News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागले कोटेश्वरस्थित कोज्मो एजुकेसन कन्सल्टेन्सीका सञ्चालक लालबाबु रामविरुद्ध नक्कली वर्क पर्मिट बनाएर करोडौं रुपैयाँ ठगी गरेको आरोपमा अनुसन्धान जारी राखेको छ।
- लालबाबु रामले बुल्गेरिया र क्रोएसिया पठाइदिने प्रलोभन देखाएर २ सयभन्दा बढी व्यक्तिबाट १ देखि २ लाख ८५ हजार रुपैयाँसम्म रकम उठाएको विभागले जनाएको छ।
- कन्सल्टेन्सीमा काम गर्ने दुई महिला कर्मचारीलाई पक्राउ गरी बयानका लागि बोलाउने गरिएको र लालबाबु राम फरार भएकाले पक्राउ पुर्जी जारी गरिएको छ।
१ फागुन, काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ‘नक्कली वर्क पर्मिट’ बनाइ करोडौं रुपैयाँ ठगी गरेको आरोपमा कन्सल्टेन्सी विरुद्ध अनुसन्धान जारी छ ।
वैदेशिक रोजगार विभागले कोटेश्वरस्थित कोज्मो एजुकेसन कन्सल्टेन्सीका सञ्चालक लालबाबु रामविरुद्ध अनुसन्धान अझै जारी राखेको हो ।
विभागका अनुसार उनी फरार रहेकाले पक्राउका लागि जारी पुर्जी कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइएको छ ।
सर्लाही बहमपुरी गाउँपालिका-१ का ४५ वर्षीय रामले बुल्गेरिया र क्रोएसिया पठाइदिने प्रलोभन देखाएर ठूलो रकम असुलेको आरोप छ ।
प्रारम्भिक अनुसन्धानमा २ सयभन्दा बढी व्यक्तिबाट रकम उठाइएको देखिएको छ भने पीडित थपिँदै गएकाले ठगी रकमको आकार अझै बढ्न सक्ने विभागको अनुमान छ ।
यसअघि सार्वजनिक भएका विवरण अनुसार सामाजिक सञ्जाल मार्फत आकर्षक रोजगारीको विज्ञापन गरी कामदार संकलन गरिएको थियो ।
कामदारलाई बुल्गेरिया र क्रोएसिया पठाउने भन्दै नक्कली वर्क पर्मिट बनाएर १ देखि २ लाख ८५ हजार रुपैयाँसम्म लिएका थिए । पीडितले बुझाएको कागजात र तथाकथित वर्क पर्मिट पछि नक्कली पुष्टि भएको थियो । धेरैलाई अन्तिम चरणमा ‘भिसा लागिसक्यो’ भन्दै थप रकम मागिएको समेत उजुरीमा उल्लेख छ ।

प्रकरणमा संलग्न रहेको आरोपमा कन्सल्टेन्सीमा काम गर्ने दुई महिला कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो । कैलाली टिकापुरकी २१ वर्षीया हिमा नायक र इलाम माइजोगमाईकी २३ वर्षीया आस्था खड्का हाल तारेखमा रिहा छन् । उनीहरूलाई हरेक हप्ता बयानका लागि बोलाउने गरिएको छ ।
वैदेशिक रोजगार विभागकी सूचना अधिकारी बिन्दा आचार्यका अनुसार कर्मचारीले प्रक्रिया र खर्चसम्बन्धी जानकारी दिने काम गर्दै आएका थिए, तर मुख्य योजनाकार सञ्चालक नै भएकाले उनको खोजी भइरहेको छ ।
विभागले अनुसन्धानपछि वैदेशिक रोजगार न्यायाधीकरणमा पेस गरेको प्रतिवेदनका आधारमा रामविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । उनी विदेशमा रहेको आशंका छ ।
विभागमा नयाँ उजुरी आउने क्रम जारी छ । धेरैले ऋण, जग्गा धितो र सहकारीबाट पैसा झिकेर रकम बुझाएको उजुरीमा उल्लेख गरेका छन् ।
विभागले वैदेशिक रोजगारीमा जान म्यानपावर कम्पनीबाट मात्रै प्रक्रिया अगाडि बढाएर मात्र जान अनुरोध गर्दै आएको छ । कन्सल्टेन्सी तथा एजेन्टमार्फत नजान अनुरोध गर्दै आएको हो ।
तर, पछिल्लो समय ठगीका घटना कन्सल्टेन्सी तथा एजेन्ट मार्फत व्यक्तिगत श्रम स्वीकृति लिएर जाने बढिरहेको विभागले जनाएको छ ।
रामले कन्सल्टेन्सी मार्फत बुल्गेरिया पठाइदिने भन्दै ७ देखि १० लाख रुपैयाँ लाग्ने भन्दै पैसा उठाएका थिए । नक्कली वर्क पर्मिट देखाएर उनले १ देखि २ लाख ८० हजारसम्म लिइसकेका थिए । उनी कहिल्यै कन्सल्टेन्सी नगए पनि दुवै कर्मचारी मार्फत कन्सल्टेन्सीको खातामा पैसा जम्मा गर्न लगाउने गरेका थिए ।
अफिसमा रहेकी हिमाले नै आफू म्यानेजर भएको र सबै जिम्मा आफ्नै भएको भन्दै सबै काम गर्दै आएकी थिइन् । विभागले कन्सल्टेन्सी मार्फत ठगीमा परेकाको उजुरी व्यक्तिगत ठगी अन्तर्गत दर्ता गरेर अनुसन्धान अगाडि बढाएको हो ।
प्रतिक्रिया 4