२९ माघ काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)- १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचन ०७९ मा निर्वाचित भएका चौधरीले अघिल्लो निर्वाचनमा जारी गरेको घोषणा पत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्थासहितको विवरण सार्वजनिक गरेका हुन् ।
उनले मतदाताको प्रश्न गर्ने अधिकारलाई लोकतन्त्रको मूल आधार भन्दै आफू जनताको अदालतमा जवाफदेही भएर उभिन तयार रहेको बताएका छन् ।
‘प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो । गएको निर्वाचनमा मैले जारी गरेको प्रतिबद्धतापत्र अनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोधुन् भन्ने चाहन्छु,’ चौधरीले भने ।
जनताको अदालतमा उभिएर आफूले गरेका प्रतिबद्धताको एक–एक जवाफ दिनु जिम्मेवारी भएको भन्दै उनले प्रश्न सोध्न पाउने जनताको अधिकार स्थापित गर्न कांग्रेस बदलिएको बताए ।
‘देश बदल्छौं भनेर बाचा गरिरहँदा जनताका प्रश्नको जवाफ दिन सक्ने गरी काम गर्नुपर्छ भन्ने पनि बुझेका छौं,’ नेता चौधरीले भने, ‘त्यसैले म ३१ बुँदे घोषणा पत्रको एक-एक बुँदाको उत्तर लिएर आएको छु ।’
चौधरीको सचिवालयका अनुसार ‘रिपोर्ट कार्ड’ को डिजिटलप्रति सार्वजनिक गरिएको छ भने ‘प्रिन्ट कपी’ उनको सचिवालय, कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध हुने छ ।
प्रतिक्रिया 4