४ फागुन, नारायणगढ (चितवन) । शनिबार दिउँसो चितवनको कालिका नगरपालिका–५ स्थित पदमपुर चोकमा धनबहादुर गुरुङ आफ्ना अटोचालक साथीहरूसँग खाजा खाँदै थिए । अनलाइनखबरको टोली पुगेपछि उनीहरूको संवादले राजनीतिक रूप लियो ।
‘दुई पटक भोट दिएँ, एक पटक अझै दिन्छु,’ गुरुङले २१ फागुनमा पनि रास्वपाका सभापति रवि लामिछानेलाई भोट दिने बताए। तर अहिले जस्तै काम गर्न दिइएन भन्ने तर्क मात्रै गरिरहे रविलाई यसरी भोट दिइरहन नसकिने उनको भनाइ थियो ।

‘अहिले त काम गर्नै दिएन भन्नुभएको छ। सधैँ यस्तो भनिरहन पाउनु हुन्न,’ इच्छाकामना गाउँपालिका–३ स्थायी घर भएका गुरुङले भने ।
तर उनका एक जना साथीले भने आजीवन रास्वपामा रहने तर्क गरे। ‘३० वर्षसम्म अरूले केही गरेनन्, अब नयाँलाई अवसर दिनुपर्छ,’ उनले भने, ‘म त अब आजीवन घण्टी हुने हो ।’
चितवन–२ मा पर्ने यो क्षेत्रका मतदाताले २०७९ साल यता प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेस्रोपटक मतदान गर्दै छन्। गत निर्वाचनमा यहाँबाट जितेका रविको सांसद पद नागरिकता मुद्दामा गुम्दा २०८० वैशाखमा उपनिर्वाचन भएको थियो ।
उपनिर्वाचनमा अझ मत बढाएर जितेका रवि आसन्न निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार छन्। धनबहादुर गुरुङ यसपटक पनि रविले जित्नेमा ढुक्क देखिन्छन्। ‘धेरै मान्छेले मत दिने भनिरहनु भएकै छ, जित्नु हुन्छ होला,’ उनले भने ।
उनी जस्तै रविलाई विश्वास गर्नेहरूको एउटै तर्क छ– काम गर्नै दिइएन, त्यसैले एकपटक मत दिने ।

‘थुनेको थुनै छ, काम गर्न त खोजेकै हो। नदिएपछि के गर्नु,’ कालिका नगरपालिका–७ का देवीप्रसाद सापकोटाले भने। उनको बुझाइमा रवि लामिछानेलाई पुराना दलहरूले नियोजित रूपमा फसाएका हुन् ।
‘सरकार बनाउन बहुमत चाहियो, यसपटक माहोल आएको छ। बालेन प्रधानमन्त्री बन्छन् होला,’ उनले विश्वास गरे। ३५ वर्षसम्म शासन गरेका पुराना दलहरूलाई हराउन आफूहरू लागि परेको पनि सापकोटाले बताए ।
सापकोटासँग मिल्दो बुझाइ कालिका नगरपालिका–१० का भेषराज अर्यालको पनि छ। क्लब चोकमा भेटिएका अर्यालले राजनीतिक परिवर्तनकै चाहनामा आफूहरूले गत चुनावदेखि रास्वपालाई मत दिन थालेको बताए ।
‘जनताले सबै दललाई अवसर दिएकै हुन्। कांग्रेस र एमालेलाई मात्र होइन, माओवादीलाई पनि एकपटक हेरेकै हो,’ अर्यालले भने, ‘अहिले युवा जोसका घण्टीलाई साथ दिने हो। उनीहरूले पनि गरेनन् भने आ–आफ्ना घर (पुरानै पार्टी) फर्कने नि !’

उनले कांग्रेसको क्रियाशील सदस्यता त्यागेका रहेनछन्। तर चितवन–२ का लागि भएका पछिल्ला दुई वटा चुनावमा उनले घण्टी चिह्नमा मतदान गरे। ‘म कांग्रेसको मान्छे भए पनि रवि लामिछानेलाई भोट दिएँ। एमाले छोडेर भोट दिने थुप्रै छन्,’ अर्यालले भने, ‘पुरानै दलहरूलाई छोडेर नयाँमा जाने त हो नि, नत्र कसरी रवि लामिछानेले जित्ने मत पुग्छ र !’
शान्ति सम्झौतापछि माओवादी लडाकु राखिएको बहुचर्चित शक्तिखोर नजिकै रहेको क्लब चोकमा अर्यालसँगै भेटिएका अरूले पनि नयाँलाई अवसर दिने भनेरै आ–आफ्ना पार्टी छोडेको बताए। ‘अहिले पनि कालिका नगरपालिकामा एमालेकै राम्रो सङ्गठन छ, स्थानीय चुनाव एमालेले जितेको थियो,’ अर्यालले भने ।

आफ्नो पृष्ठभूमि र मत परिवर्तनको कारण खुलाउनेहरूको कुरा सुन्दा रविलाई पहिले भोट दिएकाहरूमध्ये थुप्रैले यसपटक पनि मत दिन सक्ने अनुमान लगाउन सकिन्छ। पुराना दलहरूले कामै गर्न नदिएकाले यसपटकसम्म रविलाई मत दिनुपर्छ भन्ने उनीहरूको बुझाइ देखिन्छ ।
काठमाडौंका मेयर बालेन्द्र शाहलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिनुको लाभ पनि रविलाई पुग्ने यहाँका मतदाताहरूको बुझाइ छ। ‘हिजोको रास्वपा उही रहेन, बालेन प्रधानमन्त्री हुने कुराले पार्टीमा थप ऊर्जा आएको छ,’ भरतपुर महानगरपालिका–११ स्थित रविको सम्पर्क कार्यालय नजिक भेटिएका रमेशबाबु विष्ट भन्छन् ।
बालेन प्रधानमन्त्री हुने कुरा नहुँदासम्म पार्टी गतिविधिमा निष्क्रिय हुन थालेकाहरू समेत अहिले रास्वपालाई मत माग्न हिँड्न थालेको उनी बताउँछन्। ‘जब हामीले प्रधानमन्त्री बालेन हो भन्यौँ, त्यसपछि निष्क्रिय रहेकाहरू पनि मत माग्न थाल्नुभएको छ,’ विष्टले भने ।
चितवन–२ मा रास्वपाको चुनावी कमान्ड सम्हालिरहेका रास्वपा केन्द्रीय सदस्य राजन गौतम पनि पार्टीभित्र थप ऊर्जा आएको बताउँछन्। ‘हाम्रो लक्ष्य त ७५ प्रतिशतसम्म पुर्याउने हो। मतदाताहरूको प्रतिक्रिया हेर्दा हाम्रो लक्ष्य पूरा हुनेमा विश्वस्त छौँ,’ उनले भने ।
यद्यपि लोकप्रिय मत पाएर यहाँबाट सांसद जितेपछि घोषणा गरेका कामहरू रवि लामिछानेले गर्न नसकेको स्थानीयवासी बताउँछन् ।

२०७९ सालमा रविले चितवनलाई आर्थिक राजधानी बनाउन संसद्मा विधेयक पेस गर्ने, चितवन–२ मा ‘जे परे पनि हेलो रवि’, किसान युवा र रोजगारी, चार–चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने वाचा गरेका थिए। भूमिहीनका लागि लालपुर्जा प्रदान गर्न संसद्मा विशेष प्रस्ताव पेस गर्ने घोषणापत्रमा उल्लेख छ ।
त्यसमध्ये सार्वजनिक सुनुवाइबाहेक अन्य वाचा पूरा नभएको यहाँका मतदाताको गुनासो छ। जो आए पनि उस्तै-उस्तै भएको उनीहरूको धारणा छ ।
भरतपुर–११, गणेशथानकी कल्पना खड्का भन्छिन्, ‘पहिला एकमुष्ठ दिन्थ्यौँ। त्यतिबेला घन्टीमा दिएका हौँ, अब दिन्नौँ ।’
२१ फागुनमा नेपाली कांग्रेसकी मीना खरेललाई भोट दिने उनको भनाइ छ। खड्का भन्छिन्, ‘यसपटक मीना दिदीलाई दिन्छौँ किनभने उहाँले खाना नपाउनेलाई खाना दिनुभयो, नागरिकता नहुनेको नागरिकता बनाइदिनुभयो ।’
रास्वपा सभापति रवि लामिछानेले २०८० को उपनिर्वाचनमा लगभग प्रतिस्पर्धाहीन जित निकालेका थिए। ५४ हजार १७६ मत ल्याएर रविले जित्दा निकटतम प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएका थिए । नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका थिए ।
तर यो चुनावमा रवि लामिछानेलाई उपनिर्वाचनजस्तो सजिलो नरहेको रास्वपाका कार्यकर्ताहरू नै स्वीकार्छन्। रास्वपाका सक्रिय कार्यकर्ता रमेशबाबु विष्ट, विगतका चुनावमा रविका पक्षमा लागेका आफ्नै साथीहरू अहिले कांग्रेस फर्किएको बताउँछन् ।
‘भरतपुर–११ मा रास्वपालाई हामी पाँच जनाले उठाउने काम गरेका थियौँ। त्यसमध्ये एक जना कांग्रेसमै फर्कनुभयो,’ उनी भन्छन् । उनका अनुसार रास्वपाका निर्वाचन क्षेत्रीय सचिव सीएम पौडेल कांग्रेस फर्किएका छन् ।
भरतपुर महानगरपालिकाको वडा नम्बर ११ क्षेत्र नम्बर २ मै सबैभन्दा बढी मतदाता रहेको वडा हो। यो वडामा १६ हजार ६२८ मतदाता छन्। जबकी यही निर्वाचन क्षेत्रअन्तर्गत पर्ने इच्छाकामना गाउँपालिकाको कुल मतदाता १६ हजार ५८१ हो ।
यो वडामा १२ सयभन्दा बढी घरधनीको जग्गाधनी प्रमाणपुर्जा छैन। यहाँका मतदाताहरूका अनुसार हिजो रास्वपामा सक्रिय भएर हिँडेकाहरू कांग्रेसमै फर्कने क्रम बढ्नुमा उक्त पार्टीमा आएको सुधार हो ।
‘गगन थापा सभापति भएर आउनुभयो। यहाँ पनि राम्रै मान्छेलाई टिकट दिइएको छ,’ गणेशथान चोकमा पसल चलाइरहेकी एक जनाले भनिन्, ‘म आफैँ पनि कांग्रेसमै फर्किने निर्णयमा पुगेकी छु ।’
उनका अनुसार मीना खरेललाई उम्मेदवार बनाउने निर्णयले मतदाताहरूको मन फर्किएको छ । ‘मीना दिदीले धेरै राम्रो काम गर्नुभएको छ। रवि लामिछानेले समाजसेवा गरेको जति चर्चा सुन्नुभएको छ, त्योभन्दा धेरै काम मीना दिदीले गर्नुभएको छ,’ उनले भनिन्, ‘प्रचार नगर्नुभएको मात्रै हो। मीना दिदीले सयौँ महिलाहरूको उद्धार गर्नुभएको छ । विशाल परिवार जोड्नुभएको छ ।’

०५४ सालकै स्थानीय चुनावमा जनप्रतिनिधि निर्वाचित मीना खरेल पछिल्लो समय भने सामाजिक सेवामा थिइन् । विशेषगरी महिला र बालबालिकाको क्षेत्रमा काम गरिरहेकी खरेललाई कांग्रेसले उम्मेदवार बनाएपछि आफ्नै पार्टीमा फर्कने क्रम बढ्दो छ ।
विशेषगरी महिला मतदाताहरूमा मीना खरेलको प्रभाव बढ्दो रहेको विश्लेषण यहाँ सुनिन्छ । ‘पहिलोपटक मत हाल्दै छु । मीना दिदी उम्मेदवार हुनुभएकाले हामी रुखमा भोट हाल्छौँ,’ कालिका नगरपालिका–५, पदमपुरकी स्मृति मल्ल भन्छिन् । उनी कांग्रेसका ‘जेनजी’हरू मात्र नभएर मीना खरेलले चितवनमा काम गरेको बुझ्ने युवाहरूले यसपटक रुखमा मत हाल्ने बताउँछिन् ।
२०७९ र ०८० मा रास्वपालाई मत दिएका मल्लका छिमेकीहरूले पनि यसपटक कांग्रेसलाई भोट दिने बताए। फेन्सी पसल चलाइरहेकी मल्लकी छिमेकीले भनिन्, ‘मेरो माइतीमा सबै कांग्रेस हुनुहुन्छ, दुई पटक घण्टीमा भोट हाल्यौँ। अब रुखमै फर्किन्छौँ ।’
पुरानै पार्टीमा फर्किने कारण खुलाउँदै उनले भनिन्, ‘यसपटक कांग्रेसले महिला उम्मेदवार उठाएको छ। मीना (खरेल) दिदी आज यतै घरदैलोमा आउनु भएको छ ।’

कांग्रेस नेताहरूका अनुसार यसपटक पार्टीभित्र देखिएको एकताले पनि मीना खरेलको मत बढ्ने अनुमान गरिएको छ । ‘पार्टीभित्र एकता देखिएको छ। यसपटक सबै क्षेत्रमा रुखमै भोट हाल्न पाउने स्थिति बनेको छ,’ भरतपुर महानगर–४ का विष्णु सापकोटा भन्छन् ।
उम्मेदवार खरेल त चितवन–२ को नतिजा नै उल्ट्याउने दाबी गर्छिन् । ‘जेनजी युवाहरूको भावना सम्बोधन गर्ने पार्टी कांग्रेस हो । भावी प्रधानमन्त्री गगन थापाले परिवर्तन भएको सन्देश दिइसक्नुभएको छ,’ खरेलले कालिका–३ लामाचोकमा अनलाइनखबरसँग भनिन्, ‘म आफैँले पनि विगतमा गरेका कामहरू जनताले देख्नुभएको छ। मैले जित्ने पक्का छ ।’
भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा कांग्रेसले विगतमा गरेका कामहरूलाई पनि मतदाताले बिर्सन नमिल्ने उनी तर्क गर्छिन् । ‘इतिहास बिर्सेर भविष्य सुरक्षित हुन सक्दैन । म यहीँको माटोले चिनेको मान्छे हुँ,’ खरेल भन्छिन्, ‘बाआमालाई माया नगर्नेले देशको माया गर्न सक्दैन ।’
मीना खरेलको उम्मेदवारीले रवि लामिछानेको माहोलमा परिवर्तन आइरहेको अनुभूति सुनाउने थुप्रै भेटिए । त्यसमध्ये एक थिए– भोजराज कँडेल ।
कँडेलका अनुभवमा रविको पक्षमा पहिलेजस्तो माहोल देखिएको छैन । ‘रवि लामिछाने सुटुक्क आउँदा पनि यहाँ मान्छेको सागर निस्कन्थ्यो । भुईँ टेक्ने ठाउँ हुन्थेन,’ उनी भन्छन्, ‘यसपटक त्यस्तो देखिनँ । अरू नेताहरुकै जस्तो सामान्य टोली लिएर हिँडेको देखेँ ।’

यद्यपि रविकै पक्षमा पल्लाभारी हुन सक्ने अनुमान गर्नेहरू पनि थुप्रै भेटिन्छन् । रास्वपा केन्द्रीय सदस्य तथा चितवन–२ निर्वाचन परिचालन समितिका संयोजक राजन गौतम मीना खरेलकै कारण ठूलो असर नपर्ने तर्क गर्छन् । ‘पहिले भोट दिनेमध्ये १० प्रतिशत घट्न सक्लान् । तर विगतमा हामीलाई मत नदिएकाहरूले पनि घण्टी रोज्नेमा ढुक्क छौँ, पहिलोपटक मतदान गर्न लागेकामध्ये ५० प्रतिशतको मत हामीलाई नै आउँछ,’ उनी भन्छन् ।
भरतपुर–४ मीना खरेलको घर भएको वडा हो। २०८० को उपनिर्वाचनमा रविले यो वडाबाट करिब २ हजार मत पाउँदा कांग्रेस र एमालेले छ–सात सय हाराहारी मत ल्याएका थिए ।
यो चुनावमा रास्वपा र कांग्रेसले हाराहारी मत पाउने स्थानीय बताउँछन् । वडा नम्बर ४ का विष्णु सापकोटाले भने, ‘मीना खरेलको राम्रो प्रभाव छ । यो वडामा यसपटक रुख र घण्टीबीच टक्कर हुन्छ ।’
२०७९ मा समानुपातिकमा रास्वपाले ३५ हजार ९४५ मत ल्याउँदा एमालेले १६ हजार ७८४, माओवादी केन्द्रले ८ हजार ४०७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार २१८ मत पाएको थियो ।

माओवादी केन्द्र र यो क्षेत्रमा समानुपातिकमा ६१६ मत पाएको नेकपा (एकीकृत समाजवादी) लगायत मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । नेकपाका उम्मेदवार प्रताप गुरुङ भन्छन्, ‘दुई दर्जन कम्युनिस्ट घटक मिलेर नेकपा बनेकाले एकदमै उत्साहित छु। विगतमा अन्य दलमा गएको मत पनि फर्किन्छ ।’
गुरुङको ४२ बुँदे प्रतिबद्धतामा इच्छाकामनालाई ग्रामीण पर्यटकीय पालिका, कालिकालाई औद्योगिक नगरी र भरतपुरलाई सेन्ट्रल सिटी बनाउने उल्लेख छ। चितवन–३ मा उम्मेदवारी दिन भरतपुर महानगरको मेयरबाट राजीनामा दिएकी रेणु दाहालले अघि बढाएको कामलाई निरन्तरता दिने पनि उनले बताए ।
एमालेले यो क्षेत्रमा ३६ वर्षीय अस्मिन घिमिरेलाई उठाएको छ। घिमिरे भने एमालेको विगतको भन्दा राम्रो मत ल्याउने दाबी गर्छन् ।
‘पहिला पनि एमालेले जित्दै आएको क्षेत्र हो, अहिले पनि दुईवटा पालिका प्रमुखहरू एमालेकै निर्वाचित हुनुहुन्छ, वडाध्यक्षहरू हुनुहुन्छ । त्यसैले एमालेले राम्रो मत ल्याउँछ भन्ने विश्वास छ,’ घिमिरेले भने, ‘एमालेका नेता कार्यकर्ता सधैँ जनताको बीचमा रहन्छन्, परेको बेलामा सबैलाई सहयोग गर्छन्, अनि जनताले खोजेको यस्तै नेता हो जस्तो लाग्छ ।’

२०७० सालको संविधानसभा र २०७४ सालको संसदीय निर्वाचनमा यस क्षेत्रबाट निरन्तर जितेको एमालेले २०७९ र २०८० सालमा नमिठो पराजय भोग्यो। एमालेबाट २०७० र २०७४ सालमा जितेका हालका केन्द्रीय सदस्य कृष्णभक्त पोखरेल २०७९ सालमा चुनाव हारे ।
२०८० सालमा भएको उपनिर्वाचनमा पोखरेलको ठाउँमा तत्कालीन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने एमालेबाट उम्मेदवार बने । तर, न्यौपानेले पोखरेलले जति पनि मत ल्याउन सकेनन् ।
जनताले युवालाई मौका दिनुपर्छ भन्ने चाहना राखेका कारण युवा उम्मेदवार उठाएको एमाले नेताहरूको दाबी छ ।
एमाले उम्मेदवार घिमिरेले आफू जनतालाई आपत् पर्दा एम्बुलेन्सजस्तो बनेर सेवा गरेको बताउँछन् । चितवन क्षेत्र नं. २ को विकासका लागि एमालेको जतिको योगदान अरू कुनै पनि दल वा नेताको नरहेको उनको दाबी छ ।
‘इच्छाकामना गाउँपालिकाको डाँडाडाँडामा बाटो बनेको मात्रै छैन पिच भएको छ, इन्टरनेट, टेलिफोन, विद्युत् पुगेको छ, स्वास्थ्यचौकी विद्यालय भवन बनेका छन्, कालिका नगरपालिकामा जति पनि सडक कालोपत्रे भएका छन् सबै एमालेको पालामा भएका छन्,’ एमाले उम्मेदवार घिमिरेले भने, ‘मैले निर्वाचन जित्दै गर्दा विगतका कामलाई निरन्तरता दिन्छु ।’
प्रतिक्रिया 4