+
+
Shares

मंगल ग्रहमा जीवन खोज्ने दौडमा अब चीन एक्लै, अमेरिका पछि हट्यो

एजेन्सी एजेन्सी
२०८२ माघ २२ गते ११:१९

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो महत्वाकांक्षी मार्स स्याम्पल रिटर्न (एमएसआर) कार्यक्रम रद्द गरेको छ। यससँगै मंगल ग्रहमा जीवनका सबूत खोज्ने नासाको दीर्घकालीन योजना ठप्प भएको छ । मंगल ग्रहमा सङ्कलन गरिएका नमूनाहरू पृथ्वीमा ल्याउने प्रक्रिया बजेट अभावका कारण अघि बढ्न नसकेको नासाले जनाएको छ।

यस निर्णयले नासाको पर्सेभरन्स रोभर ले सङ्कलन गरेका ती महत्वपूर्ण नमूनाहरूको भविष्य अनिश्चित बनाएको छ, जसमा वैज्ञानिकहरूले सम्भावित एलियन जीवनका संकेत हुन सक्ने आशा गरेका थिए । तत्काल ती नमूनाहरूको विस्तृत अध्ययन असम्भव देखिएको छ ।

लाइभ साइन्स का अनुसार अमेरिकी सिनेटले हालै पारित गरेको नयाँ खर्च विधेयकले यस परियोजनामा निर्णायक असर पारेको हो। पर्सेभरन्सले सङ्कलन गरेका ३० वटा भूवैज्ञानिक नमूनाहरू लामो समयसम्म पृथ्वीमा ल्याइने सम्भावना कम देखिएको छ ।

हालको आँकलनअनुसार ती नमूनाहरू सन् २०४० भन्दा अगाडि पृथ्वीमा आइपुग्ने सम्भावना छैन। ती नमूनामध्ये एकलाई मंगल ग्रहमा अहिलेसम्म भेटिएको जीवनको सबैभन्दा बलियो संकेत मानिएको थियो ।

यो अभियानबाट नासा पछि हटेपछि मंगल ग्रहमा जीवन खोज्ने अन्तर्राष्ट्रिय प्रयासमा अब चीन मात्रै अग्रपंक्तिमा उभिएको देखिन्छ । यदि मंगल ग्रहबाट नमूना फिर्ता ल्याउने योजनाबाट अमेरिका पछि हट्नेमा चीन त्यस क्षेत्रमा एक्लो कर्ता हुनेछ ।

यद्यपि कार्यक्रम रद्द भए तापनि नासाले मार्स स्याम्पल रिटर्नको अवधारणालाई पूर्ण रूपमा त्यागेको भने छैन। नासाले नमूना फिर्ता ल्याउन दुई फरक रणनीतिमा काम गर्ने बताएको छ। तीमध्ये एउटामा पहिले नै सफल भइसकेको ल्यान्डिङ प्रविधि प्रयोग गरिनेछ। जसमा रकेटद्वारा सञ्चालन हुने स्काई क्रेन प्रणाली समावेश छ। यस योजनाको अनुमानित लागत ६.६ अर्बदेखि ७.७ अर्ब अमेरिकी डलर को बीचमा रहनेछ ।

नासाले यसबारे यस वर्ष सन् २०२६ मा अन्तिम निर्णय लिने तयारी गरेको थियो । द प्लानेटरी सोसाइटी का अनुसार यस वर्ष यस क्षेत्रमा थोरै भएपनि बजेट विनियोजन गरेकोले नासाको यो कार्यक्रम पूर्ण रूपमा अन्त्य भने हुनेछैन। तथापि समग्रमा अमेरिकाले मंगल ग्रहमा जीवन खोज्ने अभियानप्रति क्रमशः चासो घटाउँदै गएको देखिन्छ।

उता चीनले भने आफ्नो  तियानवेन-३ स्याम्पल रिटर्न मिसनलाई  मंगल ग्रह अनुसन्धानका लागि निर्णायक बनाउने चरणमा छ। यो मिसन २०२८ मा प्रक्षेपण गर्ने र २०३१ मा मंगल ग्रहका चट्टानका नमूनाहरू पृथ्वीमा ल्याउने लक्ष्यसहित चीन अगाडि बढेको छ। त्यसैले मंगलबाट नमूना पृथ्वीमा ल्याउने दौड एक्लै जित्ने अवस्थामा चीन पुग्न लागेको छ। यस्तो सफलताले मंगल ग्रहको अभियानमा चीनले अमेरिकालाई पछि पार्नेछ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?