मेरो नाम प्रकाश शाही हो । म यो बस्तीको मुखिया हुँ । हामीलाई सरकारले प्रत्येक महिना भत्ता दिन्छ । चामल पठाउँछ । त्यसले हामीलाई एकदमै राम्रो गरेको छ । सरकारले भत्ता र चामल पठाउन थालेपछि जंगलमा हामीले त्यति धेरै काम गर्नु पर्दैन ।
गुराँस गाउँपालिकाले हामी जहाँ गए पनि त्यहीँ आएर भत्ता दिन्छ । त्यसले हामीलाई झनै सहज बनाएको छ । अरू संघ संस्थाका मान्छेहरूले पनि हामीलाई बेलाबेला खसी, चामल, नुन, तेल लगायतका सामानहरू सहयोग गर्छन् । हामीलाई खुसी लाग्छ । दुनियाँले (बाह्य मान्छे) सहयोग गरेकै कारण मेरो जनताले धेरै दु:ख गर्न परेको छैन । यो कुरामा हामी खुसी छौँ ।
हामीलाई कसैले दिएको सहयोग मात्रै थाहा हुन्छ । जसले सहयोग गरे पनि हामी लिन्छौं । तर राउटेको नाममा कहाँबाट पैसा आउँछ । कसले पैसा दिन्छ । हाम्रो नाममा आएको पैसा कसैले खान्छन् खाँदैन भन्ने पनि हामीलाई थाहा हुँदैन ।
संघ संस्थाका र सरकारका मान्छेहरू आउँछन् । पैसा, चामल, त्रिपाल लगायतका समानहरू दिन्छन् । कहाँबाट ल्याउँछन् । कति रुपैयाँ हालेर ल्याउन् । हामीलाई त्यो जानकारी हुँदैन । हामी त्यसको बारेमा जानकारी राख्ने कुरा पनि हुँदैन ।
काठमाडौंको (संघीय) सरकार, प्रदेशको सरकारले, गाउँपालिकाले राउटेको नाममा कति पैसा छुटाउँछ । को–कोसँग सहयोग माग्छ त्यो हामीलाई थाहा हुने कुरा पनि भएन । हामी त्यसको खोजी पनि गर्दैनौँ । सहयोगी सबैलाई धन्यवाद दिन्छौँ ।
हामीले त सरकारलाई हाम्रो भत्ता अझै बढाइदेऊ भनेका छौँ । पहिलेको जस्तो जंगल पनि छैन । जंगलमा खानेकुराहरू पनि भेटिँदैन । हामी बाँदर, गुनाको सिकार गरेर खान्छौं । तर पहिलेको जस्तो आजभोलि सिकार भेटिन छाडेको छ । काठमा भाँडाकुँडा मदुस, कोसी लगायतका सामानहरू सजिलै बनाउन सकिँदैन । बनाए पनि सजिलै बिक्री हुँदैन ।
हामीलाई बेला बेला सरकार र संघ संस्थाका मान्छेहरू आएर तिमीहरूलाई घर बनाइदिन्छौँ त्यहीँ बस भन्छन् । खेती किसानी गर भन्छन् । तर हाम्रो घर हुँदैन । हामी एउटै ठाउँ बसिरहन मान्दैन । घुमन्ते जीवन नै हामीलाई राम्रो लाग्छ । राउटेले खेती बाली पनि लाउँदैन । एकै ठाउँमा नबस्नेले कसरी खेती गर्छ ?
हाम्रो आफ्नै चालचलन (रीतिरिवाज) छ । आफ्नै नियम कानुन छ । हाम्रो मुखियाको निर्णय सबैले मान्छौं । हामीलाई जंगलमै बस्न माया लाग्छ । हामी जस्तरी जन्मियो, जस्तरी हुर्कियो त्यसरी नै बाँच्न नाम्रो (राम्रो) मान्छ । जस्तरी हुर्कियो त्यसरी नै बस्न राम्रो लाग्छ ।
हामीलाई सकैले घर बनाइदिए पनि क्यार्ने हो र । हामीलाई हाम्रो मन बनमै बस्न मान्छ । हामी यहीँ खुसी हुन्छ । पहिला जुत्ता चप्पल नलगाउने हामी आजभोलि जुता चप्पल लगाउँछौँ । पैसा छुदैनथियौं आजभोलि पैसा लिन्छौँ । हामी पहिलेको भन्दै धेरै फेरिएका छौँ ।
पछि हाम्रा बालबच्चाहरू पनि परिवर्तन हुँदै जालान् अब । पढ्न स्कुल जालान्, एकै ठाउँमा बस्न नाम्रो मान्लान् । बिस्तारै हामी फेरिन्छौँ होला । तर अहिले नै हामी दुनियाँका मान्छे जसरी बस्न सक्दैनौँ । पहिला त हामीलाई यो दुनियाँ (नेपाली भाषा)को भाषा समेत आउँथेन । आजभोलि त दुनियाँको मान्छेहरू धेरै आउँछ बस्तीमा । त्यसपछि त हामीले पनि तिम्रो भाषा सिक्यौँ ।
हामीलाई पहिलेको जस्तो जंगलमा सजिलो हुन छोड्या छ । खानेपानीका मूल (मुहान) सुक्न थालेका छन् । आकाशबाट पानी आउने समय फेरिएको छ । पहिरो आउने, खोला उर्लिने जस्ता समस्या भोग्नु परेको छ । मेरो जनताले धेरै कुराको समस्या भोगिरहेको छ ।
आजभोलि बाहिरबाट हाम्रो बस्तीमा धेरै मान्छेहरू आउँछ । ठूलो ठूलो क्यामेरा ल्याएर खिच्छ । कहिलेकाहीँ आए त केही थिएन । तर जति बेला पनि आइदिन्छ । कहिलेकाहीँ त हामी पुलिसलाई भनेर पठाउन लगाउँछौँ । बिहानैदेखि बाहिरको मान्छे आउँछ । हाम्रो भान्सामा पस्छ । सिकार पकाएको, खाना खाएको पनि क्यामेराले खिच्छ । बाहिरको मान्छे जति बेला पनि बस्तीमा आउँदा हाम्रो सिकार बिग्रिन्छ ।
हाम्रो आफ्ना समुदायका कुराहरू पनि खिच्न आउँछ । यसरी बाहिरबाट मान्छेहरू आएर हाम्रो खाना पकाउने ठाउँमा खिच्यो भने हाम्रो सिकार बिग्रिन्छ । देउता रिसाउँछ । नगर भनेको मान्दैन । बस्तीमा आएकाहरूलाई नआऊ भन्न पनि सक्दैनौं । हाम्रो बच्चाहरूलाई पनि मोबाइलमा केके कुरा देखाउँछ । त्यसले हामीलाई एकदमै नराम्रो गरेको छ ।
हामी बाहिरको मान्छे त्यति रुचाउँदैन । आयो भने जाऊ भन्न पनि सकिदैनँ । जाऊ भन्यो भने नराम्रो मान्छ जस्तो लाग्छ । सहयोग गर्न आउनेहरुले पनि आफ्नै सोच अनुसार ल्याइदिन्छन् । तिनीहरू सोध्दैन । आफूलाई जे मन लाग्छ, जे पाउँछ त्यही ल्याएर आउँछ । मेरो जनताले क्या गर्ने मान्या छ त्यही गर्देऊ भनेको छु कर्णालीको सरकारलाई ।
कसैले मोबाइल ल्याएर हाम्रो बच्चालाई दिन्छ । मोबाइल राख्यो भने, रक्सी आएर सिकार गर्न गयो भने हाम्रो देउता रिसाउँछ । सिकार बिग्रिन्छ । हाम्रो बस्तीमा आएर हाम्रो महिलालाई नराम्रो गरेपछि एउटा मान्छेलाई छोपेर पुलिसलाई बुझाइदिएका थियौँ ।
बाहिरबाट हाम्रो बस्तीमा नआउने हैन, आउनुपर्छ । तर त्यसको पनि एउटा समय हुन्छ । जति बेला पनि आइदिने त भएन नि ? बाहिरबाट आउनेहरूले रक्सी दिन्छ, चाउमिन, सुर्ती, पैसा दिन्छ । हाम्रो बालबच्चालाई मोबाइलमा नराम्रो कुरा (अश्लील भिडियो) पनि देखाउने रहेछ । कहिले त सुर्खेत, काठमान्डु, नेपालगन्ज पनि लिएर जान्छ । मेरा जनतालाई बाहिरियाले बिगार्यो ।
हामीलाई समयमै भत्ता दिने, चाहिएको बेला चामल, नुन, तेल, पाल, बाख्रा, खसी दिने । तर जति बेला पनि बस्तीमा बाहिरको मान्छेहरु नआइदिए भए कति राम्रो मान्ने थियौँ । राउटेलाई राउटे जस्तो रहन देऊ भन्छु । हामी यस्तै छौँ त, राणा शासनको पालादेखि नै यस्तै छौँ । हामीलाई जस्तै जंगलतिरै बस्न नाम्रो लाग्या छ ।
(राउटे मुखिया प्रकाश शाहीसँग अनलाइनखबरकर्मी यज्ञ खत्रीले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4