+
+
Shares

भदौ २३ गते बालुवाटारमा जे देखेँ-भोगेँ

नवयुवा पुस्ता जसले देशविदेश देखेको छ, बुझेको छ । समृद्ध मुलुक निर्माणका लागि लालायित, उत्साही छ अनि जिज्ञासु छ । तपाईँहरूले आफ्ना पवित्र आकाङ्क्षामाथि खेलबाड गरेर निरासाको डढेलो लगाउनेहरूलाई चिन्नुपर्छ ।

राधिका शाक्य राधिका शाक्य
२०८२ माघ २४ गते १४:०९

एउटा मान्छे बचाउन कति प्रयास गर्नुपर्छ, के–कति सहनुपर्छ, कति पीडा झेल्नुपर्छ र कति हन्डर खानुपर्छ भन्ने कुराको म आफैँ भुक्तभोगी हुँ । मैले कैयन रात अस्पतालका कुरुवा कक्षमा बिताएकी छु । मान्छे बचाउनका लागि मिलाउनुपर्ने तारतम्य र जोरजमर्कोका जटिलताहरू बिहोरेर बुझेकी छु । त्यसैले होला जब मान्छेका गतिविधिले मान्छे मारिएको खबर सुन्छु, मेरो मन किनकिन त्यसै उद्विग्न भइदिन्छ र मेरा नियन्त्रणबाट बाहिर जान्छ ।

मानिस मरे-मारिएका कुरा मामुली घटना नभएर मेरो आत्मासामु चोटिला प्रश्न बनेर ठिङ्ग उभिन्छन् । चोटपटक, घात, हिंसाका घटना भयो भन्ने सुन्नासाथ त्यसले मलाई खङ्ग्रङ्ग बनाउने गर्छ । मान्छेका साना दु:खले पनि बेचैन हुने म भयावह घटना कल्पना समेत गर्न सक्दिन ।

भदौ २३ गते दिउँसो वानेश्वरमा गोली चल्यो भन्ने सुनेँ, मन एकाएक अस्थिर भयो; बेचैनीले घेर्‍यो । छटपटी बढ्यो, के गरुँ कसो गरुँ भयो; हुन त यस्तो अवस्थामा मैले गर्न सक्ने के नै पो थियो र ?

समाचारहरू तारन्तार आउन थाले । वानेश्वरमा चलेको गोलीले उन्नाइस जनाको ज्यान गएको खबर २३ गतेको साँझसम्ममा सर्वत्र व्यप्त भइसकेको थियो । भदौ २३ अर्थात् सेप्टेम्बर ८ का दिन नवयुवाहरूले सुशासनका पक्षमा आवाज उठाउन गरेको शान्तिपूर्ण प्रदर्शन हेर्दाहेर्दै सोच्दै नसोचेको किसिमबाट हिंसातिर मोडाइएको थियो । त्यसमा दोष कसको थियो भन्ने प्रश्न भन्दा पनि नवयुवाहरूमाथिको मानवजीवन माथिको त्यो आघात धेरैका लागि असाध्यै अकल्पनीय र दु:खद थियो ।

मन भारी भयो । त्यो रात म असाध्यै छट्पटाएँ, ओछ्यानमा पल्टिए पनि निदाउन सकिनँ । आँखा बन्द गर्दा पनि ज्यान गुमाएका नवयुवाहरूको अनुहार देखिन्थे, मान्छेले मान्छेलाई मार्ने र मर्ने वातावरण बन्छ आखिर किन? केका लागि? कसका लागि? मेरा मनमा प्रश्नहरू उठ्थे तर एउटै उत्तर भेटिँदैनथे ।

त्यो रात प्रधानमन्त्री निवास बालुवाटारको वातावरण निकै पेचिलो भयो । सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वबीच थुप्रै विमर्श भए । कुराकानीमा के भयो म जान्दिँन । म यस्ता रणनीतिक संवादका घेराभन्दा अलि बाहिरै हुन्छु; तथापि अलिक टाढैबाट देखिने धुमिल दृश्यबाट पनि के अन्दाज लगाएँ भने परिस्थिति सामान्य थिएन; रहस्यमय शृङ्खला अगाडि बढ्दै गएको आभास हुन्थ्यो ।

यसअघि पनि विभिन्न माग राखेर शान्तिपूर्ण प्रदर्शनहरू भई नै रहन्थ्ये । चित्त नबुझेका कुरामा विरोध गर्नु, आफ्ना फरक विचार राख्न पाउनु संविधानले नै प्रत्याभूत गरेको नागरिकको मौलिक हक हो । तर, शान्तिपूर्ण भनिएको एउटा प्रदर्शनमा किन यति धेरै मानिसले ज्यान गुमाउनुपर्‍यो ? कसलाई चाहिएको थियो मान्छेका मृत्युको सङ्ख्या ? यो संयोग मात्र थियो कि नियोजित ? यस्ता प्रश्न मेरा मनमा बारम्बार ठोक्किइरहे ।

त्यही रात, आफू नयाँ युगको मसिहा र आफूलाई सर्वज्ञाता ठान्ने एक जना जनप्रतिनिधिले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई लक्षित गर्दै एउटा उत्तेजक स्टाटस लेखेका थिए, ‘साँच्चै नै बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस् ।’

अपमानजनक र दुर्वाच्य वाक्यशैली प्रयोग गरेर उनले नियतवस् प्रहार गरेको त्यो वाक्य शब्दहरूको समूह मात्र थिएन । तत्कालको तरल परिस्थितिलाई थप उत्तेजक बनाउन र जनमानस भड्काउनका लागि प्रक्षेपण गरिएको शब्दबम थियो त्यो – जुन सामाजिक सञ्जालद्वारा बर्साइएको थियो ।

उनले कलिला नानीबाबुहरूको रगतको आहालमा पौडी खेलेर कसैको सन्तान उत्पादनसँग सम्बन्धित जैविक क्षमतामाथि प्रहार गरेका थिए । त्यो खासमा प्रधानमन्त्री विरुद्धको कुनै राजनीतिक स्टेटमेन्ट थिएन, त्यो मेरो पवित्र कोखमाथि उठाइएको गम्भीर प्रश्न थियो ।

मेरो मात्र होइन, सन्तान हुन नसकेका आममहिलाका जननीत्वमाथिको प्रहार, उपहास र अपमान थियो । तिनको शब्दबम प्रधानमन्त्रीको पदउपरको डाह र आक्रोश थिएन त्यो त नारी आममातृत्वमाथिको बज्रप्रहार थियो । एक नारीमाथिको यस्तो प्रहारले हृदय कति छियाछिया बनाउँदो रहेछ त्यसदिन मैले अनुभुत गरेँ ।

हो, मेरो कोखबाट बच्चा जन्मिएका छैनन् तर छोराछोरीको माया, बालबालिकाप्रतिको स्नेह र मान्छेप्रतिको प्रेमको भण्डार हामीमा कति फराकिलो छ भन्ने कुरा धेरैलाई थाहा छ । सन्तानप्रतिको मायाममता महसुसै नहुने गरी हाम्रा मनमा कुनै अहंकारको अङ्कुरण कहिल्यै भएको छैन र हाम्रो विवेकमा न बादल लागेको छ न बुद्धिमा बिर्को । यो शब्दक्षेप्यास्त्र हाम्रा संवेदना, मानवता र करुणामाथिको सबैभन्दा चर्को आक्रमण थियो र सत्यविरुद्ध घिनलाग्दो सङ्गिन आरोप पनि । म झन् मर्माहत भएँ । त्यो रात न आँसु रोक्न सकेँ, न कुनै मेसो पाउन सकेँ ।

भोलिपल्ट बिहानैबाट स्थिति झन भड्किदै गयो । २३ गते जस्तै गरी संसद्‌भवन बानेश्वरका पर्खाल भत्काएर भित्र छिर्न खोज्नेहरूले रातारात अर्को गम्भीर चक्रव्यूह रच्दै भदौ २४ गते बिहानैबाट सक्रिय हुन थाले छन् । राज्यको सारा सुरक्षा संयन्त्रलाई शिथिल बनाउँदै सुरक्षाकर्मी आफ्ना कर्तव्यमा खट्न नसक्ने बनाएछन् । त्यही भएर त होला सुरक्षाकर्मी सडकमा निस्कन सकेनन्!

प्रदर्शनकारीहरूले संसद्‌भवनभित्र छिरेर आगो लगाए । त्यसपछि आगो लगाउने क्रम राजनीतिक दलका नेताहरूको घरतिर सोझियो ।

नेताहरूको घर छानीछानी आगो लगाउने क्रमले तीब्रता पायो । प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न भेटघाट र कुराकानी भइरहेका थिए । आगो लगाउने भिड बालकोट स्थित मेरो घरमा पनि गयो भन्ने खबर पाएँ । म जुरूक्क उठेँ । केपी सरलाई खोज्दै बालुवाटारको अर्को बिल्डिङमा गएँ । त्यतिबेला उहाँ सुरक्षा निकायका प्रमुखहरूसँग कुराकानीमै हुनुहुन्थ्यो ।

म सरासर त्यहीँ गएँ र ठिङ्ग उभिँए । उहाँले पनि छक्क परेर हेरिरहनु भयो । म त्यसरी उहाँहरू बसेको बैठक र कुराकानीमा कहिल्यै छेउछाउ नजाने भएकोले पनि त्यसरी हेरेको हुनुपर्छ ।

– ‘म बालकोट जान्छु,’ भूमिका नबाँधी मैले भनेँ ।

– ‘लौ यस्तो अवस्थामा किन जानु बालकोट?’ उहाँ छक्क परेर सोध्नुभयो ।

– ‘घर घेरा हालिरहेका छन् रे । म जान्छु ।’

– ‘तिमी त्यहाँ गएर के गर्छौ? त्यही पनि बाहिर कर्फ्यू छ । बाटो अवरोध छ । त्यहाँसम्म जान सकिने स्थिति नै छैन,’ उहाँले मलाई रोक्नुभयो ।

बालकोटस्थित घरमा प्रदर्शनकारीहरू आउने र गेटभित्र प्रवेश गर्न खोज्ने क्रम चल्न थाले छ । भेला हुनेहरूको सङ्ख्या बढ्दै गयो रे । मूलगेटबाट छिर्न नसकेपछि छिमेकका कम्पाउन्डबाट प्रदर्शनकारीहरू छिरे । घरका सामानहरू लुटपाट गरे ।

लुटपाट गर्नेका लागि काम लाग्ने त्यस्ता बहुमूल्य चिज त के थिए र? तर, हाम्रा लागि अति नै बहुमुल्य चिजहरू थिए । वर्षौँदेखि प्राप्त भएका असङ्ख्य मायाका चिनाहरू थिए; ज्ञानका अखण्ड भँडार मानिने असङ्ख्य पुस्तकहरू थिए । जुन हाम्रा लागि असाध्यै महत्त्वपूर्ण थिए । उनीहरू भान्सामा छिरेर ग्याँस सिलिन्डर, भाँडाकुँडा, लत्ताकपडा, फर्निचरहरू लिएर हिँडे । पैसा, सुनचाँदी, जवाहरतहरू खोजीमेलो गर्दा नभेटिएपछि विलम्ब नगरी घरमा आगो झोसिदिए ।

एकैछिनमा सूचनासञ्जालमा ती दृश्यहरू देखिन थाल्यो । मैले चार दशक लामो जागिर गरेर आर्जन गरेको कमाइले बनाएको संरचनामा हुरहुरी आगो लागेको थियो । त्यो संरचना जल्यो । इट्टा जल्यो । सिमेन्ट जल्यो । झ्याल ढोका जल्यो ।

मैले जतनले उभ्याएको संरचनालाई जलाउँदै आगो हावामा ताण्डव नृत्य गर्दै थियो । अनि त्यहाँ भेला भएका अराजक जमात ध्वस्त हुँदै गएको मेरो घर हेरेर ठूलै विजय प्राप्त भए जसरी उत्सव मनाउँदै थिए ।

केपी सर विभिन्न देशमा र नेपालका विभिन्न जिल्लामा पुग्दा ती ठाउँका ढुङ्गा चिनो स्वरूप ल्याउनुहुन्थ्यो । ती ढुङ्गाहरू जले । विभिन्न जिल्लामा भ्रमण गर्दा सङ्कलित ७७ वटै जिल्लाका मायाका चिनोहरू जले । विभिन्न देशमा भ्रमण गर्दाका महत्त्वपूर्ण तस्विरहरूको सङ्ग्रह थिए ती जले । निकै पुराना डायरी र टिपोटहरू थिए, कतिपय महत्त्वपूर्ण दस्तावेजहरू थिए ती सबै सबै जले । कति यत्नले जोडिएका र कति जतनसाथ राखिएका ती सबै खरानी भए । घर होइन इतिहास जले, सङ्ग्राहलय जले, पुस्तकालय जले ।

पुस्तकालयका लागि एउटा छुट्टै टहरा थियो । जसमा दस हजारभन्दा बढी पुस्तकहरू थिए । हामीलाई प्राप्त मायाको चिनो देख्दा त रिस उठ्यो होला मानिलिऔँ तर ती पुस्तकमा आगो किन लगाइयो होला ? हेर्दाहेर्दै सबै संरचना आगो भयो, धुवाँ बनेर उड्यो र खरानी बनेर बिलायो ।

साँच्चिकै नेपाली मनमस्तिष्क भएका भए तिनीहरूले ज्ञानको मन्दिरभित्र आगो झोस्न कसरी सक्थे होला तर ती कस्तो मनमस्तिष्क भएका मानिस थिए होलान्? यस्ता प्रश्नले त्यस क्षणबाट रन्थनिएको मेरो मानस अद्यापि निरुत्तर रन्थनिइरहेकै छ ।

आगो लगाउने क्रम संसद्‌भवन र लोकतन्त्रका लागि निष्ठावान् राजनीतिक दलका नेताका घरमा मात्रै सीमित रहेन । उपत्यकाका सबैजसो प्रहरी प्रभागहरूमा आगो लगाइयो । सिंहदरबार जलाइयो । सर्वोच्च अदालत जलाइयो । राष्ट्रपति निवास, मन्त्री निवासलगायत थुप्रै सरकारी भवनहरू खरानी पारिए । देशभरका थुप्रै स्थानीय तहमा लुटपाट गरियो र आगो लगाइयो । भाटभटेनीसहितका थुप्रै व्यावसायिक बन्दोबस्ती ध्वस्त पारिए; खर्बौँका वस्तुहरू खाग बनाइए ।
शेरबहादुर देउवा दम्पतीले आफ्नै निवासमा निर्घात कुटिनुपर्‍यो । उहाँहरूमाथि ज्यानै लिनेसम्मको हर्कत गरिए पनि भाग्यवश उहाँहरूको ज्यानसम्म जोगियो । यसरी भौतिक रूपमा अरू थुप्रैले आक्रमण बेहोर्नु पर्‍यो । रविलक्ष्मी चित्रकारलाई घरभित्रै राखेर आगो लगाइयो – ठूलो उपचारपछि मुस्किलले बच्नु भयो उहाँ । महाराजगञ्जमा प्रहरीलाई कुटीकुटी मारियो ।

त्यो दिन दिउसो केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिइसक्नुभएको थियो । हामीलाई सुरक्षाको कारण देखाएर बालुवाटारबाट निस्कनका लागि सुरक्षाकर्मीहरूले व्यवस्थापन मिलाउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन/चार सय फौजले पहरा दिने गरेको बालुवाटार समेत त्यसदिन सुरक्षित भएन ।

हामीलाई लिनका लागि हेलिकोप्टर आयो । हेलिकोप्टर चढेर हामी आकाशतर्फ उडाइयौँ । आकाशबाट तल हेर्दा काठमाडौँ उपत्यका जताततै आगोको मुस्लोले ढाकिएको थियो । कुनै युद्धग्रस्त क्षेत्रजस्तो देखिन्थ्यो । त्यो दृश्यले मनमा असह्य पीडा दियो, मन साह्रै रोयो । मन्दिरै मन्दिरको कान्तिपुर सहर युद्धभूमिजस्तो देखिन्थ्यो । सहर आगो, धुवाँ र खरानीको भुँमरीमा कोलाहलमय बनाइएको थियो ।

भदौ २४ गतेको आगजनी, लुटपाट, भागदौड र सुरक्षाकर्मीमाथि भएको आक्रमणमा ५४ जना व्यक्तिको ज्यान गएको थियो ।

त्यो रात हामी नेपाली सेनाको संरक्षणमा थियौँ तर मानसिक रूपले अत्यन्तै असुरक्षित रूपमा । म बारम्बार आफैंलाई सोध्थेँ, यो सपना हो कि विपना ? आँखाले देखेको कुरा पनि दिमागले पत्याउन मान्दैन थियो । किन यस्तो भयो ? एकै दिन, एकै सहर, एकै देशमा यति धेरै क्रोध कसका विरुद्धको विस्फोट भएको ? उत्तर थिएन ।

मेरा मनमा केवल प्रश्नहरूको चाङ लाग्दै गए । हामी कस्तो सामाजिकीकरणको जगमा रहेछौँ । कति कमजोर भइरहेको रहेछ मानवता यहाँ, एक मौका पाउँदा छिमेकीले नै छिमेकीका घरमा आगो झोस्न सक्ने कति खँदिलो विश्वासको स्नेहबन्धन हामी नेपालीहरूमा?

सुरक्षाका कारण भन्दै हाम्रो मोवाइल फोन पनि सुरक्षाकर्मीहरूले नै राख्नुभयो । बाहिर बन्दुक बोकेका सिपाहीले पहरा दिनुभएको थियो । म भने आफ्नै मनभित्र उठेका प्रश्नको घेरामा बन्दी बनेको थिएँ । मनभित्र एक प्रकारको कोलाहल थियो । घरी-घरी चिच्याउन मन लाग्थ्यो । के यही हो मेरो देश ? के यही नै हो मैले श्रद्धा र विश्वास गरेको माटो ?

नेपाली सेनाको व्यारेकका चिसा भित्ताले सुरक्षाको प्रत्याभूति दिलाउने प्रयास गरिरहे पनि केलाई सुरक्षा मान्ने म विलखबन्दमा परिरहेँ । के सुरक्षा भनेको यही हो त ? देश जलिरहेको बेलामा मैले आफ्नै ज्यान जोगाउनु मात्रै त अपराध हो; बेलाबेला मनले च्वास्स च्वास्स घोचिरहेको थियो ।

मेरा मनमा बेलाबेला प्रश्न उब्जिन्छ; हामी नेपालीहरू कोबाट डराउनु पर्ने हो ? हामी कोबाट जोगिइने हो ? हामी कोबाट सुरक्षा महसुस गर्न सक्छौँ अनि हामीलाई कसबाट असुरक्षाको डर छ ? हाम्रा मनमा लागेको आगो कसले निभाउन सक्ला ?

आँखा बन्द गर्दा पनि मेरो घरको हरेक कुना र भित्तामा सजाइएका अमूल्य वस्तु र ऐतिहासिक घटनाका तस्विरहरू आँखै अगाडि झल्झली आउँथे । निमेषभरमै आगो दन्दनी बलेको दृश्य फिर्फिरेजस्तो घुमिरहन्थ्यो । आँखा खोल्दा पनि धुवाँले आँखै पोलेको अनुभूति हुन्थ्यो ।

सडकमा ढलेका नवयुवाहरूको मृत शरीर, जलाइएका भौतिक संरचना र खरानी बनाइएका पुस्तकालयबिचमा के सम्बन्ध होला? यी सबै परिघटनालाई एकै ठाउँमा राखेर हेर्दा मैले के गुमाएँ अनि के बचाएँ भन्ने सवालले मलाई तिरिमिरी झ्याइँ बनाउँथ्यो ।

सडकमा सुशासनको माग राखेर प्रदर्शनमा सहभागी अबोध नवयुवाहरूलाई कसले निषेधित क्षेत्रमा प्रवेश गर्न उक्स्यायो होला? सार्वजनिक सम्पत्तिको सुरक्षाको जिम्मेवारी लिएर बसेको सुरक्षाकर्मीको कर्तव्य र शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकार छुट्याउने प्रष्ट रेखामा कसले रङ्ग पोतेर सुरक्षाकर्मी र नवयुवालाई गुमराहमा पार्‍यो होला ?

सुरक्षाकर्मी आफ्नो कर्तव्यमा दृढ हुने र नागरिक आफ्नो अधिकारमा प्रष्ट हुँदा दुर्घटना हुनुपर्ने कुनै कारण हुँदैन तर दुर्भाग्य जे नहुनुपर्ने हो त्यही भयो । यता नागरिकको ज्यान जाने उता भौतिक संरचना खरानी हुने । सबैले हार्ने यो खेल कसले रच्यो ? आज पो प्रश्न वर्जित जस्तै छ तर इतिहासले यसको जवाफ एक न एक दिन अवश्य खोज्ला ।

अँध्यारो कोठामा आफू सुरक्षित बसेर नवयुवालाई जोखिमको आगोमा धकेलेर स्वार्थको रोटी सेक्नेहरूले पाउनुपर्ने कुरा पाए होलन् सायद । तर, ती युवा जसमा स्वच्छ सपना थियो, समय थियो, भविष्य थियो तिनले मृत्युवरण गर्न अभिषप्त हुनुमा कोको जिम्मेवार हुनुपर्ने हो ? यो गल्ती कसको हो ? हामी सबैको हो या कि कसैको पनि होइन ?

त्यो दिन देश जलेको थियो । विश्वास ढलेको थियो । आगोले भवन जलाएको मात्र थिएन मानिसहरू बिचको मानवीयता र भरोसाका पुल भत्काएका थिए । जलेर खरानी बनेको घरमा निकै दिनपछि पुगेँ । केही बाँकी थिएन । सबै जलेका थिए । पुस्तकालयमा पुगेँ ।

किताबहरू जलेर खरानी भएका थिए । आँसुमा मुछेको खरानीको टीका लगाएँ । पुस्तकालय जलाएर उत्सव मनाउनेहरूलाई मनमनै एउटै प्रश्न सोधेँ, ‘आखिर यो सब केका लागि थियो?’

यदाकदा सुन्छु हरेक प्रश्नमाथि प्रतिप्रश्न गर्दै मान्छेको जीवनभन्दा पुस्तक ठूलो हो ? पुस्तकालय ठूलो हो ? घर सम्पत्ती ठूलो हो ? मेरो जवाफ, ‘होइन । मान्छेको जीवन नै ठूलो हो ।’ तर प्रश्नमाथिको प्रतिप्रश्नले मात्र हरेक जिज्ञासा मेटाउँदैन । मेरो मनले यसमा थप प्रश्न मात्र यति गरिरहन्छ – के ती मानिसको जीवन लिन मेरा पुस्तकालयका पुस्तकहरू गोली बनेर तिनका छातीमा छिरेका थिए?

२३ गते भएको प्रदर्शनमा १९ जना यूवाहरूको ज्यान जानुमा केपी ओलीको हात छ भनेर असाध्यै गलत भाष्य खडा गरिँदैछ । कतिपय बौद्धिक भनिने व्यक्तिहरूबाट नै यस्तो अतिरञ्जित प्रचार गरेको देख्दा मन दुख्दो रहेछ । हामीले अहिलेसम्म बालबालिकाको भलाइका लागि गरेका कामहरू जगजाहेर छन् । तथ्यले नै त्यो कुरा बोलिरहेको छ । तर आज गलत कथ्य प्रचार गरेर भ्रम छरिँदैछ – मानिस भ्रमको सहारा लिएर के पाउन खोजिरहेको छ?

केपी सरको बालबालिकाप्रतिको अति स्नेह र युवाहरूप्रतिको अति आशा, विश्वास र हार्दिकता देखेर बरु मलाई कहिलेकाहीँ दिक्क लाग्छ । प्रधानमन्त्रीले कुनै प्रदर्शनमा गोली चलाउनु, मान्छे मार्नु भनेर आदेश दिने र कार्यान्वयन गर्ने संयन्त्र कानुनी व्यवस्था छँदै छैन । आफूलाई नियम, कानुन र प्रक्रियाका सर्वज्ञाता ठान्ने विद्वान्‌हरूले समेत यस घटनालाई अतिरञ्जित गरी प्रधानमन्त्रीलाई दोषी करार गर्ने प्रयत्न गरेको देख्दा मलाई आश्चर्य लाग्छ, उदेक लाग्छ र तीन छक हुन्छु म अचेल ।

के यो देशको सबैभन्दा ठूलो दुष्मन केपी ओली नै हो त ? राष्ट्रियताको कुरा गर्नु अपराध हो ? समृद्धिको सपना देख्नु गल्ती हो ? सुखी नेपालीको परिकल्पना गर्नु नहुने हो ? आफ्नो ज्यान र स्वास्थ्यको परवाह नगरी दिनरात खटिनु दोष हो ? इमान्दार हुनु अपराध हो ? प्रश्न लोकतन्त्रको आत्मा हो तर घृणा र आरोपको आँधीले सत्यलाई ढाक्दा प्रश्न ओझेलमा पर्छ । जुन देश समाज र समयका लागि दुर्भाग्यपूर्ण हुन सक्छ ।

यही देशमा काजी भीम मल्लले राष्ट्रका लागि असल कर्म गरेवापत काटिनु परेको इतिहास साक्षी छ । उनकी पत्नीले चितामा जल्दै गर्दा ‘यो देशमा राम्रो काम गर्नेको भलाइ नहोस्’ भनेर सराप दिएर गएकी थिइन् भनिन्छ । आज पनि यो देश सतीले सरापेको देश हो भन्ने भनाइ नै छ । उनै सतीको सरापले काम गरिरहेको छ भन्ने कुरामा त म विश्वास गर्दिनँ तर के हामी ठिक गरिरहेका छौँ ? सत्य र निष्ठाको अपमान गरेर हामी कहाँ पुगौँला ?

जानिने गरी, देखिने गरी अनि बुझिने गरी केही तप्काले यो देशको सबै भन्दा ठूलो दुष्मन नै केपी ओली हो जसरी नियोजित दुष्प्रचार गरिरहेका छन् । जसरी तिनले नियतवश गलत भाष्य खडा गर्नका लागि शक्ति खर्चेका छन् तिनलाई त मेरो भन्नु केही छैन तर खुला हृदयले सोच्नुपर्ने र भविष्यको नेतृत्व लिनुपर्ने नवयुवाहरूलाई म यत्ति चाहिँ भन्छु :-

प्रिय नानीबाबुहरू ! हामी त कति नै बाँचुला र तर तपाईँहरूको समय छ, उमेर छ, बेला छ । यो देशको माटो तपाईँहरूको हो । माटो रहे तपाईँको भविष्य रहन्छ । सत्यको मार्गमा हिंड्नुहोस्, तथ्यको जगमा उभिनुहोस् । आवेगको आगोमा हैन, विवेकको उज्यालोमा हिंड्नुहोस् ।

यो देश तपाईँहरूकै हो । आजभोलि परिवर्तनको नारा निकै उरालेको सुन्छु । साँचो अर्थमा परिवर्तन भनेको के हो भन्ने कुरा हामीले गहिरोसँग बुझ्नु जरूरी छ । परिवर्तन भनेको कुनै जादुमन्त्रबाट हुने चमत्कार होइन । यो त विधि, प्रक्रिया र लामो अभ्यासबाट हुने गुणात्मक बदलाव हो । परिवर्तन भनेको फगत व्यक्ति परिवर्तन गर्ने कुरा होइन, अवस्थाको परिवर्तन मात्र साँचो अर्थमा परिवर्तन हो । जसका लागि प्रणाली प्रक्रिया र धैर्य अनिवार्य सर्त हुन् ।

अहिले नेपालमा केही भइरहेको छैन भनेर जसरी निराशाको खेती गरिएको छ त्यो पनि सही होइन । हाम्रो जस्तो भौगोलिक अवस्थिति र अस्थिर राजनीतिले गाँजिरहेको मुलुकमा भौतिक पूर्वाधारको विकासले गति लिँदै थियो । यस्तो अवस्थामा अझ धेरै सामूहिकता, एकता, सहकार्य र प्रतिबद्धताको खाँचो छ ।

नवयुवा पुस्ता जसले देशविदेश देखेको छ, बुझेको छ । समृद्ध मुलुक निर्माणका लागि लालायित, उत्साही छ अनि जिज्ञासु छ । तपाईँहरूले आफ्ना पवित्र आकाङ्क्षामाथि खेलबाड गरेर निरासाको डढेलो लगाउनेहरूलाई चिन्नुपर्छ । यो बेलामा निरासाको डढेलो हैन, आशाको प्रकाश छाउनुपर्छ ।

संसारमा सबै चिज सकिँदा पनि प्रश्न सकिने छैन । हामीले गरेको कर्मबाट सिर्जित प्रश्नले कहिल्यै नसताओस्— किन यस्तो भयो? आखिर कसको जित भयो ? अनि कसको हार भयो ?

त्यो भदौरे आँधीमा परी ज्यान गुमाउने निर्दोष व्यक्तिहरूप्रति हार्दिक श्रद्धासुमन् । जसले ज्यान गुमाए त्यसले बनाएको खाडल अपूरणीय छ । यस्ता दिनहरू कहिल्यै नदोहोरियोस् ।

आगोले घर, भवन, संरचना जलायो जुन कहिल्यै फर्केर आउँदैन तर विश्वास नजलोस् । हाम्रो मानवता र सहअस्तित्व नजलोस् । करुणा नजलोस् । निष्ठामा बसेर हामी वाचा मारौँ – अब मानवता नमरोस् । सभ्यता नमरोस् । भाइचारा नमरोस् । र यो माटोमा – मातृत्वले कहिल्यै र कसैबाट प्रकोपित र आलापित हुनु नपरोस् । बस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?