३ फागुन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा देशभक्तहरुको जीवन्त सदन बनाउन आवाज उठाउने, जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई बंशजको आधारमा नागरिकता दिने कानूनी व्यवस्था खारेज गराउने, दुर्गम क्षेत्रहरुमा रोपवे, केबुल कार, सुरुङमाग, रेगमार्ग, अवलम्बन गर्नुपर्ने, सरकारी कर्मचारीलाई तलब खुलाउन ऋण लिने र ऋणको साँवा व्याज तिर्न पनि ऋण लिने कामको विरोध जारी राख्ने उल्लेख गरिएको छ ।
त्यस्तै भ्रष्टाचारीहरुको सम्पती राष्ट्रियकरण गर्ने, ठूला भ्रष्टाचारीहरुलाई ज्यान सजायसमेत हुने कानूनी व्यवस्था बनाउन निरन्तर संघर्षरत रहने, निर्वाचित जनप्रतिनिधिहरु आफ्नै क्षेत्रमा बसेर जनताको सेवा र देशको सन्तुलित विकास गर्न पाउने कानुन व्यवस्था गराउने लगायत समेत घोषणापत्रमा उल्लेख छ ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेले ऐन, कानुनका विषयमा छलफल गर्ने, देशलाई अघि बढाउने नीति लिने लगाएतका विषयमा पार्टीको जोड रहेको बताए । सदनमा जनताको विषयलाई छलफल गर्ने थलो बनाउनुपर्ने र उम्मेदवारहरुले समेत आफ्नो एजेण्डा राम्रोसंग जनतालाई बुझाउन सक्नुपर्ने उनको भनाइ थियो ।
उनले प्रधानमन्त्री चयन सदनबाट हुनुपर्ने पनि बताए । यसअघि प्रधानमन्त्री भइसकेका व्यक्ति र पार्टीले अहिलेसम्म देशका लागि गरेका कामका बारेमा आगामी सदनमा स्पष्ट पार्न उनले आग्रह गरे ।
प्रतिक्रिया 4