२२ माघ, सुनसरी । कोशी प्रदेशमा लागुऔषध ओसारपसार र बिक्री–वितरण भयावह बन्दै गएको छ । जेनजी विद्रोहपछि प्रहरी प्रशासनको मनोबल घटेको ठानेर लागुऔषध कारोबारीका गिरोह थप सक्रिय भएका छन् ।
चुनावी चहलपहलको मौका छोपेर लागुपदार्थ कारोबारी गिरोह र दुर्व्यसनी सल्बलाएका छन् । प्रहरीले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित १६ माघमा ७ जनालाई पक्राउ गरेको छ ।
झापाको लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–३ केर्खा बस्ने राजु ढकाललाई ८ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । सोही दिन इलाका प्रहरी कार्यालय अनारमनीले पाँचथरको याङवरक–६ बस्ने अनिश राई र सुनसरीको धरान उपमहानगरपालिका–१७ बस्ने लिला तामाङको साथबाट ३ ग्राम ७०० मिलिग्राम र झापाको बिर्तामोड–४ बस्ने फणिन्द्र विश्वकर्माको साथबाट १ ग्राम १२० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
यस्तै मोरङको इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१६ बाट लेटाङ–५ बस्ने मनोज परियारको साथबाट ५ ग्राम ९० मिलिग्राम र मोरङको बेलबारीस्थित डागाँबजार प्रहरी चौकीका टोलीले बेलबारी–७ बस्ने मनिष मग्रातीको साथबाट प्रतिबन्धित औषधि ६३० ट्याब्लेट बरामद गरेको छ ।
सोही दिन सुनसरीको धरान–१९ चौकिबारीबाट सोही स्थानका सुजन लिम्बुको साथबाट १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरमद गरेको छ ।
माघ १५ गते झापा, मोरङ र धनकुटाका विभिन्न स्थानबाट ब्राउन सुगर र गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । माघ १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविरका २८ वर्षीय अरुष दासको साथबाट १ ग्राम २७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
सोही दिन मोरङको इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर–१५ को एक नम्बर ढाटबाट भारतबाट नेपालतर्फ आउँदै गरेका दमक–४ बस्ने एलिस कार्कीको साथबाट ९ ग्राम ३५० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारेका थिए ।
उता, धनकुटाको प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी–५ मा को२२प १०३९ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्दा बोरामा १२ किलोग्राम गाँजा पोको पारेको अवस्थामा बरामद भएको थियो । तर मोटरसाइकल धनी भने फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सोही दिन भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ८२६ किलो ६६० ग्राम गाँजा बोकेको ट्याक्टरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
हतुवागढी गाँउपालिका–९ मचुवादेखि धनकुटाको आखुवाटारतर्फ लैजादै गरेको ना७त ३५० नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा ४३ वटा बोरामा राखेको अवस्थामा ती गाँजाका बोरा बरामद भएको थियो । प्रहरीले आमचोक–९ बस्ने रुद्रबहादुर श्रेष्ठ, निशान मगर, नीरबहादुर श्रेष्ठ, धनकुटाको शहीभूमि–२ बस्ने सुदीप पुर्कुटी, निलकुमार मगर, किशोर बिसुन्खे, बिर्खबहादुर बिसुन्खे, दीपकुमार बिसुन्खे र ताप्लेजुङको मिरिङ्डेन–६ बस्ने लाक्पा शेर्पालाई पक्राउ गरेको थियो ।
प्रहरीले सोही दिन मोरङकाा विभिन्न स्थानबाट ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा १ ग्राम ६४ मिलिग्राम ब्राउन सुगरसहित धरान–१५ बाझगरा बस्ने सुजन धमला, २२८ चक्की प्रतिबन्धित औषधि र २ मिलिग्राम ब्राउन सुगरसहित सुन्दरहरैचा–६ बस्ने अनिष मगर, विजय राई, पवन तामाङ र नवीन राईलाई पक्राउ गरेको थियो ।
प्रहरीले झापा र सुनसरीबाट माघ १३ गते लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको थियो । झापाको बिर्तामोड नगरपालिका–२ बाट बाह्रदर्शी गाउँपालिका–६ मा डेरा बस्ने दीपक कार्कीको साथबाट १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थिो भने बेचबिखनमा संलग्न मनकुमार राजबंशीलाई मे.१ह.५५६२ नम्बरको अटोसहित नियन्त्रणमा लिएको थियो ।
सोही दिन सुनसरीको धरान–८ बाट इटहरी उपमहानगरपालिका–५ बस्ने सोनिका तामाङको साथबाट ३७० मिलिग्राम ब्राउन सुगर फेला पारेसँगै कारोबारमा संलग्न इटहरी–९ बस्ने इशा पौडेललाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले सोही दिन झापा, मोरङ र सुनसरीबाट थप १० जनालाई ब्राउन सुगर, प्रतिबन्धित लागुऔषध र गाँजासहित पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा लिएको थियो । माघ १० र ११ गते पनि प्रहरीले सुनसरी, झापा र उदयपुरबाट ब्राउनसुगर, गाँजा र प्रतिबन्धित औषधिसहित ७ जना पक्राउ गरेको थियो ।
माघ १० देखि १७ गतेसम्म एक साताको अवधिमा प्रहरीले लागुऔषध कारोबार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर र धनकुटाबाट मात्र ४९ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पछिल्लो समयमा ब्राउन सुगर, गाजा र चिकित्सकको प्रेस्किप्सन विना सेवन गर्न नहुने ट्याब्लेट, क्याप्सुल (ट्रामाडोल, स्पाज्मोप्रोक्सिभन, नाइट्रोजेपाम, डाइजेपाम, डाइजेल्याप, एभिल, फेनारगन, ल्युपिजेसिक, नाइट्रोसन) बरामद गरिरहेको छ ।
अरू लागुऔषधभन्दा कैयौं गुणा महँगो पर्ने ब्राउन सुगर नेपालमा उत्पादन र प्रशोधन हुँदैन । बजारमा ९ मिलिग्राम ब्राउन सुगरको एक डोजलाई गिरोहले कम्तीमा १५ सय रुपैयाँ र बढीमा २५ सयमा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।
यो लागुऔषध भारतीय सीमानाकाबाट भित्रिन्छ । गाँजा नेपालमै उत्पादन भएर भारतीय बजारमा तस्करी हुन्छ । चिकित्सकको अनुमतिमा मात्र सेवन गर्न सकिने मनोदीपक र दुखाइ कम गराउने खालका ट्याब्लेट र क्याप्सुल कतिपय नेपालमै र कतिपय भारतीय औषधि कम्पनीले उत्पादन गर्दै आएको देखिन्छ ।
चार वर्षमा १६ किलो ब्राउन सुगर बरामद
कोशी प्रदेश प्रहरी कार्यालयले अनलाइनखबरलाई दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको पुस–माघसम्ममा करिब ५ किलोग्राम ब्राउन सुगर बरामद भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशका विभिन्न स्थानबाट प्रहरीले ५ किलो ४८९ ग्राम ८९८ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । यस्तै आर्थिक वर्ष २०८०/८१ मा कूल ३ किलो ८८९ ग्राम ३४९ मिलिग्राम ब्राउन सुगर बरामद भएको कोशी प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा २ किलो ७९ ग्राम ८४९ मिलिग्राम बरामद गरेको तथ्याङ्क छ । अर्थात् चार वर्षको अवधिमा कोशी प्रहरीले करिब १६ किलो ब्राउन सुगर बरामद गरेको देखिन्छ ।
९ महिनामा गाँजा १५ हजार किलो, ट्याब्लेट सवा ४ लाख बट्टा बरामद
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार यो चालु आर्थिक वर्षको पुससम्ममा गाँजा १५ हजार ६०० किलो ८५८ मिलिग्राम बरामद भएको छ । यस्तै विभिन्न मनोदीपक चक्की, क्याप्सुल–ट्याब्लेट ४ लाख ३३ हजार ३४६ वट्टा बरामद भएको छ । मनोदीपक सुई ३ हजार ९११ एम्पुल बरामद भएको डीआईजी घिमिरेले बताए ।
कोशी प्रहरीले बरामद गरेको लागुऔषधको तथ्याङ्क विश्लेषण गर्दा कारोबार, ओसारपसार र प्रयोगकर्ताको संख्या वर्षेनी दोब्बर वृद्धि भइरहेको देखिन्छ । चार वर्षअघि गाँजा ५ हजार ८१५ किलो ४९२ ग्राम ७०० मिलिग्राम मात्र बरामद भएको थियो तर त्यसको एक वर्षपछि १० हजार ४२० किलो बरामद भयो । गत आर्थिक वर्षमा त २६ हजार ७०५ किलो गाँजा बरामद भएको थियो । चरेश र अफिम भने दुर्व्यसनीको रोजाइमा नपरेको वा बजारमा उपलब्ध नभएको हुनसक्ने भएकाले अत्यन्त कम मात्रामा बरामद भएको प्रहरीले जनाएको छ ।
यो चालु आर्थिक वर्षको पुस–माघसम्ममा लागुऔषध कारोबार र ओसारपसार गर्नेमध्ये ८४५ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा २ हजार २७६ जना पक्राउ परेका थिए भने अघिल्लो आर्थिक वर्षमा १ हजार ५९८ जना र आर्थिक वर्ष २०७९/८० मा १ हजार १५७ जना पक्राउ परेका थिए ।
ओसारपसार र सेवनकर्तामा युवा बढी
लागुऔषध ओसारपसार र सेवनकर्तामा युवा पुस्ता (१९ वर्र्षदेखि २८ वर्ष उमेर समूह) बढी सक्रिय रहेको पाइएको छ । त्यसपछि २९ वर्षदेखि ४५ वर्ष उमेर समूहका छन् । ब्राउन सुगर, गाँजा, मनोदीपकजन्य लागुऔषध ओसारपसार गराउने गिरोहले १८ वर्ष मुनिका बालबालिकासमेत प्रयोग गरेको पाइएको छ । गत वर्ष पक्राउ पर्नेमा ११ जना त बालबालिका नै थिए ।
लागुऔषध ओसारपसार र सेवनमा संलग्न हुनुका कारणमा साथी–संगतीको प्रभावलाई मुख्य मानिएको छ । साथै व्यक्तिगत कौतुहलता र उत्सुकताले पनि बढी काम गरेको छ । संगत र कौतुहलताले गर्दा ‘एक पटक एक डोज लिइहालौं, कस्तो फिलिङ्स हुन्छ’ भनेर सेवन गर्नेहरू नै सबैभन्दा बढी ब्राउन सुगर, गाँजा र अन्य लागुऔषधको चपेटामा फसेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभागका साइकियाट्रिस्ट एसोसिएट डा. सञ्जीव मिश्र एकदुई पटक चाख्दाचाख्दै ब्राउन सुगरको लत बस्ने तर छुटाउन गाह्रो बताउँछन् । उनका अनुसार सुईमार्फत सेवन गर्नेहरुलाई एचआईभी–एड्स, हेपाटाइटिस जस्ता सरुवा रोग पनि सर्न सक्ने भएकाले सचेत हुन जरुरी छ ।
कतिपयले मानसिक तनाव भएर लागुपदार्थ सेवन गर्ने गरे पनि लागुपदार्थ प्रयोगकै कारण डिप्रेसन, एन्जाइटी जस्ता मानसिक रोग उत्पन्न हुने चिकित्सकहरूले बताउँदै आएका छन् ।
किशोर उमेरदेखि बयस्कतिर जाँदा ‘ट्रान्जेक्सन’ समयमा हुने खुल्दुली, जिज्ञासाले लागुऔषधको कुलतमा फस्ने सम्भावना बढी हुने गरेको मनोचिकित्सक डा मिश्र बताउँछन् ।
प्रतिक्रिया 4