सुनसरीको इनरुवास्थित नापी शाखा कार्यालयमा २०८२ पुसको पहिलो साता कामविशेषले पुगेको थिएँ । कार्यालय वरपर खुला जमिनमा मैले यसअघि कहिल्यै नदेखेको घाँसजन्य बिरुवा फुलिरहेको देख्दा त्यसतर्फ आकर्षित हुनपुगें ।
खुला ठाउँमा यो झार छपक्कै भुइँ ढाकेर फैलिएको थियो । त्यसले त्यहाँ अन्य वनस्पतिलाई मिचेर फैलिएको थियो । त्यही वनस्पति मात्र फैलिएको आधारमा उक्त वनस्पतिमा मिचाहा (Invasive) गुण हुनसक्ने अनुमान सहजै गर्न सकिन्थ्यो ।
नमूना संकलन गरें र फूलको तस्बिर खिच्न तम्सिएँ । फूल १ सेन्टिमिटर जति लम्बाइको मात्र भएकाले निकै मिहिनेत साथ खिच्नुपर्यो । धन्न सानो वस्तु खिच्न प्रयोग गरिने म्याक्रो लेन्स साथै बोकेको थिएँ । यस्तै, मोबाइलको म्याक्रो मोडले पनि थोरै सहयोग गर्यो ।
खिचेको तस्बिर ठूलो बनाएर हेर्दा फूलको सौन्दर्य खुल्यो । साँच्चै भन्नुपर्दा आहा ! नभनी रहन सकिनँ । त्यसपछि त्यो वनस्पतिको वैज्ञानिक नाम के होला भन्ने जिज्ञासा जाग्यो ।
नचिनेको वनस्पति संकलन वा तस्बिर खिचेपछि यो कुन प्रजाति होला भन्ने जिज्ञासा मनभित्र रहिरहन्छ । टिपोट गरेको यसका आधारभूत बनावट वा स्वरुप कुन प्रजातिसँग मिल्छ भन्ने कौतूहल रहिरहन्छ । त्यो वनस्पति पहिले कतै नदेखिएको वा अपरिचित जस्तो लाग्यो भने, जिज्ञासा झन् तीव्र बन्छ र उत्सुकता थप बढेर जान्छ । यो वनस्पति पनि ठीक त्यस्तै थियो । यसका निम्ति अध्ययन भनेको प्रकाशित वैज्ञानिक अभिलेखसँग तुलना गर्नुपर्ने हुन्छ ।
पहिचान आधार
वनस्पति पहिचानको निम्ति गरिने परीक्षण भनेको फूलको विभिन्न भागको अध्ययन हो । यसको पहिलो खुड्किलो भनेको फूलको आकर्षक भाग ‘पेटल’ (Petal) बाट अक्सर गरिन्छ ।
‘पेटल’ प्राचीन ग्रीक शब्द ‘पेटलोन’ (Petalon) बाट आएको हो, जसको अर्थ ‘पात’, ‘पात जस्तो फैलिएको वस्तु’ वा ‘चौडा तह’ भन्ने हुन्छ । ग्रीक भाषा पनि प्राचीन र आधुनिकमध्ये जीव नामकरणमा प्राचीन प्रयोग गर्ने प्रचलन छ ।
एकताका रोम साम्राज्य रहँदा रोमनहरूले प्रयोग गर्ने भाषा थियो, ल्याटिन । ल्याटिन भाषा पनि जीव विज्ञानमा उत्तिकै प्रयोग गर्ने गरिन्छ । ल्याटिनमा ‘पेटलोन’ शब्दलाई ‘पेटलम’ (Petalum) भनिएको छ । ल्याटिन भाषामा पनि यसको अर्थ लगभग उस्तै रह्यो – पात वा पात जस्तो आकृति ।
हिजोआज प्राचीन ग्रीक र ल्याटिन दुवै मृत भाषा हुन् । मृत भाषा अन्तर्गतका प्राचीन अर्थ नबदलिने कारण ती भाषा अन्तर्गतका शब्दहरू जीव नामकरण र जीवजन्य वस्तुका नामकरणमा प्रयोग हुन्छ ।
अहिले प्रयोगमा रहेका सबै वैज्ञानिक नामहरू अनिवार्य रूपमा प्राचीन ग्रीक वा ल्याटिन शब्दबाटै बनेका हुन्छन् भन्ने छैन । जीव नामकरणका क्रममा व्यक्तिको नाम, देशको नाम, स्थानको नाम, पहाड, नदी वा अन्य भौगोलिक तथा सांस्कृतिक पहिचानबाट पनि नाम राखिने गरिन्छ । यस्ता नामहरू प्रयोग गर्दा ती शब्दहरूलाई ल्याटिन भाषिक संरचना अनुसार रूपान्तरण गरिन्छ । यसरी रूपान्तरण गर्ने प्रक्रिया अन्तर्राष्ट्रिय निर्देशिका र नियमहरूद्वारा निर्धारण गरिएको हुन्छ ।
उदाहरणका रूपमा, गत २६ जनवरीमा नेपालबाट छेपारो जस्तो देखिने एक नयाँ जीव प्रजाति विश्वका लागि नयाँ रूपमा पहिचान गरिएको जानकारी अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त वैज्ञानिक जर्नल Zootaxa को खण्ड ५८२४, अंक २ मा प्रकाशित भएको छ । उक्त प्रजातिको खोज तथा वैज्ञानिक विवरण अस्मित सुब्बा, लक्ष्मण खनाल लगायत अनुसन्धानकर्ताहरूले प्रस्तुत गरेका हुन् ।
त्यस छेपारोको वैज्ञानिक नाम सिर्टोड्याक्टालस खम्बुई (Cyrtodactylus khambui) राखिएको छ । यहाँ प्रजातिगत नाम khambui पूर्वी नेपालका सरीसृप अध्ययनकर्ता कालुराम खाम्बुको सम्मानमा राखिएको हो ।
अन्तर्राष्ट्रिय प्राणी नामकरण संहिता अनुसार, कुनै पुरुष व्यक्तिको नामबाट प्रजातिको नाम बनाउँदा त्यस नामसँग सम्बन्ध जनाउने शब्दलाई ल्याटिनीकृत गरिन्छ । यसका लागि सामान्यतया शब्दको अन्त्यमा ‘i’ प्रत्यय जोडिन्छ ।
यही प्रक्रिया अनुसार Khambu शब्दमा i जोडेर khambui बनाइएको हो । प्रजातिजन्य ल्याटिनीकृत शब्दको शुरुको अक्षर स्माल लेटरमा लेखिन्छ । वंशजन्य शब्दको शुरुको अक्षर भने क्यापिटल लेटरमा लेखिन्छ । खम्बुसर अब संसारभर त्यही छेपारोको नामबाट अमर रहनुहुनेछ, बधाई ।
अब कुरा जोडौं, फूलकै सन्दर्भ । ‘पेटल’ समयक्रममा ‘पेटलोन’ बाट ‘पेटलम’ हुँदै प्रचलनमा आएको अंग्रेजी शब्द हो । यसले फूलको रंगीन, कोमल र आकर्षक भागलाई जनाउँछ । देवनागरी लिपिमा ‘पेटल’लाई पुष्पपत्र लेखिन्छ, जसको अर्थ पनि पात जस्तो भन्ने नै हो ।
परम्परागत रूपमा वनस्पति परिवार, वंश र प्रजाति पहिचानका धेरै आधार हुन्छन् । तीमध्ये पुष्पपत्रको बनावट, संख्या र तिनीहरू के कसरी रहेका छन् भन्ने एक मुख्य आधार मानिन्छ ।
इनरुवामा खिचेको फूलका ५ वटा पुष्पपत्र छन् । सामान्यतया फूलमा पाँच वा तीन वटा पुष्पपत्र हुने गर्छन् । धेरैजसो वनस्पतिका पुष्पपत्रहरू आपसमा नजोडिएका, केहीका आंशिक वा पूर्णरूपमा जोडिएका हुन्छन् । जोडिएकाको पनि भिन्नभिन्न स्वरुपका हुन्छन् ।
इनरुवामा खिचेको फूलमा ५ वटा पुष्पपत्रका आधा हिस्सा जोडिएर पछिल्तिरको आधा हिस्सा ट्युब जस्तो आकारको छ । अघिल्तिरको नजोडिएको हिस्सामा ४ वटा पुष्पपत्रहरू लगभग उस्तै आकारका र पछाडि सर्लक्क फर्केका छन् ।

बाँकी एउटा पुष्पपत्रको नजोडिएको हिस्सा अलि ठूलो, मानिसको जिब्रो जस्तै अघिल्तिर फर्केको छ । यो त झण्डै सुनाखरीको फूलमा हुने ‘ल्याबेलम’ (Labellum) जस्तो देखिन्छ । सुनाखरीमा ‘ल्याबेलम’ अत्यन्त आकर्षक हुन्छ । सुनाखरीको सुन्दरपन नै ‘ल्याबेलम’को संरचना हो ।
इनरुवामा खिचेको फूलको जिब्रो जस्तो संरचना मौरी, पुतली आदिका लागि पनि आकर्षणको केन्द्र नै हुन्छ । किनभने त्यस्तो संरचना परागसेचनको लागि अनुकूलन (Adaptation) भएका हुन् ।
जिब्रो जस्तो यो संरचनाको भित्रपट्टि बैजनी रंगको धब्बा स्पष्ट देखिन्छ । यो मौरी, पुतलीको लागि विशेष संकेत हो । विशेष संकेत भन्नाले मौरी वा कीरा यसमा आकर्षित हुन्छन् । तिनीहरूले यसको नजिकै आहारा पनि छ भन्ने संकेत पाउँछन् ।
पुतली, मौरीलाई फराकिलो जिब्रो जस्तो संरचनामा बस्न सजिलो हुन्छ । त्यहाँ बसेपछि तिनीहरू फूलको मधुरस र परागकण भएतिर आकर्षित हुन्छन् । आहार पुष्पपत्रको जोडिएको ट्युबभित्र रहेको हुन्छ । त्यो भनेको रजकण र स्त्रीकेसरबाट निस्केको मधुरस हो ।
मैले, तस्बिर खिचिरहँदा एउटा घरमौरी घुमिरहेको थियो । एउटा त्यही जिब्रो जस्तो संरचनामा थपक्क बस्यो । क्यामेरामा फोकस नमिलाउँदै मौरीको अगाडिको आधा हिस्सा पुष्पपत्रको ट्युबभित्र सकी नसकी प्रवेश भयो ।
जिब्रो जस्तो पुष्पपत्रको आधा हिस्सामा बैजनी–नीलो रंगको दुईवटा धब्बा बीचमा पुष्पपत्रकै सेतो–क्रिमको रंग धर्सो देखिन्छ । बैजनी–नीलो रंगको धब्बा बाहेक पुष्पपत्रहरू सेतो–क्रिम रंगका छन् । जिब्रो जस्तो संरचनामा रेखा–जस्तो संरचना पनि देखिन्छ । यो संरचना केवल सजावटी मात्र होइन, यसको छुट्टै महत्व हुन्छ ।
जिब्रो जस्तो संरचनामा देखिने रेखा, खाडल–उचाइ वा हल्का उठेको भागहरूलाई Nectar guides वा Guiding ridges भनिन्छ । यस्ता संरचनाले मौरी वा पुतलीलाई अडिन सहज हुन्छ ।
पुष्पपत्रका ट्युबभित्र दुईवटा लामा र दुई वटा अलि छोटा भाले प्रजनन अंग, पुंकेसर रहेको हुन्छ । ती पुंकेसरहरू पुष्पपत्रमा टाँसिएको हुुन्छ । पुष्पपत्रका यस्ता विशिष्ट संरचना र पुंकेसरका आधारमा यो वनस्पतीय प्रजाति पहिचान हुँदोरहेछ ।
नेपालको लागि नयाँ रेकर्ड
आनुवंशिक तथ्यांक समावेश गरिने वनस्पति वर्गीकरण प्रणाली अनुसार अहिलेसम्म विश्वभर फूल फुल्ने वनस्पतिहरूलाई जम्मा ४१६ परिवारमा समावेश गरिएको छ । यी परिवार अन्तर्गत करिब १३ हजार वंश र ३ लाख प्रजाति पहिचान भइसकेका छन् । नेपालमा भने सन् २०२२ मा प्रकाशित प्लान्टस अफ नेपाल शीर्षक पुुस्तक अनुसार जम्मा २०० परिवार पाइएको उल्लेख छ । ती २०० परिवार अन्तर्गत १,५४१ वंश र ५,६०६ प्रजाति सूचीकृत छन् ।
उक्त पुस्तकमा उल्लेख वंश र प्रजाति संख्या चाहिं त्यसअघि प्रकाशित भएका अन्य सामग्रीहरू अनुसार केही छुटेका छन् । यस्तै, यो ४ वर्षको अन्तरालमा नेपालका निम्ति केही वंश तथा एक दर्जन बढी प्रजातिहरू थप भएका छन ।
फूललाई केवल एउटै दिशाबाट काट्दा दुई बराबरी भागमा बाँड्न सकिने फूललाई ‘जाइगोमर्फिक’ (Zygomorphic) र पुष्पपत्रहरू आपसमा जोडिएका फूलका संरचनालाई ‘ग्यामोपेटालस’ (Gamopetalous) भनिन्छ । स्थलगत अध्ययन अनुसार, हरेक ५ मध्ये १ चाहिं यस्ता वनस्पतिहरू ‘जाइगोमर्फिक’ र एकतिहाइ भन्दा अलि बढी ‘ग्यामोपेटालस’ भेटिन्छन ।
‘जाइगोमर्फिक’ र ‘ग्यामोपेटालस’ पुष्पपत्र भएकामध्ये पुष्पपत्रको अगाडिको भाग दुईओठे र पछाडिको भाग ट्युब जस्तो संरचना भएका फूल सम्बन्धित वनस्पति एकान्थेसी (Acanthaceae) परिवारमा पर्दछन् ।
यो परिवारमा प्राय: ४ वटा पुंकेसर (Didynamous) हुन्छन्, यद्यपि केही प्रजातिमा केवल दुईवटा मात्र पनि पाइन्छ । पुंकेसरका डाँठहरू फेदचाहिं पुष्पपत्रमा टाँसिएका हुन्छन् । तस्बिरमा पुष्पपत्रको ट्युबबाहिर निस्कन खोजे जस्तो आकृति चाहिं स्त्रीकेसरको हो । यसको टुप्पोमा चिपचिपे, गुलियो पदार्थ निस्किन्छ ।
विश्वभर एकान्थेसी परिवारमा करिब २५० वंश र ५ हजार जति प्रजाति छन । त्यसमध्ये नेपालमा २३ वंश र ७६ प्रजाति सूचीकृत छ (प्लान्टस अफ नेपाल, २०२२, पृ. ६६०) । इनरुवामा देखिएको एसिस्टासिया वंश अन्तर्गतको तर हालसम्म नेपालमा सूचीकृत नभएको एसिस्टासिया ग्याङगेटिका (Asystasia gangetica) प्रजाति हो । यसकारण, यो प्रजाति नेपालको निम्ति नयाँ हो ।
इनरुवामा एसिस्टासिया ग्याङ्गेटिका भुइँमा लत्रेको अवस्थामा थियो । कतैकतै, केही बिरुवाका आडमा ठाडो उठेको जस्तो र कतै चाहिं सकी, नसकी, नुहिंदै ठडिन खोजेको हो कि जस्तो देखियो ।
एकाध ठाउँ १०० से.मि. जति अग्लो थियो । तर, अधिकांश चाहिं भुइँमा लत्रेको ५०/६० से.मि. जति लामा थिए । लत्रेको भए पनि यसको मुन्टो चाहिं उठेको थियो । उठेको भाग चाहिं १५/२० से.मि. जति अग्ला थिए । सन् २०११ मा प्रकाशित फ्लोरा अफ चाइना मा यो वनस्पति ५० से.मि. सम्म लामो हुन्छ भनेर लेखेको छ (भोलम १९, पृ. ४३८) ।
मिचाहा गुण
इनरुवामा सडक छेउको खाली भूभाग त यसले छपक्कै ढाकेको देखें । यस आधारमा यो मिचाहा प्रजाति यसै हो जस्तो लाग्यो । त्यसपछि स्थलगत रूपमै यसलाई मिचाहा प्रकृतिको भन्न सकिने अवस्थामा छ, छैन नियाल्न चाहें ।
मिचाहा अर्थात् इन्भासिव प्लान्ट (Invasive plant) सामान्यत: अन्य वनस्पति प्रजातिहरूलाई मिचेर फैलिएको हुन्छ । यसको अर्थ त्यसले अरूलाई बढ्न, हुर्कन अक्सर दिन्न । त्यहाँ लगभग त्यस्तै देखियो । थप यसले केही ठाउँमा त नेपालमा मिचाहा गुण अत्यन्त धेरै भएको लहरे वनमारा (माइकेनिया माइक्रान्था) र काँडे वनमारा (ल्यान्टाना क्यामेरा) सँग प्रतिस्पर्धा गरेर तिनीहरू जस्तै अवस्थामा रहेको देखियो ।

यसकारण, एसिस्टासिया ग्याङ्गेटिका मा मिचाहा गुण प्रस्टै देखियो । यसले त नेपालको निम्ति नयाँ प्रजाति मात्र होइन, मिचाहा प्रजाति प्रवेश भएको देखियो ।
यस्तो वनस्पति देखिनु भनेको त वातावरणको निम्ति हानिकारक हो । यसले स्थानीय वनस्पति प्रजातिलाई प्रतिकूल प्रभाव पुर्याउँछ । हामीकहाँ यो वनस्पति निकै अघि भित्रिएको थियो होला ।
अहिलेसम्म वनस्पति अध्येताहरूले फेला नपार्नु वा चिन्न नसक्नु दु:खको कुरा हो । किनभने भर्खर फैलन शुरु गरेको अवस्थामा रोकथाम गर्दा यसको प्रभाव कम गर्न सकिन्छ । थाहै भएन भने त कसरी रोकथामका उपाय अवलम्बन गर्ने ?
मिचाहा वनस्पति प्राकृतिक कारणभन्दा बढी मानिसकै कारण भित्रिने गर्छ । यो वनस्पति केही सय वर्षअघि नै भेटिएको थियो । भारतमा रहेका यस्ता वनस्पति छिमेकी देशमा विस्तार नहुने भन्ने हुन्न । यसक्रममा थाहा लाग्यो कि यो वनस्पति अक्सर फूलका रूपमा रोपिने गर्दा एकठाउँबाट अन्यत्र फैलँदो रहेछ ।
एसिस्टासिया ग्याङ्गेटिका हाम्रो जस्तो भौगोलिक वातावरणमा रोपिएको ठाउँबाट बाहिर निस्केर प्राकृतिक वासस्थानमा यसै फैलन सक्छ भन्ने लेखिएको पढ्न पाइन्छ । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आईयूसीएन)को ग्लोबल इन्भासिव स्पेसिस् डाटाबेसमा एसिस्टासिया ग्याङ्गेटिका लाई सजावटी रूपमा रोपिएपछि घर तथा बगैंचाबाट बाहिरिने जनाएको छ ।

यो मिचाहा हुने मुख्य कारण यसको बढ्ने शैली हो । यसको डाँठ जमिनमा छोएको ठाउँ–ठाउँमा जरा लागेको देखियो । यसको सानो टुक्रो जमिनमा झर्दा सुक्नुको साटो उम्रिन्छ भनेर लेखिएको छ ।
त्यसपछि यसले स्थानीय घाँसजन्य वनस्पति वृद्धि रोक्ने गरी घना आवरण बनाउँदो रहेछ । यसैले, अष्ट्रेलिया लगायतका देशमा एसिस्टासिया ग्याङ्गेटिका लाई निकै कडा मिचाया गुण भएको वनस्पति मानेको छ ।
इनरुवाका बासिन्दाले यो झार केही वर्षयता देखिएको बताए । यो इनरुवा आसपासको भूभागमा पनि फैलिएको होला । मैले नेपालमा मिचाहा वनस्पतिबारे अध्ययन अनुसन्धान गर्दै आएका केन्द्रीय वनस्पति विभाग कीर्तिपुरका प्राध्यापक डा. भरतबाबु श्रेष्ठलाई एसिस्टासिया ग्याङ्गेटिका को तस्बिर देखाएँ ।
उनले अहिलेसम्म नेपालमा यो प्रजाति प्रवेश भइसकेको जानकारी आफूले नपाएको अवगत गराए । उनले पूर्वी नेपालबाट भित्रिएको हुनसक्ने आशंका व्यक्त गरे । किनभने नेपालमा भित्रिएका अधिकांशजसो मिचाहा प्रजाति पूर्वी नेपालबाटै भित्रिएका छन । जापानिज वनस्पति अध्ययन समूहले माइकेनिया माइक्रान्था (पहिले माइकेनिया कर्डेटा भनिएको) इलाममा सर्वप्रथम सन् १९९३ मा फेला पारेका थिए (हेर्नुहोस् नमूना) ।
मिचाहा प्रवेश माध्यम
नोभेम्बर २०२५ मा प्रकाशित बाह्य मिचाहा प्रजातिबारेपोलिसी ब्रिफ अनुसार नेपालमा हालसम्म २२५ भन्दा बढी फूल फुल्ने बाह्य वनस्पति प्रजाति करिब १०० वर्षयता भित्रिएका छन् । तीमध्ये ३० प्रजाति अत्यन्त घातक मिचाहाका रूपमा फैलिएका छन् ।
उक्त पोलिसी ब्रिफमा जनाइए अनुसार कृषि, बागवानी, घाँस, सौन्दर्य तथा मत्स्यपालनबाट मिचाहा प्रजाति नेपालमा भित्रिने गरेको छ । जलकुम्भी, काँडे वनमारा र तिलापिया माछा यसका उदाहरण हुन् । यस्तै, माटो संरक्षण, वृक्षरोपण तथा हरियाली प्रवर्धनका लागि ल्याएका प्रजातिहरू पनि मिचाहा प्रजातिका रूपमा फैलिएका छन् ।
उद्भव भूमिमा कुनै वनस्पति वा जन्तु स्वभावैले मिचाहा प्रवृत्तिको हुन्न । यो कुनै भूभागमा पुग्दा त्यसले ज्यादै अनुकूल वातावरण पायो भने ती जीवमा मिचाहा गुण विकास हुन पुग्छ । यो पंक्तिकारले अफ्रिका र माडागास्कर उद्भव भएको टिकटिके झार (Polka dot plant) इलाममा कृषकहरूलाई ज्यादै सास्ती दिएको पाएको थियो । माडागास्करमा टिकटिके झारमा मिचाहा प्रवृत्तिको गुण छैन ।
यस्तै, माइमोसा डिप्लोट्रिका (Mimosa diplotricha) वैज्ञानिक नाम भएको र स्थानीय बासिन्दाले उल्टा काँडा भनेर चिनिने वनस्पति केन्द्रीय तथा दक्षिण अमेरिकाको वनस्पति हो । त्यहाँ त्यो वनस्पतिको मिचाहा गुण छैन । यो करिब १९०० ताका जब दक्षिण पूर्व एशियामा ल्याइएका थियो । त्यसपछि अष्ट्रेलिया, फिजीमा १९३०–४० ताका मात्र यसमा मिचाहा गुण भएको वनस्पतिका रूपमा चिनियो ।
माइमोसा डिप्लोट्रिका झापाको जलथल जंगलमा करिब ७ वर्षअघि देखिएको थियो । फरेष्टएक्सन नामक एक गैरसरकारी संस्थाले त्यहाँका सामुदायिक वन उपभोक्ता समूहसँग मिलेर नियन्त्रण गर्ने भरमग्दुर प्रयास गर्यो र अझै गर्दै होला । यो पंक्तिकारले ३ वर्षअघि माइमोसा डिप्लोट्रिका विराटनगर महानगरपालिका क्षेत्रमा फेला पार्यो । हिजोआज त यो सिन्धुलीसम्म पुगिसकेको छ ।
उल्टा काँडा झारको दुई उप–प्रजाति छन् । एक उप–प्रजातिमा मसिना काँडा हुन्छन् र अर्को उप–प्रजातिमा हुन्न । काँडादार चाहिं चौपायाका निम्ति घातक हुन्छ । वर्षेनि कैयन् चौपाया यसको घाँस खाँदा मर्छन् ।
उल्टा काँडा भारतमा भू–क्षय रोक्ने, हरियाली बढाउने, घेराबेरा वा शोभाका लागि अन्य देशबाट ल्याएर लगाइयो । त्यही क्रममा यसको बीउ सडक निर्माण, वृक्षरोपण, कृषि सामग्री, पशुचारा वा माटोसँग मिसिएर सीमावर्ती क्षेत्र हुँदै नपाल भित्रिएको हुनुपर्छ ।
यस्तै, कृषि उपजमा मिसिएर अन्य देशबाट आउने आयात गरिएका धान, गहुँ, दाल, घाँसका बीउ वा कृषि उपजमा बाह्य तथा मिचाहा प्रजातिका बीउहरू मिसिएर आउँछन् । जस्तै पाती झार भनेर काठमाडौं उपत्यकामा चिनिने पार्थेनियम हिस्टेरोफोरस (Parthenium hysterophorus) सन् १९६७ ताका त्रिशूलीबाट संकलन भएको थियो । यो पनि मध्य तथा दक्षिण अमेरिकी उद्भव भएको वनस्पति हो । यो भारतमा निकै अगाडि भित्रिएको थियो । भारतबाट अन्न वा कच्चा खाद्यका बोरामा मिसिएर काठमाडौं उपत्यका भित्रिएको हुनुपर्छ ।
ठूलो शंखे कीराको उत्पत्ति पूर्वी अफ्रिकी देश केन्या तथा तान्जानिया मानिन्छ । उपनिवेशकालदेखि नै यो प्रजाति खाद्य प्रयोजन, अनुसन्धान तथा व्यापारिक ढुवानीका क्रममा अफ्रिकाबाट दक्षिण र दक्षिण पूर्वी एशियाका विभिन्न देशमा फैलिएको थियो ।
यो भारतबाट भित्रिने तरकारी, फलफूल, नर्सरीका बिरुवा, कृषि सामग्री तथा सवारी साधनसँग टाँसिएको माटोमार्फत सन् १९७० को दशकताका नेपाल भित्रियो । यो विशेषत: भारतसँग जोडिएका पूर्वी तराईका जिल्ला झापा, मोरङ र सुनसरीहुँदै पछि मध्य तराई र भित्री मधेशतर्फ यसको विस्तार हुन पुग्यो ।
एसिस्टासिया ग्याङगेटिका उद्भव तथा विस्तार
एसिस्टासिया वंशमा विश्वभर ६० प्रजाति छन् । यी प्रजातिहरू अफ्रिकाको उत्तरपश्चिमी देश सेनेगेलदेखि उत्तरपूर्वी सुडानसम्म र त्यसभन्दा दक्षिणका सबैजसो अफ्रिकी देशमा पाइन्छन् । यसैगरी यसको प्रजातिहरू दक्षिण एशिया सहित दक्षिणपूर्वका धेरैजसो देश तथा अष्ट्रेलियामा पाइन्छन् ।
अब यो उद्विकाससँगै महादेशहरू तथा दक्षिण एसियाली भूभाग कहिले छुट्टिए भन्नेतर्फ थोरै चर्चा गरौं । किनभने ती भूगोलका विचलनसँगै एसिस्टासिया वंश अन्तर्गतका प्रजातिहरू विभिन्न भूगोलमा विस्तार भए र अहिलेसम्म ६ दर्जन प्रजाति विभिन्न कालखण्डमा उद्विकास हुनपुगे ।

एसिस्टासिया सम्बन्धित परिवारका पूर्वज करिब १० करोड वर्षअघि उद्विकास भएको आनुवंशिक सम्बन्धित लेखहरूले देखाउँछ । उसताका माडागास्कर, दक्षिण एशियाली भूभाग, अष्ट्रेलिया र अन्टार्कटिका लगभग सँगै रहेका थिए । तिनीहरू पछि भिन्नभिन्न दिशातिर गए ।
महादेश, महासागर वा द्वीपका समूह वा द्वीपहरू चलायमान हुन्छन् । तिनीहरू गतिमा हुन्छन्, करोडौं, लाखौं वर्षमा स्थान परिवर्तन गरिरहेका हुन्छन् । यसलाई प्लेट टेक्टोनिक थेउरी (Plate tectonic theory) भनिन्छ ।
प्लेट टेक्टोनिक थेउरी अनुसार करिब ९ करोड वर्षअघि माडागास्कर, दक्षिण एशियाली भूभाग अलग भए । त्यसपछि दक्षिण एशियाली भूभाग अहिलेको स्थानतिर सर्न थाल्यो । यही क्रममा एसिस्टासिया ग्याङगेटिका उद्विकास भएको हुनुपर्छ । किनभने अफ्रिका र माडागास्करमा एसिस्टासिया ग्याङगेटिका पाइन्न ।
अष्ट्रेलिया र अन्टार्कटिका पनि एक ८–१० करोड वर्षअघि एकआपसमा अलग हुन शुरु भएका थिए । करिब ४ करोड ५० लाख वर्ष अघि यी दुई एकआपसमा अलग भए । त्यसबेला अष्ट्रेलिया भूमिमा एसिस्टासिया ग्याङगेटिका थिएन होला ।
अष्ट्रेलिया अहिलेको स्थानमा करिब १ करोडदेखि ५० लाख वर्षअघि पुगेको थियो । उत्ता दक्षिण एशिया अहिलको स्थानमा ५ करोड वर्षअघि नै आइपुगेको थियो । यही बीच एसिस्टासिया ग्याङगेटिका वा यसको नजिकको उद्भव सम्बन्ध रहेको एसिस्टासिया प्रजाति उद्विकास भइसकेको थियो होला । त्यसैबाट कालान्तरमा एसिस्टासिया ग्याङगेटिका उद्विकास भयो होला ।
त्यसपछि एसिस्टासिया ग्याङगेटिका दक्षिणपूर्व एसिया फैलँदै गयो । त्यो क्रममा यो प्रजाति पश्चिम (इन्डोनेसिया) र पूर्व न्यु गिनी (पपुवा न्यु गिनी)टापुहरू पनि विस्तार भए । जब अष्ट्रेलिया १ करोडदेखि ५० लाख वर्षअघि अहिलेको साविक ठाउँमा आइपुगेको थियो, त्यसैताका एसिस्टासिया ग्याङगेटिका प्रवेश भएको हुनुपर्छ ।
मानव पनि अष्ट्रेलिया करिब ६०–६५ हजार वर्षअघि त्यही भूगोलबाट अष्ट्रेलिया पुगेका थिए । यसका निम्ति करिब ७० हजार वर्षअघि उत्तरपूर्वी अफ्रिकाबाट मानिसको झुण्ड बाहिरीएको थियो । त्यही समूह दक्षिण एसिया र दक्षिणपूर्व एसियाभएर अष्ट्रेलिया प्रवेश भएका थिए ।
करिब २५ लाखदेखि १०–१२ हजार वर्षअघिसम्म समुद्री सतह अहिलेको भन्दा १०० मिटर भन्दा कम उचाइ थियो । त्यसबेला, अष्ट्रेलिया, न्यु गिनी र तास्मानिय मिलेर एउेट भू–भाग जस्तो थियो । त्यसलाई साहुल (Sahul) भनिन्छ । त्यसबेला भएको बसाइँसराइलाई साहुल माइग्रेसन भनिन्छ ।
एसिस्टासिया ग्याङगेटिका दक्षिण एशियामा उसताका देखि भए पनि यो प्रजाति विशेषत: तातो तापक्रम, मध्यमदेखि बढी वर्ष र कम उचाइका क्षेत्रहरूमा राम्रोसँग फस्टाउँछ । यसको फैलावट दक्षिण एशियादेखि अष्ट्रेलियासम्म भए पनि ती भूगोलभित्रका भूभागमा भने प्राकृतिक शैलीमा एक ठाउँबाट अर्को ठाउँ सुस्त गतिमा फैलिन्छ । मानिसका कारण चाहिं द्रुत गतिमा फैलन्छ ।
निष्कर्ष
इनरुवामा देखिएको एसिस्टासिया ग्याङगेटिका को फैलावटले एउटा गहिरो र चिन्ताजनक यथार्थ उजागर गरेको छ । सजावटी सौन्दर्यका नाममा भित्र्याइएका विदेशी वनस्पतिहरू समयक्रममा मौन तर गम्भीर मिचाहा प्रजाति बन्दा रहेछन् । शुरुमा आकर्षक फूल र सजावटी बोटका रूपमा रोपिएको यो प्रजाति अहिले स्थानीय वनस्पति, खुला जमिन र मानव–नियन्त्रित क्षेत्रहरूमा तीव्र रूपमा फैलिन थालेको संकेत देखिन्छ, जसले दीर्घकालमा पारिस्थितिक सन्तुलनमा नकारात्मक असर पुर्याउन सक्छ ।
आज बगैंचा, पार्क र सडकछेउमा सीमित देखिएको यस्तो प्रजाति भोलि प्राकृतिक वनक्षेत्र, कृषि भूमि र स्थानीय जैविक विविधताका लागि कति ठूलो चुनौती बन्न सक्छ ? यदि यस्ता प्रजातिको समयमै पहिचान, वैज्ञानिक मूल्याङ्कन र प्रभावकारी व्यवस्थापन नगरिए, आजको सौन्दर्यप्रतिको लापरबाही भोलिको पारिस्थितिक संकट बन्ने जोखिमलाई बेवास्ता गर्न सकिंदैन ।

मिचाहा प्रजातिको समस्या प्राय: सीमापारिबाट अचानक आउने होइन, हाम्रै नर्सरी प्रणाली, सजावटी बगैंचा र योजनाविहीन रोपाइँ अभ्यासबाट शुरु हुन्छ । नेपाल सरकारले जैविक विविधता रणनीति तथा कार्ययोजना, राष्ट्रिय वातावरण नीति र वन नीति मार्फत मिचाहा प्रजातिको समस्यालाई स्वीकार गरेको भए पनि, सजावटी विदेशी वनस्पतिको उत्पादन, बिक्री र प्रयोगलाई लक्षित स्पष्ट तथा कडाइका साथ लागू हुने नीति अझै अभावमै छ ।
हालको नीतिगत व्यवस्था मुख्यत: कागजी प्रतिबद्धतामा सीमित देखिन्छ । नर्सरी दर्ता तथा अनुगमन प्रणाली कमजोर हुनु, विदेशी वनस्पति भित्र्याउँदा जोखिम मूल्याङ्कन अनिवार्य नहुनु र स्थानीय तहमा प्रारम्भिक पहिचान तथा छिटो नियन्त्रण (Early detection and rapid response) को संरचना नहुनुका कारण यस्ता प्रजातिहरू विस्तारै फैलिंदै गएका छन् । यदि यी संयन्त्रहरू व्यवहारमा लागू गरिएनन् भने, आज सानो देखिएको समस्या भोलि नियन्त्रण बाहिर गएर विकराल हुन पुग्छन् ।
त्यसैले अब आवश्यक छ— सजावटी विदेशी वनस्पति भित्र्याउने र उत्पादन गर्ने प्रक्रियामा स्पष्ट नीतिगत मापदण्ड बनाउन आवश्यक छ । जोखिम मूल्याङ्कनलाई अनिवार्य गर्ने, नर्सरीहरूको दर्ता तथा नियमित अनुगमनलाई कडाइका साथ कार्यान्वयन गर्ने व्यवस्थाका साथै स्थानीय तहलाई मिचाहा प्रजातिको पहिचान र व्यवस्थापनमा सशक्त बनाउनुपर्छ । स्थानीय प्रजातिको प्रयोगलाई प्रोत्साहन गर्ने र नागरिकस्तरमा वैज्ञानिक चेतना अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई प्राथमिकता दिन जरूरी छ ।
इनरुवामा फैलिएको एसिस्टासिया ग्याङ्गेटिका को सन्दर्भले भन्छ, समयमै सचेत र नीतिगत कदम नचाले, सौन्दर्यकै नाममा हामी आफ्नै पारिस्थितिक भविष्य जोखिममा पार्दै जानेछौं ।
प्रतिक्रिया 4