+
+
Shares

एक शमशेर जो समाज बदल्न सम बने

पुरु लम्साल पुरु लम्साल
२०८२ माघ २४ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालकृष्ण समले नेपाली रङ्गमञ्चमा भारतीय पारसी थिएटरको प्रभावलाई तोड्दै सूक्ष्म अभिनय र मनोवैज्ञानिक पात्र चित्रणको नयाँ युग सुरु गरे।
  • उनले प्रकाश र ब्याकड्रपलाई दृश्य भाषामा परिणत गरी पात्रको भावना र कथाको प्रतीकात्मकता प्रस्तुत गर्नुभयो।
  • समले नेपाली रङ्गमञ्चमा दुखान्त र वास्तविक जीवनका पीडा, वियोग र मृत्युका सत्यलाई पहिलोपटक मञ्चन गर्नुभयो।

नेपाली साहित्य र रङ्गमञ्चको आकाशमा एउटा यस्तो नक्षत्र उदय भयो, जसले परम्पराको जडतालाई चिर्दै आधुनिकताको नयाँ मार्ग प्रशस्त गर्‍यो । त्यो मार्गका पथप्रदर्शक थिए- बालकृष्ण सम । वि.सं. १९५९ माघ २४ गते काठमाडौँको ज्ञानेश्वरस्थित राणा दरबारको ऐश्वर्यमा जन्मिएका सम राणाहरूको सैन्य विरासत र शमशेर पदवी बोक्न अभिशप्त थि । तर उनको भित्री मनमा एउटा विद्रोही कलाकार जीवित थियो, जसले सेनाको कठोर परेडभन्दा रङ्गमञ्चको सिर्जनात्मक मञ्चनलाई र बन्दुकको गर्जनभन्दा संवादको बौद्धिक शक्तिलाई बढी प्रेम गर्थ्यो । अन्ततः विलासी जीवन र शक्तिशाली पदवीलाई त्यागेर सम बन्नु नै उनको जीवनको सबैभन्दा ठूलो मानवतावादी क्रान्ति थियो ।

बालकृष्ण समको आगमनअघि नेपाली रङ्गमञ्च भारतीय पारसी थिएटरको प्रभावले थिचिएको थियो। त्यतिबेला अभिनय भनेको लाउड हुनु थियो— ठूलो स्वरमा चिच्याउनु, हातगोडा जोख्नु र कृत्रिम भावभङ्गी देखाउनु नै महान् कला मानिन्थ्यो। समले यसलाई चित्कार को संज्ञा दिए र एउटा नयाँ युगको सूत्रपात गरे- विचार को युग। उनले नेपाली नाटकलाई भिक्टोरियन शैलीको गम्भीरता र एलिजावेथन युगको काव्यिकताको उत्कृष्ट संयोजन दिए।

उनले बुझाए कि अभिनय भनेको बाहिरी हाउभाउ मात्र होइन, यो त पात्रको आन्तरिक मनोवैज्ञानिक अवस्थाको प्रकटीकरण हो। उनले भन्थे— “मञ्चमा पात्र रुँदा दर्शकको आँखा रसाउनुपर्छ, कलाकारले घाँटीको नसा फुलाएर चिच्याउनु पर्दैन।” यो सूक्ष्म अभिनयको अवधारणाले नेपाली रङ्गमञ्चमा कलाकारलाई जोकरबाट सच्चा पात्रमा रूपान्तरण गरिदियो। आजको आधुनिक नेपाली रङ्गमञ्चको मेरुदण्ड यही सूक्ष्मतामा टिकेको छ।

सम केवल शब्दका शिल्पी मात्र थिएनन्, उनी रङ्गमञ्चका यस्ता इन्जिनियर थिए जसले काठका फलेक र पर्दाका टुक्राहरूमा पनि प्राण भर्न सक्थे। उनको समयमा रङ्गमञ्च एउटा अँध्यारो गुफाजस्तो थियो, जहाँ प्रकाशको अर्थ केवल उज्यालो मात्र हुन्थ्यो। तर समले प्रकाशलाई दृश्य भाषा मा बदलिदिए।

पुरु लम्साल

उनले पहिलोपटक नेपाली दर्शकलाई देखाए- प्रकाशले पनि कथा भन्छ। वियोगको दृश्यमा मधुरो प्रकाश— मानौँ बत्ती होइन, पात्रको मुटु नै निभ्न लागेको छ। बिहानको झुल्के घामका लागि एम्बर र रातको सन्नाटाका लागि नीलो प्रकाशको मिश्रण गरी उनले हलभित्रै प्रकृतिको आभास गराउँथे। उनका लागि प्रकाश केवल उज्यालो थिएन, त्यो त पात्रको डर, प्रेम र आक्रोशलाई छुने एउटा अदृश्य हात थियो।

त्यसैगरी, एक कुशल चित्रकारका रूपमा उनले नाटकको ब्याकड्रप (पृष्ठभूमि) लाई नयाँ परिभाषा दिए। उनले मञ्चलाई कहिल्यै खाली छोडेनन्। हरेक सेट उनको लागि कथाको मौन पात्र थियो। एउटा पुरानो कुर्सीले त्यो घरको दरिद्रता वा विरासतको कथा बोल्थ्यो। उनले नेपाली रङ्गमञ्चमा सिम्बोलिज्म (प्रतीकात्मकता) भित्र्याए, जहाँ एउटै छायाँले पनि सिङ्गो साम्राज्यको पतनको सङ्केत गर्थ्यो।

नेपाली रङ्गमञ्च लामो समयसम्म संस्कृत नाट्यशास्त्रको सुखान्त घेराभित्र बाँधिएको थियो— नाटकको अन्त्य सधैँ मिलन वा सुखमै हुनुपर्छ भन्ने शास्त्रीय मान्यता। तर वि.सं. १९८६ मा समले मुटुको व्यथा मार्फत एउटा ढुङ्गा प्रहार गरे, जसले परम्पराको शान्त तलाउमा आधुनिकताको तरङ्ग पैदा गर्‍यो। यो नेपाली साहित्यमा दुखान्त को पहिलो र प्रखर गर्जन थियो। समले बुझे— जीवन सधैँ फूलको ओछ्यान हुँदैन। उनले मञ्चमा पहिलोपटक मान्छेको वास्तविक पीडा, वियोग र मृत्युको कारुणिक सत्यलाई उभ्याइदिए।

जब उनको लेखनी अन्धवेगतिर सोझियो, तब रङ्गमञ्चले मान्छेको मनभित्रको अँध्यारो सुरुङ देख्न पायो। उनले देखाए— मान्छे केवल बाहिरी परिस्थितिको दास मात्र होइन, आफ्नै अनियन्त्रित आवेगको बन्दी पनि हो। उनले पात्रहरूलाई कालो र सेतोको सादा रङबाट निकालेर खरानी रङको मानवीय जटिलतामा ल्याई उभ्याइदिए— जहाँ नायक पनि कमजोर हुन सक्छ र खलनायकभित्र पनि संवेदना लुकेको हुन सक्छ।

समका पौराणिक नाटकहरू प्रह्लाद र ध्रुव केवल धार्मिक कथाका मञ्चन थिएनन्, ती त ईश्वर र धर्मका नाममा हुने रुढिवादमाथिका दार्शनिक प्रहार थिए। उनले हिरण्यकशिपुलाई नास्तिक वा विद्रोहीको रूपमा मात्र देखाएनन्, बरु मानवीय अहङ्कार र त्यसको पतनको जीवन्त स्वरूप दिए। उनले घोषणा गरे— “मानवता नै धर्म हो र मानव सेवा नै ईश्वरको प्राप्ति हो।”

ऐतिहासिक नाटकहरू अमरसिंह र भीमसेनको अन्त्य मा उनले इतिहासका वीरहरूलाई देवत्वकरण गरेनन्। बरु उनीहरूका मानवीय कमजोरी, आन्तरिक पीडा र राष्ट्रप्रतिको निष्ठालाई यथार्थपरक ढङ्गले प्रस्तुत गरे। उनले देखाए— रङ्गमञ्च एउटा यस्तो ऐना हो, जहाँ इतिहासका घटनाहरू वर्तमानको चेतनासँग ठोक्किन आइपुग्छन्।

समले रङ्गमञ्चमा एउटा मौलिक दर्शन प्रतिपादन गरे— नियमित आकस्मिकता । उनको विचारमा जीवनमा घट्ने ठूला घटनाहरू अचानक (आकस्मिक) जस्तो देखिए पनि त्यसको पछाडि एउटा निश्चित कार्य–कारण सम्बन्ध (नियमितता) लुकेको हुन्छ। यो दार्शनिक सोचले उनका नाटकका पात्रहरूलाई बढी तर्कसङ्गत र जीवन्त बनायो।

समले रङ्गमञ्चमा एउटा मौलिक दर्शन प्रतिपादन गरे— नियमित आकस्मिकता । उनको विचारमा जीवनमा घट्ने ठूला घटनाहरू अचानक (आकस्मिक) जस्तो देखिए पनि त्यसको पछाडि एउटा निश्चित कार्य–कारण सम्बन्ध (नियमितता) लुकेको हुन्छ। यो दार्शनिक सोचले उनका नाटकका पात्रहरूलाई बढी तर्कसङ्गत र जीवन्त बनायो।

उनको महाकाव्य चिसो चुल्हो रङ्गमञ्चकै विस्तारित रूप जस्तो लाग्छ, जहाँ उनले छुवाछूत र वर्गीय विभेदको अँध्यारोलाई चिर्न शब्दको मशाल बालेका छन्। यो कृतिले उनलाई एक लेखकबाट उठाएर दार्शनिक ऋषिको स्तरमा पुर्‍याइदियो।

२००७ सालको क्रान्तिपछि जर्नेलको पगरी त्यागेर पूर्ण रूपमा सम बनेका उनी राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति बने। तर उनी कहिल्यै सत्ताको भजन गाउने लेखक बनेनन्। रिक्सा चढेर काठमाडौँका गल्लीहरू चहार्नु र भुइँमान्छेका कथा सुन्नुमा नै उनले जीवनको गौरव ठाने। उनले समाजका ती कुरूप अनुहारहरूलाई निर्धक्कसँग नङ्ग्याए, जो नैतिकताको मुखुण्डो लगाएर भित्रभित्रै संवेदनाहीन बनेका थिए।

वि.सं. २०३८ साल साउन ६ गते नेपाली रङ्गमञ्चको यो प्रखर प्रकाश भौतिक रूपमा ओझेल पर्‍यो। तर उनले खनेको गोरेटो आज हाइवे बनेको छ। आजका युवा रङ्गकर्मीहरूले जब एक्सपेरिमेन्टल नाटक गर्छन् वा पात्रको मनोवैज्ञानिक गहिराइ खोज्छन्, उनीहरूले जानेर वा नजानेर समकै व्याकरण पढिरहेका हुन्छन्।

बालकृष्ण सम केवल एक व्यक्ति होइनन्, उनी नेपाली रङ्गमञ्चको एउटा संस्था हुन्। २१औँ शताब्दीको अत्याधुनिक प्रविधिको युगमा पनि समका नाटकहरूले हामीलाई एउटै सन्देश दिइरहन्छन्— मेशिन नबन, मान्छे बन।

उनले नेपाली भाषा र रङ्गमञ्चलाई जुन उचाइ र आधुनिकता दिए, त्यसका लागि यो माटो सधैँ ऋणी रहनेछ।

नेपाली साहित्य र रङ्गमञ्चका ती अजम्बरी नक्षत्र, नाट्य सम्राट बालकृष्ण सम प्रति विनम्र श्रद्धासुमन !

समका कालजयी शब्दहरू सधैँ गुञ्जिरहनेछन्—

यसमा मन फर्काई भित्रै घुस्नुपर्दछ,

नमर्ने हुन उद्योग जति विज्ञान गर्दछ,

उति गर्दछ यो ज्ञान, खाली भेद छ यत्तिमा,

ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ ।

लेखक
पुरु लम्साल

लम्साल नाटककार, कवि तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?