News Summary
Generated by OK AI. Editorially reviewed.- एप्पलले फेब्रुअरी १९ मा नयाँ आइफोन १७ ई सार्वजनिक गर्ने तयारी गरिरहेको छ जसको मूल्य ५९९ अमेरिकी डलर रहनेछ।
आइफोन प्रेमीहरूका लागि फेरि एकपटक उत्साहजनक खबर आएको छ । एप्पलले यही फेब्रुअरी महिनाभित्र आफ्नो नयाँ आइफोन १७ ई सार्वजनिक गर्ने तयारी गरिरहेको छ । गत वर्ष फेब्रुअरीमा एप्पलले आइफोन एसईलाई बन्द गर्दै आइफोन १६ई बजारमा ल्याएको थियो । यही फेब्रुअरी १९ मा एप्पलले ‘आइफोन १७ ई’ सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ । यो मोडेल आइफोनको पछिल्लो सिरिजभित्रको सबैभन्दा सुपथ मूल्यको आइफोन हुने अनुमान गरिएको छ।
सस्तो आइफोन तर महत्वपूर्ण अपग्रेड
रिपोर्टहरूका अनुसार आइफोन १७ई मा अघिल्लो मोडेलको तुलनामा चारवटा प्रमुख सुधार देख्न सकिनेछ । डिजाइनका हिसाबले भने फोनमा धेरै ठूलो परिवर्तन हुने छैन । यसको बाहिरी स्वरूप धेरै हदसम्म आइफोन १६ई जस्तै रहनेछ । तर यसपटक सबैभन्दा चासोको विषय बनेको छ- स्क्रिनको नच हटाएर डाइनामिक आइल्याण्ड राख्ने कि नराख्ने भन्ने कुरा ।
विभिन्न श्रोतका अनुसार आइफोन १७ई मै एप्पलले डाइनामिक आइल्याण्ड राख्नसक्छ । स्क्रिनको माथिल्लो भागमा रहेको खाली ठाउँ अर्थात् नचलाई सफ्टवेयरमार्फत चलायमान बनाएर त्यो स्थानमा रियल टाइम गतिविधिहरू देखाउने फिचर नै डाइनामिक आइल्याण्ड हो ।
शक्तिशाली चिप र नयाँ कनेक्टिभिटी
प्रविधिको पक्षमा आइफोन १७ ईले ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । यसमा ए१९ चिपसेट प्रयोग गरिनेछ जसले फोनलाई अझ तेज र कम विद्युत खपत गर्ने बनाउनेछ । साथै एन वान चिपको प्रयोगले वाइफाइ ७ र ब्लुटुथ ६ जस्ता अत्याधुनिक कनेक्टिभिटी फिचरलाई सपोर्ट गर्नेछ ।
यसका साथै एप्पलको नयाँ सी१एक्स मोडेम पनि यो फोनमा समावेश हुन सक्ने चर्चा छ । एप्पलका अनुसार यो दोस्रो पुस्ताको मोडेम अघिल्लो संस्करणभन्दा दोब्बर छिटो र अत्यन्तै उर्जा दक्ष हुनेछ । जसका कारण ब्याट्री ब्याकअप उच्च हुनुका साथै सुपरफास्ट फाइभ जी स्पीड पनि प्राप्त हुनेछ।
आइफोन १७ ई मा अन्य मोडेलहरूजस्तै मेगासेफ सपोर्ट पनि रहनसक्ने अनुमान छ । आइफोन १६ईमा केवल ७.५ वाटको वायरलेस चार्जिङ उपलब्ध थियो । तर यसपटक २० वाटदेखि २५ वाटसम्मको म्याग्नेटिक वायरलेस चार्जिङ आउन सक्ने अपेक्षा गरिएको छ । यसले प्रयोगकर्तालाई म्याग्नेटिक वालेट, ब्याट्री प्याकजस्ता सामानहरु सजिलै प्रयोग गर्न सहयोग गर्नेछ ।
यो मोडेलको क्यामेराको कुरा गर्दा पछाडिको भागमा एउवटा ४८ मेगापिक्सेलको क्यामेरा हुने सम्भावना छ । यो फोनको मूल्य आइफोन १६ई कै जस्तो हुने र यसको सुरुवाती मूल्य ५९९ अमेरिकी डलर हुने बताइएको छ।
आइप्याड १२ पनि सँगै आउने
एप्पलले आइफोन १७ई सँगै आइप्याडको नयाँ संस्करण आइप्याड १२ पनि सार्वजनिक गर्न सक्ने चर्चा छ । यसको डिजाइन आइप्याड ११ जस्तै रहनेछ भने ए १८ चिप र ८ जिबीसम्मको र्याम उपलब्ध हुन सक्छ । साथै यसमा एप्पल इन्टेलिजेन्सको सपोर्ट पनि दिइने अपेक्षा गरिएको छ । यद्यपि आइप्याड १२ को मूल्यबारे भने एप्पलले अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन ।
(एजेन्सी)
प्रतिक्रिया 4