२२ माघ, काठमाडौं । सरकारले देशभरका ३ लाख बालिकालाई आगामी आइतबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप दिने भएको छ ।
परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने र १० वर्षका बालिकालाई लक्षित गरी खोप कार्यक्रम अघि बढाइएको हो ।
एचपीभी खोप नियमित कार्यक्रममा समावेश गरेको छ ।
‘यसअघि अभियानका रूपमा सञ्चालन गरेका थियौं । अहिले नियमित कार्यक्रममा समावेश भएको छ,’ डा. गौतमले भने, ‘१० वर्ष पूरा भएका र ६ कक्षामा अध्ययनरत बालिकालाई एचपीभी खोप दिन्छौं ।’
गत वर्ष सरकारले अभियानको रूपमा कक्षा ६ देखि १० सम्मका छात्रासहित विद्यालय नजाने भए १० देखि १४ वर्ष उमेर समूहका किशोरीसमेत गरी १६ लाख किशोरीलाई खोप दिएको थियो । जसमध्ये ९४ प्रतिशतले खोप लगाएका थिए ।
एचभीपी खोप कार्यक्रम भने विद्यालय र स्वास्थ्य संस्था केन्द्रित हुनेछ ।
‘विद्यालयमा नै खोप केन्द्र स्थापना गर्नेछौं । यसले गर्दा खोप वितरण प्रक्रिया सहज र प्रभावकारी हुनेछ,’ डा. गौतमले भने ।
डाक्टरका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ ।
एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ । यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ ।
ह्युमन प्यापिलोमा भाइरस २०० भन्दा धेरै प्रजातिका हुन्छन् । तर मानव शरीरमा क्यान्सर गराउने प्रजाति १२ प्रकारका हुन्छन् । तीमध्ये ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट हुने गरेको छ ।
हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान छ । जसमध्ये १ हजार ३१३ जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ ।
चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सर हुँदा योनीबाट गन्हाउने पानी आउने, रगत मिसिएको पानी आउने, पेट दुख्ने, महिनावारी सुकिसकेका महिलालाई समेत रगत देखिने, यौनसम्पर्क गरेपछि रगत देखिने जस्ता लक्षण देखिन्छन् ।
भाइरस संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धूमपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिँदा हुन्छ ।
एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर मात्र होइन, एचपीभीबाट हुनसक्ने अन्य समस्याबाट पनि बचाउँछ । एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रीयहरूको क्यान्सरबाट पनि बचाउँछ ।
प्रतिक्रिया 4