५ फागुन, गुल्मी । नेपाल विद्युत् प्राधिकरणले गुल्मी र बागलुङलाई राष्ट्रिय प्रसारण प्रणालीसँग थप सुदृढ रूपमा जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा तम्घास–बुर्तिबाङ १३२ केभी डबल सर्किट प्रसारणलाइन औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
दुई दिनसम्म गरिएको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि मंगलबारदेखि लाइनमार्फत नियमित विद्युत् प्रवाह सुरु गरिएको हो ।
यो आयोजना नेपाल विद्युत् प्राधिकरण अन्तर्गत निर्माण गरिएको ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारणलाइन आयोजना’ को एक महत्त्वपूर्ण खण्ड हो ।
आयोजना प्रमुख इन्जिनियर मनोजप्रसाद चौधरीका अनुसार तम्घासदेखि बुर्तिबाङसम्मको डबल सर्किट प्रसारणलाइन पूर्ण क्षमतामा सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप भरपर्दो, नियमित र गुणस्तरीय बन्ने बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सबस्टेसन, मुसिकोट नगरपालिका अन्तर्गतको पौँदीअमराइ सबस्टेसन तथा बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सबस्टेसनको स्थलगत निरीक्षण गरेर सुचारु गरेक हुन् ।
निरीक्षणका क्रममा उनले यो प्रसारणलाइनले घरेलु उपभोक्ता मात्र होइन, साना तथा ठूला उद्योग व्यवसायलाई समेत उल्लेखनीय सहयोग पुर्याउने बताए ।
उनले भरपर्दो विद्युत आपूर्तिले उद्योग व्यवसाय विस्तारमा टेवा पुग्ने, रोजगारी सिर्जना हुने तथा युवा पलायन कम गर्न मद्धत पुग्ने बताए । यसले भविष्यमा औद्योगिक विकास, कृषि आधुनिकीकरण र सेवा क्षेत्रको विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको शाक्यको भनाइ ।
रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सबस्टेसनदेखि ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सबस्टेसनसम्म १३२ हजार भोल्ट क्षमताको विद्युत् प्रवाह गरी परीक्षण गरिएको थियो । परीक्षण सफल भएसँगै अब नियमित रूपमा विद्युत सेवा प्रसारण हुन थालेको छ ।
यस आयोजनाअन्तर्गत कपिलवस्तुको मोतिपुर सबस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र पौँदीअमराइमार्फत बागलुङको बुर्तिबाङसम्म पाँच स्थानमा सबस्टेसन निर्माण गरिएको छ ।
विगत करिब दुई वर्षदेखि १३२ केभी लाइनमार्फत अर्घाखाँची र गुल्मीको उनाएचौर सबस्टेसनबाट विद्युत वितरण हुँदै आएको भए पनि बुर्तिबाङ खण्ड सञ्चालनमा आएपछि सम्पूर्ण संरचना पूर्ण रूपमा कार्यान्वयनमा आएको हो ।

पहाडी जिल्लामा लामो दुरीबाट विद्युत आपूर्ति गर्दा भोल्टेज घट्ने, ओभरलोड हुने तथा बारम्बार विद्युत् अवरुद्ध हुने समस्या देखिँदै आएको थियो । विशेषगरी बुटवल सबस्टेसनबाट टाढा रहेका क्षेत्रहरूमा यस्तो समस्या बढी थियो ।
अब उनाएचौरसहित विभिन्न स्थानमा सबस्टेसन स्थापना भएपछि ओभरलोडको समस्या घट्ने, मर्मत सम्भार सहज हुने र विद्युत् अवरुद्ध हुने समस्या न्यून हुने विश्वास गरिएको छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले यस आयोजनाले छिनछिनमा बत्ती जाने समस्याबाट आजित स्थानीयवासीलाई ठूलो राहत दिएको बताए ।
अहिले सेवा बिस्तार भएको ठाउँमा समेत यस ठूलो राहत दिलाउने गैरेले बताए । आयोजनाको कुल लागत झन्डै पाँच अर्ब रुपैयाँभन्दा बढी रहेको जनाइएको छ ।
१३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माणसँगै गुल्मी, अर्घाखाँची र बागलुङ जिल्लामा दीर्घकालीन विद्युत् पूर्वाधार सुदृढ भएको छ ।
प्रतिक्रिया 4