५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको मधेश प्रदेश कार्यसमितिले ‘प्रतिज्ञा सभा’ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मधेश प्रदेश कार्यसमितिले मंगलबार पत्रकार सम्मेलन गरेर ‘प्रतिज्ञा सभा’को सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
‘नेपाली कांग्रेसको पहिलो ऐतिहासिक प्रतिज्ञा सभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त गौरवान्वित र उत्साहित छौँ,’ प्रदेश सभापति कृष्णप्रसाद यादवले भने ।
सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने प्रतिज्ञा सभालाई राजनीतिक कार्यक्रममात्र नभएर मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रूपमा लिइएको उनले बताए ।
कांग्रेस र मधेशको सम्बन्ध इतिहासकै गहिरो धरातलमा उभिएको भन्दै सभापति यादवले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन हुँदै २०६२/०६३ को जनआन्दोलनसम्म मधेशका वीर सपूतहरूले कांग्रेसको नेतृत्वमा भएका प्रत्येक लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।
‘मधेशको माटोले सधैँ प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको छ । यो अवसरमा मधेशपुत्र दुर्गानन्द झा, नारायण मिश्र, महेन्द्रनारायण निधिलगायतका नेताहरूलाई स्मरण गर्न चाहन्छु,’ उनले भने ।
मधेशको विकास, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारका लागि कांग्रेस सधैँ प्रतिबद्ध रहँदै आएको भन्दै यादवले मधेशसँग भावनात्मक र राजनीतिक रूपमा गहिरो सम्बन्ध राख्ने सभापति सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बनेर मधेशको जनतासँग प्रत्यक्ष जोडिएको जिकिर गरे ।
‘यो केवल चुनावी रणनीति मात्र नभई मधेश र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो,’ उनले भने, ‘मधेशको विकास र सम्मानबिना राष्ट्रिय समृद्धि सम्भव छैन भन्ने विश्वासका साथ उहाँले मधेशको भूमिबाट प्रतिनिधित्व गर्न रोज्नुभएको हो ।’
मधेश केवल भौगोलिक क्षेत्रमात्र नभएर राष्ट्रिय अर्थतन्त्र, कृषि उत्पादन, सांस्कृतिक विविधता र सामाजिक समावेशिताको आधारस्तम्भ भएको यादवको भनाइ थियो ।
‘तर, विगतका वर्षहरूमा मधेशले अपेक्षित विकास र राज्यको पर्याप्त ध्यान पाउन सकेको छैन,’ उनले भने, ‘यही यथार्थलाई आत्मसात गर्दै नेपाली कांग्रेसले आफ्नो आगामी चुनावी घोषणा पत्रको रूपमा सार्वजनिक गर्न गइरहेको प्रतिज्ञापत्र मधेशबाटै प्रारम्भ गर्ने निर्णय गरेको हो ।’
मधेशबाट प्रतिज्ञापत्र सार्वजनिक गर्नुको अर्थ कांग्रेसले मधेशलाई केवल चुनावी भूगोलका रूपमा नहेरेर परिवर्तनको प्रारम्भ बिन्दुका रूपमा लिएको स्पष्ट हुने सभापति यादवले बताए ।
‘मधेशको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तिकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्ययोजनासहित कांग्रेस अगाडि बढ्ने छ,’ उनले भने ।
प्रतिक्रिया 4