२८ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ–६ मा निर्वाचन प्रचारलाई तीव्रता दिएका छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट उम्मेदवार रहेका नेता कोइरालाले प्रचारप्रसारमा तीव्रता दिएको सचिवालयले जनाएको छ ।
प्रचारप्रसारकै क्रममा मंगलबार एकैदिन कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वडामा पार्टी कार्यालय उद्घाटन गरे । निर्वाचनलाई लक्षित गर्दै उनले बुढीगंगा गाउँपालिका वडा नम्बर १, २, ३, ४, ६ र ७ मा कांग्रेसका पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा उनले बुढीगंगा गाउँपालिकामा पछिल्ला वर्षहरूमा उल्लेख्य मात्रामा विकास निर्माणका काम भएको दाबी गरे । खानेपानी, सडक, स्वास्थ्य संस्थालगायत पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको कोइरालाले बताए ।
‘अरू समयको तुलनामा अहिले बुढीगंगाको मुहार फेरिएको छ,’ कोइरालाले भने,‘यदि यहाँ विकास भएको छैन भन्नुहुन्छ भने, म त्यसलाई पत्याउँदिनँ ।’
कोइरालाले चुनावी सभालाई सम्बोधन पनि गरिरहेका छन्, सँगै आफ्नो निर्वाचन क्षेत्रका विभिन्न पेशाव्यवसायमा आबद्ध नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गरेर भोट मागिरहेका छन् । मुलुकमा विषम परिस्थिति निर्माण भएको बताउँदै उनले कांग्रेसले जिते मात्र लोकतन्त्र, संविधान, संसदीय सर्वोच्चता तथा धार्मिक–सांस्कृतिक पहिचान जोगिने बताउँदै आफूलाई भोट दिन आग्रह गरिरहेका छन् ।
कोइरालासँगै कांग्रेसकी समानुपातिक उम्मेदवार रूक्मिणी कोइराला र प्रमिला गच्छदारले पनि संविधान र राष्ट्रको संरक्षणका लागि कांग्रेसलाई विजयी गराउन आग्रह गरिरहेका छन् ।
प्रतिक्रिया 4