१ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था अस्तव्यस्त बनेको छ ।
राजावादी समर्थकहरू अहिले विमानस्थल गेट बाहिर पुगेर नाराबाजी गरिरहेका छन् । उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन् ।
विमानस्थलमा स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ । यसैबीच विमानस्थलमा पुगेका यात्रुहरू समस्यामा परेका छन् ।
विमानस्थल आसपासमा बाक्लो संख्यामा राजावादी समूहका समर्थकहरू पुगेपछि यात्राका लागि पुगेका यात्रुहरू समस्यामा परेका हुन् ।
उनीहरू हतार हतार विमानस्थल गेटबाटै सुटकेश घिसारेर भित्र प्रवेश गरिरहेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पनि केहीबेर अघि विमानस्थल पुगेका छन् । उनी समर्थकहरूलाई विमानस्थल बाहिर राखेर अहिले भित्र प्रवेश गरेका छन् ।
समर्थकहरूलाई आफू पूर्वराजा शाहलाई लिएर आउने भन्दै भित्र प्रवेश गरेका हुन् ।
त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास लग्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मै कडा सुरक्षा व्यवस्था बनाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।
अहिले काठमाडौंका चोक–चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आएका हुन् । राप्रपा लगायत राजवादीहरूले उनको स्वागतको तयारी गरिरहेका छन् ।





प्रतिक्रिया 4