+
+
Shares

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

‘सत्ता शक्ति र धनसम्पत्तिको अनावश्यक मोहले भ्रष्ट बनाउँछ’  

‘सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्‍याउन सकिँदैन । जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्ने प्रमुख र अनिवार्य सर्त नै अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते ११:५०

२८ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

‘जनताको ठुलो त्याग, बलिदान र संघर्षबाट जनता आफैँले बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ,’ राष्ट्रपति पौडेलले भने, ‘सहज र सरल तरिकाले जनतामा सेवा प्रवाह तथा सुशासनमार्फत देशको समृद्धि नै हाम्रो संविधान र लोकतान्त्रिक गणतन्त्रले राखेको अभिष्ट हो ।’ ्

संविधान र व्यवस्थाले राखेको यही अभिष्टलाई पूरा गर्न सम्पूर्ण ध्यान केन्द्रित होस् भनेरै बेलाबेलामा आवाज उठ्ने गरेको पनि उनले बताए । ‘भर्खरै युवा पुस्ताले संघर्षमार्फत आफ्नो त्यही चाहना प्रकट गरेका हुन्, भन्ने पनि हामीले नबिर्सौँ,’ राष्ट्रपति पौडेलले भने ।

लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धि नै मुलुकको चाहना रहेको उनले बताए । उनले अगाडि भने, ‘सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्‍याउन सकिँदैन । जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्ने प्रमुख र अनिवार्य सर्त नै अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण हो ।’

लोकतन्त्रले अपेक्षा गर्ने सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचार छानबिनको दायरामा ल्याउनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।

‘अख्तियार दुरुपयोग केवल कानुन उलंघन मात्र होइन । यो नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात पनि हो । यसले आर्थिक क्षति वा नैतिक विचलन भन्दा धैरे पर पुगेर राज्य र नागरिक बिचको भरोसाको सेतुमा चोट पुर्‍याउँछ,’ उनले भने । भ्रष्टाचारले लोकतन्त्रको आधारभुत मूल्यलाई क्षति पुर्‍याउने पनि उनले बताए ।

भ्रष्टाचार नियन्त्रणमा दृढ राजनीतिक प्रतिबद्धता पहिलो सर्त रहेको पनि राष्ट्रपति पौडेलले बताए । ‘सत्ता शक्ति र धन सम्पत्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवृत्त गराउँदछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?