाडेर वैदेशिक रोजगारीका लागि रुस पुगे ।

परिवारलाई थाहै नदिई गएको त्यो यात्राले उनलाई युद्धको भीषण मैदान हुँदै आज युक्रेनको जेलसम्म पुर्‍याएको छ ।

मदन रुस पुगेको नौ दिनपछि मात्रै परिवारले उनको अवस्थाबारे थाहा पायो, त्यो पनि टिकटकमा सैन्य पोसाक लगाएको भिडियो देखेपछि ।

युक्रेनसँग युद्धरत रुसले विदेशी नागरिकलाई धमाधम सेनामा भर्ना गरिरहेको समयमा उनी पनि रुसी सेनामा भर्ती भएका थिए ।

‘धेरै नेपाली मारिएको खबर आइरहेका बेला भाइ पनि त्यहीँ पुगेको थाहा पाएपछि म झस्किएँ,’ सानिमा कविता कुमाल भन्छिन्, ‘जसरी भए पनि नेपाल फर्काउने सोच बनाएँ ।’

घरपरिवारको सल्लाह अनुसार उनी घर फर्किन तयार भए । त्यसका लागि उनी विमानस्थलसम्म पुगे । प्लेन चढ्न पाँच मिनेट मात्रै बाँकी थियो । तर, त्यही बेला उनलाई पक्राउ गरियो ।

रुसको राजधानी मस्कोमा ३५ दिन हिरासतमा राखिएपछि फेरि जबरजस्ती फ्रन्टलाइनमा पठाइयो । ‘वार जोन’ मा पठाएर उनलाई युद्धको अग्रमोर्चामा राखिएको थियो ।

युद्धकै क्रममा उनी युक्रेनी सेनाको पकडमा परे । त्यसपछि उनले आफ्नो हतियार फालेर आत्मसर्मण गरे । डोनेस्क सहरको युद्ध क्षेत्रबाट पक्राउ परेका मदन त्यसयता युक्रेनको जेलमै छन् । जेल जीवन बिताएको दुई वर्ष पूरा भइसकेको छ ।

९ नेपाली एउटै पीडामा

मदन मात्रै होइन, रुसी सेनामा भर्ती भएका अन्य ८ नेपाली पनि यतिबेला युक्रेनकै जेलमा छन् । उनीहरू सबै उद्धार प्रतीक्षामा छन् । तर, नेपाल सरकारबाट भइरहेको पहलले हालसम्म ठोस परिणाम दिन सकेको छैन ।

कविता दुई वर्षदेखि मदन आउने प्रतीक्षामा छिन् । घरमा भएकी एकल आमा सुनमाया हरेक क्षण छोरा आउने बाटो कुरिरहेकी हुन्छिन् । तर, उनको घर फर्किने बाटा अनिश्चित छ ।

उनको उद्धारका लागि तत्कालीन गृहमन्त्री रवि लामिछाने, तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतलाई परिवारले भेटिसकेको छ ।

‘सबैले कोसिस गर्छौं भन्नुभयो, तर व्यवहारमा केही भएन’, कविताले भनिन् ।

परराष्ट्र मन्त्रालय, कन्सुलर विभाग, विभिन्न निकायमा अनगिन्ती निवेदन लेख्दा पनि नतिजा शून्य रहेको उनको गुनासो छ । रुसमा हुँदा परिवारिक समस्या देखाएर झुटो निवेदन समेत पठाइएको थियो, तर त्यसले पनि मदनलाई घर फर्काउने बाटो खोल्न सकेन ।

हाल मदनसँग कुनै प्रत्यक्ष सम्पर्क छैन । सन् २०२३ अप्रिल २६ देखि उनी घरपरिवारको सम्पर्कमा छैनन् । पक्राउ परेर जेल परेको केही समयपछि अन्तर्राष्ट्रिय रेडक्रसबाट पत्र आएको थियो ।

त्यसयता रेडक्रसका प्रतिनिधि बाहेक कसैले पनि भेट्न पाएका छैनन् ।

‘एकपटक मात्रै आईसीआरसी मार्फत चिठी आएको थियो,’ कविता भन्छिन्, ‘त्यसपछि कुनै खबर छैन, न फोन, न भेटघाट ।’

मदनका बुबाको निधन भइसकेको छ । आमा गोरखा बजारमै सानोतिनो काम गरेर जीवन चलाइरहेकी छिन् । नेपाली सेनाबाट अवकासप्राप्त दिदी कविताले अझै आश छाडेकी छैनन् ।

‘मिडियाले अलिकति भए पनि आवाज उठाइदियो भने केही हुन्छ कि भन्ने आश हो,’ उनी भन्छिन्, ‘भाइको जीवन बचोस्, घर फर्कियोस्, यति मात्रै चाहिएको हो ।’

मदनकी आमाले गोरखा उद्योग वाणिज्य संघमा चिया नास्ता पकाउने काम गर्दै आएकी छिन् । घरपरिवारको आर्थिक अवस्था एकदम कमजोर छ । तीन छोरामध्ये मदन कान्छो हुन् ।

एकातिर घरपरिवार चलाउन गाह्रो छ भने अर्कातिर दुई वर्षदेखि छोराको पर्खाइमा रहेकी आमा चिन्तित छिन् ।

सरकारले भने उनीहरूको उद्धारका लागि पटक–पटक पत्र पठाउँदै आएको छ । जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावासले केही अगाडि मात्रै पत्र पठाएको थियो ।

कन्सुलर सेवा विभागका महानिर्देशक दुरपदा सापकोटाका अनुसार केही दिन अगाडि बर्लिनले उनीहरूको रिहाइका लागि पत्र पठाएको थियो ।

यो विषयमा राजनीतिक तहबाटै कूटनीतिक पहल हुनुपर्ने सरकारी अधिकारीहरूको बुझाइ छ । आफ्नो देशविरुद्ध लड्न हिँडेर पक्राउ परेकालाई सहज छाड्ने अवस्थामा युक्रेन छैन ।

तर, त्यसका लागि दुई देशबीच राजनीतिक तहमा छलफल तथा संवाद भएको खण्डमा केही आश गर्न सकिने अधिकारीहरूको भनाइ छ ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?