६ फागुन, काठमाडौं । अफवाह फैलाएको आरोपमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध म्याद थप गर्ने तयारी भएको छ ।
सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध अफवाह फैलाएको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिने तयारी प्रहरीले गरेको हो ।
भक्तपुरबाट पक्राउ गरी प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो ।
उनीविरुद्ध अहिले म्याद थपको प्रक्रिया अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोप प्रसाईंमाथि छ ।
उनले २१ फागुनमा कुनै हालतमा निर्वाचन नहुने भन्दै सार्वजनिक रुपमा बोल्दै हिँडेका थिए ।
यसअघि वीरगञ्ज जान लागेका बेला प्रसाईंलाई चाल्नाखेलबाट प्रहरीले पक्राउ गरेको थियो । त्यो भन्दा अघि पनि उनी पोखराबाट पक्राउ परेका थिए । निर्वाचनको मिति तोकिएयता मात्रै प्रसाईं तीन पटक पक्राउ परेका हुन् ।
प्रतिक्रिया 4