News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिजले फागुन १४ देखि १६ गतेसम्म २४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ आयोजना गर्ने जनाएको छ।
- प्रतियोगितामा ३० जना अन्तर्राष्ट्रिय र १४० भन्दा बढी राष्ट्रिय खेलाडी गरी जम्मा १७० खेलाडीको सहभागिता रहने नारा उपाध्यक्ष सुक बहादुर लामाले बताए।
- यो महोत्सवले नेपालको ५० वर्ष लामो व्यावसायिक जलयात्रा इतिहासको उत्सव मनाउने र साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ।
२८ माघ, काठमाडौं । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्डको सहकार्यमा २४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइटवाटर र्याफ्टिङ र कायाकिङ महोत्सव आयोजना गर्ने भएको छ ।
नाराले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै फागुन १४ देखि १६ गतेसम्म (फेब्रुअरी २६-२८) मा यो प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ ।
उक्त च्यालेन्ज प्रतियोगितामा ३० जना अन्तर्राष्ट्रिय खेलाडी र १४० जनाभन्दा बढी राष्ट्रिय खेलाडी (कायाकिङ र र्याफ्टिङ) गरी कुल १७० खेलाडीको सहभागिता रहने नारा उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुक बहादुर लामाले जानकारी दिए ।
लामाका अनुसार कायाकिङतर्फ २ र र्याफ्टिङतर्फ १ गरी जम्मा ३ विधामा प्रतिस्पर्धा हुनेछ । यो वर्षको महोत्सव नेपालको ५० औं वर्ष लामो व्यावसायिक जलयात्रा इतिहासको उत्सवको रुपमा यस प्रतियोगिता हुन लागेको पनि आयोजकले जनाएको छ ।
नेपालमा साहसिक जलयात्राको इतिहास सन् १९६० को दशकदेखि सुरु भएको मानिन्छ । सन् १९६४ मा फ्रान्सको एक्सपेडिसन टोलीले त्रिशूलीमा र सन् १९६५ मा सर एडमण्ड हिलारीको टोलीले सुनकोशीमा गरेको जलयात्रा यस क्षेत्रका कोशेढुङ्गा हुन् ।
सन् १९७४ मा अमेरिकी गाइड माइक एगरले त्रिशूलीमा सफल यात्रा गरी छाडेका उपकरणहरूबाट सन् १९७५ मा हिमालयन रिभर एक्सप्लोरेशन (एचआरई) मार्फत नेपालमा व्यावसायिक र्याफ्टिङको विधिवत् आरम्भ भएको थियो ।
यसैगरी नेपालमा र्याफ्टिङको जग बसाल्ने हिमालयन रिभर एक्प्लोरेसन (एचआरई) का संस्थापकहरूलाई पनि विशेष सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सवमा खेलाडी, स्वयंसेवक, निर्णायक र दर्शक गरी करिब ४०० देखि ६०० जनाको सहभागिता रहने नाराको लक्ष्य छ ।
नेपालका रिभर गाइडहरूले छिमेकी राष्ट्र भारत, जापान, आइसल्याण्ड, नर्वे जस्ता देशमा पुगेर प्रशिक्षण दिने गरेको गौरवमय इतिहासलाई आत्मसात् गर्दै यस महोत्सवले नेपालको साहसिक पर्यटनलाई पुनः नयाँ उचाइमा पुऱ्याउने विश्वास ‘नारा’ ले लिएको छ ।
अन्तर्राष्ट्रिय जगतमा नेपालको समग्र पर्यटन तथा साहसिक जलयात्राको बारेमा व्यापक प्रचार-प्रसार गरी र्याफ्टिङ व्यवसायको विकास गर्ने उदेश्य रहेको नाराले जनाएको छ ।
प्रतिक्रिया 4