५ फागुन, धनकुटा । धनकुटा सदरमुकाममा रहेको जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले सम्हालेको छ ।
जिल्लामा रहेका प्रहरीहरू २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिँदा जनशक्ति कम हुने भएकोले जिल्ला कारागार कार्यालय धनकुटाको सुरक्षा जिम्मा सेनाले लिएको हो ।
धनकुटास्थित भिमदल गणबाट खटिएको सेनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका थिए ।
मन्त्रिपरिषद्को निर्णय अनुसार सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गरिएको छ । सोही निर्णय अनुसार धनकुटा कारागारमा पनि सेना तैनाथ गरिएको हो ।
भिमदल गण सल्लेरी ब्यारेक धनकुटाले धनकुटा कारागारमा सेनाको टोलीले जिम्मेवारी सम्हाली सकेको जनाएको छ । सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको छ ।
निर्वाचन अवधिभर सेनाले कारागारको जिम्मा लिएको भिमदल गण धनकुटाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक शरतकुमार थापा क्षत्रीले निर्वाचन अवधि भरिका लागि मात्रै नेपाली सेनाले कारगारको सुरक्षाको जिम्मा लिएको जानकारी दिए ।
उनले निर्वाचनमा प्रहरी अन्यत्र खटिनुपर्ने भएकाले सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको जानकारी दिए । उनले जिल्लामा रहेका मतदान केन्द्रको वर्गिकरणको आधारमा प्रहरी खटाइने जानकारी दिए ।
प्रतिक्रिया 4