+
+
Shares

हुम्लाका उम्मेदवारको एजेन्डामा परेन तुइन विस्थापन

रिपवासीले तुइनबाटै चामललगायत खाद्य तथा अन्य आवश्यक सामानहरु गाउँमा पुर्‍याउने गरेको वडाध्यक्ष कार्की बताउँछन् ।  त्यसक्रममा सामान नदीमा खसेर बग्ने गरेको उनको गुनासो छ ।

नरजन तामाङ नरजन तामाङ
२०८२ फागुन ५ गते १३:२१

५ फागुन, हुम्ला । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा वि.स. २०७२ सालमा दुई वर्षभित्रै देशभरबाट तुइन विस्थापित गरी झुलुङ्गे पुल बनाउने निर्णय भएको थियो ।

०८१ मा पनि ओली प्रधानमन्त्री बने । तर, तुइन विस्थापित हुन सकेन । अहिले पनि  हुम्लाको सर्केगाड गाउँपालिका-२ रिप गाउँका २१९ घरधुरीका नागरिकहरू तुइनबाटै कर्णाली नदी वारपार गर्न बाध्य छन् ।

यही फागुन २१ गते प्रतिनिधिसभाको निवार्चन हुँदैछ । हुम्लाका राजनीति दलहरू नेपाली कांग्रेस , नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र रास्वपा पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपा, राप्रपा विभिन्न एजेन्डासहित चुनावी मैदानमा छन् ।

हिल्सा नाकामा क्वारेन्टाइन र यारीमा सुख्खा बन्दरगाहदेखि कर्णाली करिडोर, उत्तर-दक्षिण लोकमार्गको हिल्सा-सुर्खेत सडक खण्डको स्तरोन्नति गर्दै मित्रराष्ट चीन-भारत जोड्ने अन्तर्राष्ट्रिय टु-लेन फाष्ट ट्रयाकसम्म दलका एजेन्डामा छन् ।

तर, तुइनबाट वारपार गर्न बाध्य सर्केगाड गाउँपालिका- २ रिप गाउँका बासिन्दाका लागि उम्मेदवारका कुनै एजेन्डा छैनन् । उनीहरुलाई पालिका केन्द्र र कर्णाली करिडोरसम्म पुग्न तुइन चढ्नै पर्ने बाध्यता छ ।

तर, कसैले तुइन विस्थापित गर्ने कुरा एजेन्डा बनाएका छैनन् । झुलुङ्गे पुल बनाइदिने विषय कुनै उम्मेदवारले उठाएका छैनन् ।

पुल नहुँदा तत्कालीन गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको घर छाउने जस्तापात नदीमा खसेर बगेको सर्केगाड गाउँपालिका-२ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिए ।

रिप गाउँकै जोर फडेराको ४५ वटा जस्तापातासमेत तुइनबाट खसेर बगेको वडाध्यक्ष कार्कीले बताए । केही महिनाअघि रिप गाउँकै ३० वर्षीय आइती कार्की घाइते भएको वडाध्यक्ष कार्कीको भनाइ छ ।

त्यहाँका रिपवासीले तुइनबाटै चामललगायत खाद्य तथा अन्य आवश्यक सामानहरु गाउँमा पुर्‍याउने गरेको वडाध्यक्ष कार्की बताउँछन् ।  त्यसक्रममा सामान नदीमा खसेर बग्ने गरेको उनको गुनासो छ ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?