+
+
Shares

निर्वाचन आचारसंहिता विपरीत महालेखाका प्रादेशिक कार्यालय खोल्दै कर्मचारी पठाउँदै 

महालेखाले आचारसंहिता बेवास्ता गर्दै सात प्रदेशमा प्रादेशिक कार्यालय स्थापना र नेतृत्व खटाउने निर्णय गरी कार्यान्वयन गर्न लागेको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालेखा परीक्षकको कार्यालयले निर्वाचन आचारसंहिता लागु भएको समयमा सात प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरी कर्मचारी सरुवा गर्ने निर्णय गरेको छ।
  • सरकारले निर्वाचन आचारसंहिता २०८२ को दफा ५ अनुसार पद सिर्जना, नियुक्ति, सरुवा र आर्थिक सुविधा दिन रोक लगाएको छ।
  • महालेखाका सूचना अधिकारी रमेश सुवेदीले प्रादेशिक कार्यालय स्थापना संगठन तथा व्यवस्थापन सर्वे स्वीकृत भइसकेको र औपचारिक खटनपटन नभएको बताए।

२८ माघ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले निर्वाचन आचारसंहिता लागु भएको समयमा पनि प्रादेशिक कार्यालय स्थापना गरी कर्मचारी सरुवा गर्ने निर्णय गरेको छ ।

महालेखाले आचारसंहिता बेवास्ता गर्दै सात प्रदेशमा प्रादेशिक कार्यालय स्थापना र नेतृत्व खटाउने निर्णय गरी कार्यान्वयन गर्न लागेको हो ।

सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । सोही अनुसार तयारी पनि करिब अन्तिम चरणमा पुर्‍याएको छ ।

सरकारले समग्र देशलाई नै निर्वाचनमा केन्द्रित गर्दै निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को उपखण्ड ‘घ’, ‘ङ’, ‘च’ र छ मा कुनै आयोजना उद्घाटन, शिलान्यास र पद सिर्जना, नियुक्ति, सरुवा वा बढुवा गर्न रोक लगाएको छ ।

आचारसंहिता अनुसार कुनै योजना शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा त्यसका लागि अनुदान दिनेजस्ता कार्यक्रम गर्न हुँदैन ।

त्यसैगरी कुनै राजनीतिक नियुक्तिको पद सिर्जना गर्न वा त्यस्तो पदमा नियुक्ति गर्न र नयाँ पद सिर्जना गर्ने, रिक्त पद पूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायत कुनै पनि आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न हुँदैन । साथै, निर्वाचनका काममा बाहेक कर्मचारी सरुवा वा पदस्थापन गर्न नहुने व्यवस्था आचारसंहितामा उल्लेख छ ।

तर, महालेखाले भने सातै प्रदेशमा कार्यालय स्थापना गर्ने तथा कर्मचारी खटनपटन गर्न लगेको हो । महालेखाले बागमती प्रदेशमा सहसचिवको नेतृत्व गर्ने गरी कर्मचारी खटाउने र बाँकी ६ प्रदेशमा उपसचिवको नेतृत्वमा कार्यलय सञ्चालन गर्ने गरी काम अघि बढाएको हो ।

तर, महालेखाका सूचना अधिकारी रमेश सुवेदीका अनुसार प्रादेशिक कार्यालय स्थापना गर्ने विषयमा संगठन तथा व्यवस्थापन सर्वे स्वीकृत भइसकेको छ ।

‘महालेखाले प्रदेश स्तरबाट पनि काम गर्ने भएकाले केही कर्मचारीलाई हेर्दै गर भनिएको अवस्था हो,’ सुवेदीले भने, ‘निर्वाचन अवधिभरि औपचारिक खटनपटन गर्ने काम हुँदैन, प्रादेशिक कार्यलयबाट भएका कामको रोहबर गर्न अनौपचारिक रूपमा तोकिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?