News Summary
Generated by OK AI. Editorially reviewed.- १७ औँ राष्ट्रिय बालनाटक महोत्सव शैली थिएटर, रूसी सदन काठमाडौँ र ओजस थिएटरको आयोजनामा सुरु भएको छ।
- कार्यक्रमका प्रमुख अतिथि एलबी क्षेत्रीले बालनाटकलाई शिक्षाको सशक्त माध्यमका रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो।
- महोत्सवमा १८ नाटक प्रस्तुत हुनेछन् र फागुन २ गतेसम्म सञ्चालन हुनेछ।
काठमाडौं । १७ औँ राष्ट्रिय बालनाटक महोत्सव सुरु भएको छ । शैली थिएटर, रूसी सदन काठमाडौँ र ओजस थिएटरको आयोजनामा एक हप्ता लामो महोत्सव सुरु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कवि, नाटककार साहित्यकार एलबी क्षेत्रीले नाटक विधालाई महत्वपूर्ण रूपमा लिनु आवश्यक रहेको बताए । उनले नाटकको इतिहास ऐतिहासिक रहेको र यसलाई यथार्थपरक बनाउन सबै पक्ष समेट्नुपर्ने बताए ।
उनले नाटक विधाले जीवन्तता प्रदान गर्ने बताउँदै सशक्त र अनुकरणीय भूमिका निर्वाह गरिरहेको बताए । उनले नाटकका पात्र सँधै जीवित रहने भएकाले बालनाटकलाई शिक्षाको सशक्त माध्यमका रूपमा प्रस्तुत गर्नुपर्ने बताउँदै बालबालिकाले मञ्चलाई आफ्नो सपना प्रस्तुत गर्ने लक्ष्य राख्नु आवश्यक रहेको बताए ।
बालनाटक महोत्सवका संयोजक महेश पौडेलले सरकारी निकायले नाटक विधालाई महत्त्वपूर्ण रूपमा नहेरेसम्म यस्को विकास नहुने बताए । उनले, जीवन्त विषयवस्तुलाई वस्तुनिष्ठताका आधारमा ननियालेसम्म यसको वृद्धि विकास हुनेमा शंका रहेको बताए ।
रूसी सदन काठमाडौँका निर्देशक अनास्थासिया खोकोलोभाले यस वर्षका लागि नाटक महोत्सव निकै अर्थपूर्ण रहेको बताउँदै, नेपाल र रुसको कुटनीतिक सम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको सन्दर्भले झनै महत्वपूर्ण बनाएको बताइन् ।
आउने वर्षमा पनि यस्तै कार्यक्रम निरन्तर हुने बताउँदै उनले नाटक महोत्सवले निकै वर्षदेखि यो परियोजनालाई जीवन्तता दिने बताइन् ।
उदघाटन सत्रमा दुईवटा नाटक हामी एउटै हौँ र पार्वती प्रस्तुत गरिएको थियो । जसमा ‘हामी एउटै हौँ’ प्रतियोगी नाटक हो भने, ‘पार्वती’ अप्रतियोगी नाटक हो । कार्यक्रममा शान्तदास मानन्धर पुरस्कार रामबाबु सुवेदीलाई प्रदान गरिएको थियो ।
महोत्सवमा १८ नाटक प्रस्तुत हुनेछन् । नगद सहित ट्रफी र पुरस्कार प्राप्त गर्नेछन् । महोत्सव आगामी फागुन २ गतेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया 4