२७ माघ, बेनी (म्याग्दी) । देशभर निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । राजनीतिक दल र उम्मेदवारहरू धमाधम मतदातासमक्ष पुगेर भोट मागिरहेका छन् ।
भोट माग्न पुगेका उम्मेदवारहरू प्राय:जसो ठाउँमा आफ्नै प्रचार गर्ने र अर्को उम्मेदवारभन्दा आफूलाई बलियो प्रमाणित गर्ने होड नै चलिरहेको हुन्छ । तर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मंगलबार अलि फरक दृश्य देखियो ।
अन्नपूर्णको दोवा भन्ने ठाउँमा दुई राजनीतिक दलका उम्मेदवारहरू एउटै मञ्चमा बसेर मतदातासँग मतदानका लागि अपिल गरे । जुन, अन्यत्र भन्दा अलि फरक दृश्य देखिन पुगेको छ ।
नेकपा एमालेका उमेदवार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (विप्लव) ले मतदाता भेटघाट र आफ्ना विचार व्यक्त गर्न एउटै मञ्च प्रयोग गरेका हुन् ।
वडा कार्यालय र स्थानीय आमा समूहले दुवै जना उमेदवारहरूलाई आफ्नो गाउँमा स्वागत गरेर एउटै मञ्चबाट आफ्ना योजना र विचार सुनाउने व्यवस्था मिलाएका थिए ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले उच्च राजनीतिक संस्कार र लोकतान्त्रिक अध्यास आफूहरूले गरेको बताए ।
‘दुवै उमेद्वारको मतदाता भेटघाट कार्यक्रम एकै ठाउँमा जुधेपछि स्थानीयको आग्रह अनुसार एउटै मञ्चबाट मत मागेर उच्च राजनीतिक संस्कार प्रस्तुत गरेका छौं,’ उनले भने ‘लोकतन्त्रको अभ्यास यसरी पनि गर्न सकिन्छ भन्ने सन्देश दिएका हौं ।’
वडा अध्यक्ष दिलिप गर्बुजा लगायत स्थानीयबासीले गुठीको जग्गा सम्बन्धी समस्या, दोवामा निर्माण भएको पाँच शैया क्षमताको अस्पताल भवन प्रयोगमा ल्याउने, छिमेकी वडा भुरुङ्ग–तातोपानीसँगको सिमाना विवाद समाधान र भिरकाटे दोवा स्तरोन्नतिको माग गरेका थिए ।
उमेदवारद्वय श्रेष्ठ र घिमिरले समसामयिक राजनीतिक विषय, आफ्ना योजना र प्रतिबद्धता व्यक्त गरे । संयुक्त रुपमा कार्यक्रम गर्दा स्थानीयबासी र उमेदवारहरूको समय समेत बचत भएको छ ।

यसअघि गत हप्ता घरदैलोका क्रममा बेनी नगरपालिका –१ रत्नेचोरमा भेट भएका नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.) र स्वतन्त्र उमेद्वार डा. महाविर पुनले एक अर्कालाई शुभकामना दिएका थिए । आइतबार दरवाङमा भेट भएका कांग्रेसका भण्डारी र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले पनि एक अर्कालाई शुभकामना दिएका भिडियो सार्वजनिक भएको थियो ।
फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ११ जना राजनीतिक दल र एक जना स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा छन् । उमेदवार र राजनीतिक दलको सौहार्दपूर्ण ब्यवहारले आम नागरिक तथा नेता कार्यकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह गराएको छ । सबै उमेदवारहरू मतदाता भेटघाट र कार्यकर्ता परिचालन गरेर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने प्रयासमा घरदैलामा व्यस्त छन् ।
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेदवार डा. महावीर पुन मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।
नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपा (माओवादी)ले द्वन्द्वकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्ववीयु सभापति क्षेत्रबहादुर घिमिरे (विप्लव) लाई उमेदवार बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उमेदवार बनेका छन् ।
प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र रहेका छन् ।
प्रतिक्रिया 4