News Summary
Generated by OK AI. Editorially reviewed.- इटली आईसीसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भयो।
- स्कटल्यान्डले २०७ रनको विशाल लक्ष्य पछ्याएको इटलीलाई १३४ रनमा अलआउट गर्दै टी-२० विश्वकपमा पहिलो जित हात पार्यो।
- दक्षिण अफ्रिका र जिम्बाबेले पनि आफ्नो खेल जित्दै टी-२० विश्वकपमा विजयी सुरुवात गरेका छन्।
मुम्बई । युरोपियन राष्ट्र इटली फिफा विश्वकपको चार पटकको विजेता टिम हो । पहिलो पटक आईसीसी टी-२० विश्वकपमा छनोट हुँदै इतिहास रचेको इटली क्रिकेट विश्वकपको पहिलो खेलमा भने अर्को युरोपियन राष्ट्र स्कटल्यान्डसँग पराजित भयो ।
समूह सी अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डले इटलीलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टी-२० विश्वकपको युरोपियन रिजनल छनोटको फाइनलमा स्कटल्यान्डलाई नै स्तब्ध पार्दै पहिलो पटक टी-२० विश्वकपमा पुगेको इटलीको संयोगवश डेब्यू खेल नै स्कटल्यान्डसँग पर्यो ।
बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा विश्वकपका खेल खेल्ने अस्वीकार गर्दा उच्च वरियताको आधारमा स्कटल्यान्डले भाग्यमानी बन्दै विश्वकप खेल्ने अवसर पाएको थियो ।
भारतको कोलकतास्थित एडेन गार्डेनमा सोमबार भएको खेलमा स्कटल्यान्ड इटलीमाथि हावी रह्यो । पहिलो खेलमा वेस्ट इन्डिज विरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि पराजित भएको स्कटल्यान्डले इटली विरुद्ध विश्वकप छनोटमा व्यहोरेको हारको मिठो बदला समेत लिँदै यस संस्करणमा पहिलो जित हात पार्दै सुपर एट प्रवेश गर्ने सम्भावना समेत कायम राखेको छ ।
सोमबारै दक्षिण अफ्रिका र जिम्बाव्वेले पनि आ-आफ्नो खेल जित्दै विजयी सुरुवात गरेको छ ।
मुन्से र लिस्क चम्केपछि स्कटल्यान्डको बदला
जुलाईमा नेदरल्याण्ड्समा छनोटमा इटलीले स्कटल्यान्डलाई १२ रनले स्तब्ध पारेको थियो । त्यसबेला इटलीले पहिले ब्याटिङ गर्दै २० ओभरमा १६७-६ रन बनाएको थियो ।
जवाफमा स्कटल्यान्डले ५ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । जर्ज मुन्सेले सर्वाधिक ७२ रन बनाउँदा बलिङमा माइकल लिस्कले सर्वाधिक ३ विकेट लिएका थिए ।
फेरि एकपटक स्कटल्यान्डका लागि मन्से र लिस्क नै चम्के । यस पटक भने उनीहरुको प्रदर्शन उत्कृष्ट रह्यो र इटलीलाई हराउनका लागि स्कटल्यान्डका लागि निर्णायक प्रदर्शन गरे । स्कटल्यान्ड यस संस्करण टी-२० विश्वकपमा २०० रनको स्कोर पार गर्ने पनि पहिलो टिम बन्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले मन्सेको ८४ रन मदतमा ४ विकेट गुमाएर २०७ रन बनाएको थियो । मन्सेले ५४ बल खेल्दै १३ चौका र २ छक्का प्रहार गरे । यस्तै माइकल जोन्सले ३० बलमा ३७ रन जोडे । ब्रान्डेन म्याकमुलेनले आक्रमक ब्याटिङ गर्दै १८ बलमा ४ छक्का प्रहार गर्दै अविजित ४१ रन बनाए । माइकल लिस्कले केमियो इनिङ्स खेल्दै अविजित २२ रन जोडे । उनले ५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे ।
टी-२० विश्वकपको डेब्यु खेलदै २०७ रनको विशाल लक्ष्य पछ्याएको इटली २० बल अगावै १३४ रनमा अलआउट भयो ।
इटलीका कप्तान वायने म्याडसेन पहिलो इनिङ्समै फिल्डिङ गर्ने क्रममा सोल्जर डिसलोकेट हुँदै मैदान बाहिरिएपछि इटलीलाई झट्का लागेको थियो ।
इटलीका लागि बेन मानेन्तीले ५२ रन बनाउँदै आफ्नो टिमका लागि टी-२० विश्वकपमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने । बेनले ३१ बल खेल्दै ५ चौका र १ छक्का मदतमा ५२ रन जोडे । ह्यारी मानेन्तीले ३७ र जेजे स्मट्सले ११ बलमा २२ रन जोडे ।
इटलीलाई अलआउट गर्न माइकल लिस्कले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । मार्क वाटले २ तथा ब्राड करी, ब्राड ह्विल र ओलिभर डेविडसनले समान १ विकेट लिए ।
इटलीलाई भने डेब्यु खेलमा हार र कप्तानको चोटको दु:ख एकै पटक पुग्यो । खेलपछि प्रशिक्षक जोन डेभिडसनले कप्तान घाइते हुँदा त्यसको असर टिममा परेको प्रतिक्रिया दिए ।
उनले पहिलो खेलमा राम्रो अनुभव भएको र अब मुम्बई गएर बलियो टिम नेपालसँग खेल्न तयार हुनुपर्ने बताए ।
समूह सी को अवस्था
इटलीलाई हराएपछि स्कटल्याले समूह सी मा अंक खाता खोलेको छ । यस समूहमा अहिलेसम्म तीन खेल भइसकेको छ । जसमा इंग्ल्याण्ड, वेष्ट इन्डिज र स्कटल्यान्डले समान २ अक जोडेका छन् ।
स्कटल्यान्डले दुई खेल खेलिसकेको छ र १ जित र १ हारको नतिजा निकाल्दा बाँकि चार टिमले एक-एक खेल खेलेका छन् ।
रनरेटमा आधारमा वेष्ट इन्डिज शीर्ष स्थानमा छ भने स्कटल्यान्ड दोस्रो र इंग्ल्याण्ड तेस्रो स्थानमा छ ।
नेपाल र इटली आफ्नो पहिलो खेलमा पराजित भएका थिए र अंकविहिन छन् । इटली भन्दा नेपाल अंकतालिकामा अघि छ ।
अब यस समूहको अर्को खेलमा फेब्रुअरी ११ मा वेष्ट इन्डिज र इंग्ल्याण्डबीच हुनेछ । त्यसको भोलीपल्ट फेब्रुअरी १२ नेपाल र इटलीबीच खेल हुनेछ र दुवे टवली पहिलो जितको खोजीमा हुनेछन् ।
दक्षिण अफ्रिका र जिम्बाव्वेको प्रभाव
सोमबारै भएको अन्य खेलहरुमा टेष्ट राष्ट्र दक्षिण अफ्रिका र जिम्बाव्वेले पनि प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ । दुवैले एसोसिएट राष्ट्रलाई पराजित गरेको थियो ।
दक्षिण अफ्रिका यस विश्वकपमा २०० रनको आँकडा पार गर्ने दोस्रो टिम बन्दै क्यानडालाई ५७ रनले पराजित गर्यो ।
अहमेदवादमा भएको समूह डी को खेलमा खेलमा दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर २१३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान आइडन मारक्रमले सर्वाधिक ५९ रन बनाए । ३२ बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे ।
डेविड मिले आक्रमक ब्याटिङ गर्दै २३ बलमा ३९ रन योगदान गरे भने ट्रिस्टन स्टब्सले १९ बलमा अविजित ३४ रन बनाए ।
राएन रिकेलटनले २१ बलमा ३३ रन बनाए । क्यानडाका अंश पटेलले ३ विकेट लिए ।
जवाफमा क्यानडाले ८ विकेट गुमाएर १५६ रन बनाए । क्यानडाका लागि नभनित धलिवालले ६४ रन बनाए । हर्श थाकेरले ३३ रन जोडे ।
यस्तै समूह बी को खेलमा जिम्बाव्वेले ओमानमाथि एकपक्षिय रुपमा जित हासिल गरेको छ ।
पहिले ब्याटिङ गरेको ओमानले १९.५ ओभरमा सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको थियो । ओमानका लागि विकेटकिपर विनायक शुक्लाले २८ सफयान मेहमुदले २५ रन बनाएका थिए ।
जिम्बाव्वेका लागि रिचर्ड एगाभारा, ब्लेसिङ मुजाराबानी र ब्राड एभान्सले ३-३ विकेट लिए ।
जवाफमा १०४ रनको लक्ष्य जिम्बाव्वेले १३.३ ओभरमा १०६ रन बनाउँदै पूरा गरेको हो । ओनर ब्रायन बेनेटले अविजित रहँदै सर्वाधिक ४८ रन बनाए ।
यस्तै आईसीसी टी-२० विश्वकपको पहिलो र दशौँ स्स्करण खेल्ने एक मात्र खेलाडी ब्रान्डेन टेलरले ३१ रन जोड । उनी रिटायर हर्ट भएका थिए । ओमानका सुफिया महमुदले २ विकेट लिए ।
प्रतिक्रिया 4