+
+
Shares

कृषि मन्त्रालयले माग्यो स्थानीय तहमा कार्यरत प्राविधिकहरूको विवरण

मन्त्रालयले विवरण पठाउन निश्चित समयसीमा र प्रक्रिया समेत तोकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरिका स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राविधिकको यथार्थ विवरण माग गरेको छ।
  • मन्त्रालयले १० फागुनभित्र कर्मचारीको नाम, श्रेणी, सेवा समूह, नियुक्ति पत्र र करार सम्झौता नवीकरणको छायाप्रति पठाउन निर्देशन दिएको छ।
  • यो विवरण संकलनको उद्देश्य स्थानीय तहमा प्राविधिक जनशक्तिको अवस्था पहिचान गरी आगामी कार्यक्रम र बजेट व्यवस्थापनलाई प्रभावकारी बनाउनु हो।

२३ माघ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरिका स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राविधिकको यथार्थ विवरण माग गरेको छ ।

मन्त्रालयको बजेट तथा कार्यक्रम शाखाले सार्वजनिक सूचना जारी गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी सबै स्थानीय तहबाट आवश्यक विवरण संकलन गरिदिन समन्वयका लागि अनुरोध गरेको हो ।

मन्त्रालयले साविकको ‘एक गाउँ विकास समिति, एक प्राविधिक’ कार्यक्रम र हालको ‘स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि २०८२’ बमोजिम कार्यरत कर्मचारीहरूको तथ्यांक अध्यावधिक गर्न लागेको हो ।

यस प्रक्रिया अन्तर्गत विशेषगरी साविकका गाउँ विकास समितिहरूमा कामकाज गर्ने गरी राजपत्र अनंकित द्वितीय श्रेणीको प्राविधिक सहायक पदमा करारमा नियुक्त भई हाल स्थानीय तहमा समायोजन भएका र सेवा निरन्तरता दिइरहेका कर्मचारीको विवरण मागिएको छ ।

साथै, चालु आर्थिक वर्ष स्वीकृत कार्यविधि अनुसार ससर्त हस्तान्तरित कार्यक्रम अन्तर्गत स्थानीय तहमा करारमा नियुक्त कृषि स्नातक र पशु चिकित्सकहरूको विस्तृत जानकारी पनि अनिवार्य उपलब्ध गराउनुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विवरण पठाउन निश्चित समयसीमा र प्रक्रिया समेत तोकेको छ । जसअनुसार १० फागुनभित्र मन्त्रालयको आधिकारिक इमेल ठेगानामा विवरण पठाइ सक्नुपर्ने छ ।

कर्मचारीको नाम, श्रेणी, सेवा समूह र सम्पर्क ठेगानाका साथै सम्बन्धित कर्मचारीको नियुक्ति पत्र र पछिल्लो पटक गरिएको करार सम्झौता नवीकरणको छायाप्रति समेत अनिवार्य संलग्न हुनुपर्ने व्यवस्था गरिएको छ ।

यो विवरण संकलन गर्ने निर्णय मन्त्रालयले २२ माघको सचिवस्तरबाट गरेको थियो । स्थानीय तहमा प्राविधिक जनशक्तिको अवस्था पहिचान गरी आगामी कार्यक्रम र बजेट व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो कदम चालिएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?