+
+
Shares

रुकुमपूर्वमा चुनावसँगै रनिङ शिल्डको रौनक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते ११:०३

२३ माघ, रुकुमपूर्व । ​हिउँले सेताम्मे डाँडाकाँडा । माघको ठिहिर्‍याउने चिसो । रुकुम पूर्वको उच्च हिमाली भेग अहिले हिउँदको चपेटामा छ । तर, यही चिसोलाई चिर्दै पुथा उत्तरगंगा-१० स्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा भने बेग्लै राप र उत्साह छ ।

एकातिर प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँ-गाउँमा राजनीतिक सरगर्मी बढेको छ भने अर्कोतिर शुक्रबारदेखि सुरु भएको १७ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले युवाहरूमा खेलकुदको बेग्लै रौनक थपिदिएको छ।

​निर्वाचनको सरगर्मी र खेलकुदको प्रतिस्पर्धा एकसाथ जोडिँदा जिल्लाको माहोल उत्सवमय बनेको छ । ​चिसो मौसमका कारण जनजीवन कष्टकर बनिरहेका बेला पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाबाट छनोट भएका खेलाडीहरू मैदानमा उत्रिएका छन् । गाउँपालिकास्तरीय छनोट पार गरेर आएका विद्यार्थीहरू भलिबल, एथलेटिक्स र  विभिन्न विधामा आफ्नो कौशल प्रदर्शन गरिरहेका छन् ।

​प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाको प्रदेश मामिला तथा कानुन समिति सभापति दिलकुमारी बुढामगरले खेलकुदलाई विद्यार्थीको सर्वाङ्गिण विकाससँग जोड्नुपर्ने बताइन् । ‘गाउँमा लुकेका प्रतिभालाई राष्ट्रिय मूलधारमा ल्याउन यस्ता प्रतियोगिताले पुलको काम गर्छन्,’ उनले भनिन् ।

​निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरू पनि खेल मैदानमै पुगेर युवाहरूसँग जोडिन थालेका छन् । लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुन मगरले शैक्षिक सुधारसँगै खेलकुदका पूर्वाधार निर्माणमा आफू केन्द्रित रहेको बताए । उनले खेललाई अनुशासनको पालना गर्दै निष्पक्ष ढंगले अघि बढाउन आयोजक र रेफ्रीलाई आग्रह गरे ।

​जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीले स्थानीय तहहरूबीचको समन्वयले मात्रै खेल क्षेत्रको जग बलियो हुने धारणा राखे । त्यस्तै, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ र सिस्नेका अध्यक्ष कृष्ण रेग्मीले खेलकुदमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता जनाए ।

​विकट भूगोल र प्रतिकूल मौसमका बाबजुद प्रतियोगिता सफल बनाउन आयोजक पुथा उत्तरगंगा गाउँपालिका लागिपरेको छ । गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले चिसो र भौगोलिक विकटताका बीच पनि खेलाडीको उत्साहले आफूहरूलाई ऊर्जा मिलेको बताए ।

​जिल्ला खेलकुद विकास समितिका संयोजक हरिबहादुर थापाले रुकुमपूर्वमा खेलकुदको प्रचुर सम्भावना रहेको औंल्याए । उनले खेलाडीहरूलाई खेल भावना र अनुशासनमा रहेर आफ्नो प्रतिभा निखार्न सुझाव दिएका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा आयोजित यस प्रतियोगिताले खेलकुदकाे नाममा  भाषण गर्ने ठलाे समेत भेताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?