२७ माघ, खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा मृत्यु भएका तीन नेपालीको दाहसंस्कार गरिएको छ ।
माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा ज्यान गुमाएका खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको दाहसंस्कार गरिएको हो ।
पूर्णबहादुर र सुरेन्द्र एकैघरका दाजुभाइ हुन् ।
कोइलाखानीभित्र विनासकारी डाइनामाइट विष्फोट हुँदा पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै र नरबहादुरको उपचारको क्रममा माघ २३ गते मृत्यु भएको थियो ।
एकै गाउँका तीन युवाको शवलाई भारत सिलाङको झालुपारामा लगेर माघ २६ गते दाहसंस्कार गरिएको घटनापछि मेघालय पुगेका प्रकाश खपाङ्गी मगरले जानकारी दिए ।
शवलाई नेपाल ल्याउनका लागि कठिन भएकाले मेघालयमै दाहसंस्कार गरिएको उनले बताए । ‘तीन वटा शवलाई तीन वटै एम्बुलेन्समा राख्दै गाउँ पुर्याउन महंगो खर्च लाग्ने भएकाले खपाङ्गी दाजुभाइबीचमा सल्लाह गरेर मेघालयमै दाहसंस्कार गरिएको हो,’ उनले भने ।
शवलाई नेपाल ल्याउनका लागि नेपाल सरकारका तर्फबाट कुनै किसिमको सहयोग प्राप्त पनि नभएको मृतक परिवारको गुनासो छ ।
सम्पत्ती कमाउन गएका आफन्त कोइलाखानीको विष्फोटमा परेर ज्यान गुमाएपछि बराहपोखरीको सालघारी गाउँ शोकमा डुबेको छ ।
विष्फोटमा परेका बराहपोखरी सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते छन् ।
मेघालय पुगेका बराहपोखरी वालम्पाका तारा बल मगर भने सकुशल छन् । तारा बलले नै फोनमार्फत घटनाबारे जानकारी गराएका हुन् । उनीहरु रोजगारी खोज्दै गत पुस ३ गते मेघालय गएका थिए । विष्फोटमा दर्जनौं कामदार कोइलाखानीको सुरुङभित्रै फसेको अनुमान छ ।
यस्तै, मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको काजकिरिया सुरु भएको छ ।
विष्फोटमा मृत्यु भएको खबर आएपछि मृतकका छोराहरु आफ्नो संस्कार अनुसार केस काटेर माघ २५ गतेदेखि किरियामा बसेको स्थानीय युवा नेता नेत्रविक्रम राउतले जानकारी दिए ।
राई रोजगारीका लागि गत असोज ९ गते मेघालय गएका थिए । घटनामा वेपत्ता भनिएका राईको शव अस्पतालमा लगिएको अवस्थामा भेटिएको हो । उनको शरीरको आधारमा परिचान गरिएको खबर आएको राउतले बताए ।
प्रतिक्रिया 4