२६ माघ, काठमाडौं । २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवार फराकिलो अन्तरले निर्वाचित भएको ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निवर्तमान मन्त्री जगदिश खरेललाई उम्मेदवार बनाएको छ ।
गत निर्वाचनमा जितेका एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले अन्य प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि पारेका थिए । दोस्रो स्थानका लागि भने तीन दलले प्रतिस्पर्धा गरेका थिए । ५९ वर्षीय एमालेका उम्मेदवार प्रेमबहादुरले तत्कालीन समयमा १५ हजार २५ मत प्राप्त गरी निर्वाचित भए । त्यस समयमा निर्वाचित एमाले उम्मेदवार प्रेमबहादुरले दोस्रो स्थानमा हुनेलाई ६ हजार बढी मतले पछि पारेका थिए ।
दोस्रो, तेस्रो र चौथो स्थानको मत प्राप्त गर्ने तीन उम्मेदवारको एक आपसको मतान्तर भने न्यून थियो ।
हाम्रो नेपाली पार्टी, रास्वपा र एकीकृत समाजवादीका तीन उम्मेदवारले मत ८ हजार कटाएपनि ९ हजार माथि पुग्न सकेनन् । हाम्रो नेपाली पार्टीका उम्मेदवार सुदिन शाक्यले ८ हजार ८८६, रास्वपाका बुद्दरत्न महर्जनले ८ हजार ६६६ र एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८ हजार २६४ मत प्राप्त गरेका छन् । कृष्णलाललाई कांग्रेस र तत्कालीन माओवादी केन्द्रको समर्थन हुँदा समेत उनी चौथो स्थानको मत प्राप्त गरे ।
एमालेबाट उनै उम्मेदवार दोहोरिँदा अन्य दलले भने फरक अनुहारलाई अघि सारेका छन् । दोस्रोपटक सोही पदका लागि प्रत्यासी प्रेमबहादुरले ‘सुरक्षित वर्तमान र भविष्यका लागि चुनाव चिन्ह सूर्यमा मतदान’ गर्न आग्रह गर्दै मतदाताकहाँ पुगिरहेका छन् । एमालेको प्रचारलाई प्रभावकारी बनाउन १ हजार ७१७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । परिचालन समितिको संयोजक हरिकृष्ण व्यञ्जनकार बनेका छन् । उक्त समितिको सहसंयोजकमा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडाल छन् ।
गत निर्वाचनमा प्रत्यक्षतर्फको मतमा रास्वपा तेस्रो रहेपनि समानुपातिकमा भने प्रथम भएको थियो । रास्वपाले ११ हजार ८१५ मत पाउँदा एमाले ११ हजार ८५ मत सहित दोस्रो स्थानमा रह्यो । गत निर्वाचनमा प्रत्यक्षमा जित्न नसकेको र समानुपातिक तर्फ पहिलो रहेको यस क्षेत्रमा पूर्वमन्त्री एवं सञ्चारकर्मी जगदिश खरेल प्रत्यासी छन् ।
उम्मेदवारी दर्ताको दिन (माघ ६) मा मन्त्री पदबाट राजीनामा दिएर उनी चुनावी मैदानमा उत्रेका छन् । अघिल्लो चुनावमा यस क्षेत्रमा प्रतिस्पर्धी बनेका बुद्धरत्न महर्जनलाई ललितपुर–१ को टिकट दिएर खरेललाई यहाँ उम्मेदवार बनाइएको छ ।
कांग्रेसले यस क्षेत्रमा गत निर्वाचनमा उम्मेदवार उठाएन । चुनावी गठबन्धन गर्दा यो क्षेत्र एकीकृत समाजवादीको उम्मेदवार हुने गरी क्षेत्र बाँडिएको थियो । प्रत्यक्ष उम्मेदवार कांग्रेसबाट नभएको ललिलपुर–२ मा समानुपातिकतर्फ पनि कांग्रेस बलियो शक्ति गत निर्वाचनमा देखिएन । समानुपातिक तर्फ तेस्रो स्थानमा रहेको कांग्रेसको पक्षमा ९ हजार २५२ मत खसेको थियो । कांग्रेसले ५९ वर्षीय प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ । ‘सुधारको यात्रा — कांग्रेसको प्रतिज्ञा, बदलियो कांग्रेस, बदल्छौं नेपाल, बदलिएको कांग्रेसले सुधार्छ नेपाल’ चुनावी नारा तय गरेर कांग्रेसका उम्मेदवार महर्जन प्रचारमा जुटेका छन् ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्मालाई डाकेर तीनै क्षेत्रका उम्मेदवार राखेर चुनावी कार्यक्रम गरिएको छ । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले उक्त कार्यक्रममा ललितपुरका तीनै क्षेत्रका कांग्रेसबाट उम्मेदवार बनेकालाई जिताउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावमा सबैभन्दा ठूलो बल भनेको पार्टी एकता भएको र पार्टी एकढिक्का भएर चुनावमा लागेको कांग्रेस उम्मेदवार महर्जनले प्रचारको क्रममा बताउँदै आएका छन् ।
अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले पनि यस क्षेत्रमा उम्मेदवार बनाएन । एकीकृत समाजवादीलाई सघाउन माओवादी केन्द्रले आफ्नो उम्मेदवार बनाएको थिएन । कांग्रेस र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनले चौथो स्थानको मत प्राप्त गरेका थिए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ५३ वर्षीय राजेन्द्र अमात्यलाई उम्मेदवार बनाएको छ । आसन्न चुनावमा प्रतिस्पर्धाका लागि ललितपुर–२ मा दल र स्वतन्त्र गरी २३ उम्मेदवार छन् ।
राप्रपाले यस क्षेत्रमा रघुवरराज थापालाई उम्मेदवार बनाएको छ । उनी पूर्व कर्णेल हुन् । यसअघिको निर्वाचनमा पनि उनी नै राप्रपाको उम्मेदवार थिए । उनले ६ हजार ६४६ मत प्राप्त गरेका थिए । उनी उपप्रध्यापक पनि हुन् ।
ललितपुर– २ मा महालक्ष्मी नगरपालिकाका सबै वडा पर्दछन् भने ललितपुर महानगरपालिकाको ६–९, ११, १२, १६, १७ र १९ वडा पर्दछन् । महालक्ष्मीमा एमालेका उम्मेदवार निर्वाचित भएका थिए भने ललितपुर महानगरको प्रमुख कांग्रेसले जितेको छ । यस क्षेत्रमा पर्ने महानगरका ललितपुर वडाहरूमा कांग्रेसले जितेका वडाहरूमा ६, ७, ८, ९, ११, र १६ नम्बर वडा छन् । एमाले १२, १७ र ९ नम्बर वडा एमालेले जितेको छ ।
प्रतिक्रिया 4